- जसपाल सिंह
सिख पन्थका पञ्चम गुरु अर्जुन देवजी उनको स्वरूपलाई यदि पूर्णरूपले बयान गर्ने हो भने शब्दहरू अपुग हुने छन्। गागरमा सागर भर्नेे कोशिश मात्र हुनेछ। धन्य श्री गुरु अर्जुन देवजीको प्रकाश यस धरतीको उद्धारको लागि श्री गुरु रामदासजीको घर १५ अप्रिल १५६३ ई. मा गोइन्दवाल (पञ्जाब) साहेबमा भएको हो।
बाल्यकालदेखि नै उनलाई धर्म तथा परमात्मासित लगाव थियो, किनभने यिनको पालनपोषण आध्यात्मिक वातावरणमा भएको थियो। यिनी बाल्यकालदेखि नै धेरै शान्त स्वभाव तथा भक्तिभावमा विश्वास गर्ने गर्थे। श्री गुरु अर्जुन देवजीको मुहारमा परमात्माको त्यो तेजस थियो, जसलाई देखेर नै धन्य श्री गुरु अमरदासजीले (तेस्रो गुरु साहेब) भविष्यवाणी गरे कि आउने समयमा यो सानो बालकले उच्च वाणीको रचना गर्नेछ। गुरुजीको हुकुम थियो, “दोहता वाणी का बोहेथा।” अर्थात् नाति (छोरीको छोरा) वाणीको पोका।
जानकारहरू बताउँछन् कि एक समयको कुरा हो, जब बाला तथा कृष्णा पण्डित सुन्दर कथा गरेर मानिसहरूलाई ज्ञानमार्ग देखाउने गर्दथे एवं सबैको मनलाई शान्ति प्रदान गर्ने गर्दथे। एक दिन उनी श्री गुरु अर्जुन देवजीको दरबारमा उपस्थित भएर प्रार्थना गर्न थाले कि हे महाराज ! हाम्रो मनलाई शान्ति मिल्दैन। कृपया तपाईं कुनै यस्तो उपाय बताउनुहोस्, जसले हामीलाई शान्ति प्राप्त होस्।
आफ्नो उत्तरमा श्री गुरु अर्जुन देवजी हुकुम गर्छन् कि तपाईंहरू त मानिसहरूलाई शान्तिको मार्ग देखाउनुहुन्छ, त्यस कारण जसरी तपाईं मानिसहरूलाई भन्नुहुन्छ, त्यसै प्रकार आफैं पनि प्रयोग गर्ने गर्नुस्, आफ्नो कथनमा अमल गर्ने गर्नुस्। परमपिता परमात्मालाई आफैंसँग जानेर उनलाई याद राख्ने गर्नू। करतारले कल्याण गर्नेछन्। तर यदि तपाईं माया तथा धन मात्र जम्मा गर्ने लोभले मात्र कथा गर्ने हो भने तपाईंहरूको मनमा कहिले शान्ति हुनेछैन। किनभने तपाईंको मनभित्रको लोभको राक्षसले आफ्नो पाउ फैलाउँदै जानेछ, जसले तपाईंलाई एक समयपछि दुःखी नै गर्नेछ। आफ्नो प्रभुको कथा निस्स्वार्थ भावनाले गर्ने गर्नोस् अनि तपाईंलाई साँचो शान्ति मिल्नेछ। भनिन्छ कि त्यस दिनपछि उनीहरूले गुरु साहेबजीको वचनमाथि अमल गरे तथा साँचो शान्तिको खोजमा लागे।
विद्वान्हरूमार्फत जानकारी भयो कि एक दिन गुरु गद्दीमा विराजमान भएपछि श्री गुरु अर्जुन देवजीको मनमा विचार आयो कि किन न सबै गुरु साहेबको वाणीलाई सङ्कलन गरी एक पवित्र ग्रन्थ बनाइयोस्। भनिन्छ कि त्यस समय नानकवाणीको (प्रथम गुरु श्री गुरु नानक देवजीको वाणी सङ्ग्रह) मूल प्रति श्री गुरु अर्जुन देवजीको मामा मोहनजीसँग थियो। उहाँले त्यो प्रति लिन भाइ गुरदासजीलाई (पन्थका वरिष्ठ विद्वान्) मोहनजीकहाँ पठाउनुभयो। मोहनजीले उपरोक्त प्रति दिन मान्नुभएन। त्यसपछि बाबा बुङ्काजी (पन्थका अति वरिष्ठ महापुरुष) गए, उनी पनि खाली हात नै फर्किए, तब श्री गुरु अर्जुन देवजी स्वयम् उनको घर पुगे। जसरी नै घरको सेवकले उनलाई घरमा प्रवेश गर्न रोके, गुरु साहेबजी द्वारमा नै बसेर आफ्नो मामाको अगाडि गीत गाएर विन्ति गर्न थाले।
यसमा भाइ मोहनजीले उनलाई धेरै हप्काए अनि ध्यान गर्न गए। तर गुरु साहेबजीको सङ्कल्प पक्का थियो, त्यसैले गीत गाउँदै रहे। अन्ततः उनको धैर्य, विनम्रता तथा जिद्दी भावनालाई देखेर उनको मामाको मन पग्ल्यो र उनी बाहिर आएर भने– बाबु, यो पवित्र नानकवाणीको मूल प्रति म तिमीलाई दिन्छु, किनभने तिमी नै यसको सही पात्र हौ।
सन् १५७९ मा गुरुजीको विवाह माता गङ्गाजीसित भयो, उपरान्त उनको एक परमात्माको तेजसजस्तो पुत्र भयो। उनको नाम हरगोविन्द राखियो। यिनै बालक पछि गएर पन्थका छैटौं गुरु बने।
सन् १५८१ मा गुरु अर्जुन देवजीलाई श्री गुरु रामदासजीले गुरु गद्दीको मान दिए तथा गुरु साहेबजी सिखहरूको पञ्चम गुरु बने। उनले नै अमृतसरमा दरबार साहेब गुरुद्वाराको जग राख्न लगाए। यसलाई विश्वको एकता तथा धार्मिक प्रार्थना गर्ने स्थलको रूपमा विकसित गरी श्रद्धालुहरूलाई ध्यान गर्न अत्याधुनिक शक्तिकेन्द्र बनाउने सोच बनाए। यसको शिलान्यास गुरु साहेबजीले मुस्लिम फकीर साइँ मियाँ मीरजीकोे हातबाट गर्न लगाएर धर्मनिरपेक्षताको ठूलो प्रमाण दिए। केही व्यक्तिको मत छ कि यस गुरुद्वारा साहेबको नक्शा स्वयम् श्री गुरु अर्जुन देवजीले आफ्नो हातले बनाएका थिए। भनिन्छ, यसपछि श्री गुरु अर्जुन देवजीले सबै गुरुको वाणी तथा अन्य धर्मका सन्तहरू, भक्तहरूको भजनवाणीहरूलाई सङ्कलित गराएर एक ग्रन्थ बनाए। जसको नाम श्री आदि ग्रन्थ राखे तथा उक्त ग्रन्थलाई हरमन्दिर साहेब, दरबार साहेबमा स्थापित गराए। यतिमात्र हैन गुरुजीले स्वयम् उच्चारित ३० वटा राग, लगभग २२१८ पवित्र शब्द त्यसमा सुखमानी साहेब, बावन आखरी, बारह माहा, ६६ बारा आदिलाई श्री गुरु ग्रन्थ साहेबमा समावेश गरे। यसबाहेक यस पवित्र ग्रन्थमा भक्त कबीर, बाबा फरीद, सन्त नामदेव, सन्त रविदास जस्ता विभिन्न सन्त–महात्माहरूको शब्द पनि सम्मिलित छन्। उनले आदि ग्रन्थ श्री गुरु ग्रन्थ साहेबको सम्पादन र मर्यादामा धेरै ठूलो योगदान दिए। श्री गुरु अर्जुन देवजीले हरिमन्दिर साहेब भाद्र पद सुदी एकम संवत् १६६१ मा बाबा बुङ्काजीलाई ग्रन्थ साहेबको मुख्यग्रन्थी नियुक्त गरेका थिए।
आफ्नो यस्तो पवित्र वचनहरूबाट संसारभरिलाई उपदेश दिने गुरु साहेबजीको जीवनकाल मात्र ४३ वर्षसम्मको मात्र रह्यो, जसमा उनले सतीप्रथा, जातपात जस्ता सामाजिक कुरीतिहरूको विरुद्धमा डटेर प्रचार गरे। उनी आध्यात्मिक चिन्तक एवं उपदेशकका साथै समाज सुधारक पनि थिए।
श्री गुरु अर्जुन देवजीको शहादत अतुलनीय छ। उनलाई शहीदहरूको सरताज पनि भनिन्छ। सिख पन्थको सबैभन्दा पहिलो गुरुको शहीदी पञ्चम सिख गुरु श्री अर्जुन देवजी थिए। शान्तिको पुञ्ज, शहीदहरूको सरताज श्री गुरु अर्जुन देवजीलाई मुगल बादशाह जहाँगीरले अकारण नै शहीद गरेका थिए। वास्तवमा यस कुरालाई लिएर जानकारहरू बताउँछन् कि बादशाह अकबरको मृत्युपछि हिन्द देशको नयाँ बादशाह उसको पुत्र जहाँगीर बने, त्यस समय गुरु साहेबजीको जनतामा लोकप्रियता धेरै थियो। जुन कि बादशाहलाई मन परेको थिएन। बादशाह चाहन्थे कि हिन्दको धरतीमा मात्र इस्लामको बढोत्तरी होस्। यस कारण ऊ अन्य धर्मका मानिसहरूलाई जबरजस्ती धर्म परिवर्तन गराउनतिर लागेको थियो। जबकि गुरु साहेबजीलाई यो अन्याय बिल्कुल पनि स्वीकार्य थिएन।
अर्कोतिर लाहोरका दिवान चन्दु गुरु साहेबजीका पुत्र गुरु हरिगोविन्द साहेबसित आफ्नो छोरीको सम्बन्ध गराउन चाहन्थे। गुरुजीले नमानेपछि गुरुजीको द्रोही बनेको थियो। चन्दुले पनि गुरुजीको विरुद्ध कुप्रचार गर्न थालेको थियो।
उता, जहाँगीरको सानो छोरा शहजादा खुसरोले आफ्नो पिताको विरुद्ध बगावत गरिसकेको थियो, जस कारण जहाँगीरले खुसरोलाई गिरफ्तार गर्ने हुकुम दिएको थियो। खुसरो भयभीत भएर पञ्जाबतिर भाग्यो। उसको पिछा जहाँगीरले स्वयम् गरेको थियो। आफ्नो ज्यान बचाउँदै खुसरो तरनतारन गुरु साहेबकहाँं पुग्यो। गुरु घरमा पाहुनाको स्वागत सम्मान गरियो तथा सिख परम्परा अनुसार आशीर्वाद दिइयो। यसमा जहाँगीरले जथाभावी आरोप लगाएर गुरुजीलाई गिरफ्तार गर्ने आदेश दिए। शान्तिप्रिय गुरुजी स्वयम् लाहोर पुगे। गुरुजीमाथि खुसरोलाई मदत गरेको तथा बादशाहसित बगावत गरेको दोष लगाइयो। गुरुजी भविष्यको बारेमा जान्दथे, यसै कारण पहिले नै बाल हरिगोविन्द साहेबलाई गुरुगद्दी सुम्पेर शहादतलाई अँगाल्न हिंडेका थिए। जहाँगीरले गुरुजीलाई यातना दिएर मार्ने आदेश दिइहाल्यो र लाहोरको हाकिम मुर्तजा खानलाई सुम्पिदियो। उसले यो काम चन्दुलाई जिम्मा दियो, किनभने उसले आफ्नो घरेलु शत्रुता निकाल्न सकोस्। आफ्नो जीवनी “तुजके जहाँगीरी”मा बादशाह जहाँगीर लेख्छ कि ऊ श्री गुरु अर्जुन देवजीको बढ्दो लोकप्रियताले आहत थियो, त्यसै कारण उसले गुरुजीलाई शहीद गर्ने निर्णय गरिसकेको थियो।
जेठ सुदी चौथी विसं १६६३, सन् १६०६ मे ३० को दिन त्यो जालीम बादशाहले इतिहासको त्यो निर्णय ग–यो, जसलाई देखेर भावी सन्ततिको पनि आत्मा कामोस्। गुरु साहेबजीलाई बादशाहको आदेश अनुसार भीषण गर्मीको समयमा “यासा व सियास्त” कानून अनुसार फलामको तातो तावामा बसाएर शहीद गरिएको थियो।
“यासा व सियास्त”को अनुसार कुनै व्यक्तिको रगत धरतीमा न चुहाईकन उसलाई यातना दिइन्छ। संसारलाई “सरबत दा भल”को उपदेश दिनेवाला तेज आज एक यस्तो परिस्थितिबाट गइरहेको छ, जसको कसैलाई अन्दाजसमेत छैन। गुरु साहेबजीको सिरमा बिस्तारै–बिस्तारै तात्तातो बालुवा हालियो। यो क्रम तबसम्म जारी रह्यो, जबसम्म उनको शरीर आगोले नराम्ररी जलेन।
जब त्रूmर बादशाहलाई लाग्यो कि अब गुरुजीको शरीर नराम्रोसित जलिसकेको छ, तब उसले गुरु साहेबजीलाई रावी नदीको चीसो पानीमा नुहाउन पठाइदियो। त्यस स्थानमा गुरु साहेबजीको पावन शरीर अलप भयो, तथा उनी ज्योति ज्योतमा लीन भए। जहाँ गुरु साहेबजीले आफ्नो शरीर त्याग गरेका थिए, त्यहाँं आज डेरा साहेब नामले एक पवित्र गुरुद्वारा साहेब पनि शोभायमान छ। यो स्थान आज भारतको सीमापारि पाकिस्तानमा छ।
श्री गुरु अर्जुन देवजीले आफ्नो जीवनमा मानिसहरूलाई विनम्र रहने सन्देश दिए। जब उनलाई जहाँगीरको आदेशमा आगोको तातो तावामा बसाइयो, त्यस समय पनि उनी परमेश्वरलाई धन्यवाद दिइरहेका थिए–
“तेरा कीया मीठा लागै।। हरि नामु पदारथ नानक मांगै।।”
“तेरा कीआ मिठा लागे” (तिमीले गरेको मीठो लाग्छ)
हरिका नामु रिदै नित घिआई। संगी साथी सगल तराई।
गुरु मेरे संग सदा है नाले। सिमिरि सिमिरि तिसु सदा सम्हाले।
तेरा किआ मीठा लागै। हरि नाम पदारथ नानक मांगै।
–आसा महला ५ (गुरु ग्रन्थ साहेब ३९४)
हरिको नाम म नित्य आफ्नो ह्दयमा जप्दछु। सबै संगीसाथीलाई भवसागरबाट पार उतार्छु। गुरु सदा मेरो अङ्गसँग साथ हुनुहुन्छ। स्मरण गर उनको जसले तिमीलाई सधैं रक्षा गरिरहनुभएको छ। तिमीले गरेको प्रत्येक कार्य मलाई मीठो लाग्दछ। तिम्रो दास नानक हरि नामरूपी पदारथ माग्दछ।
एक पिता एकस के हम बारिक
(हामी सबै एक प्रभुका सन्तान हौं)
एक पिता एकस के हम बारिक तु मेरा गुरहाई
सुणि मीता जीउ महारा बलि बलि जासी
हरिसुणि मीता धूरी कउ बलि जाई (इहु मनु तेरा भाइ।।रहाउ।।
पाव मलोवा मलिसुणि मीता हउ तेरी सरणी आइआ प्रभु मिलन देहु उपदेसा।।२।।
मानु न कीजै सरणि परी जै करे सु भला मनाइऐ।
सुणि मीता जीउ पिंडु सभु तनु अरपीजे इउ दरसनु हरि जीउ पाइए।।३।।
भइओ अनुग्रह प्रसादि सन्तन कै हरिनामा हेजन नानक कउ गुरि किरण धारी रामु अकुल निरञ्जन डीठा।।४।।१।।१२।।
हे मित्र १ हाम्रो एउटै (एकमात्र) प्रभु पिता हुन्। हामी एकै प्रभु–पिताको सन्तान हौं, तिमी मेरा गुरुभाइ हौ। मलाई परमात्माको दर्शन गराइदेऊ। मेरो आत्मा तिमीप्रति पटक–पटक कृतज्ञ हुने गर्छ।।१।। हे मित्र, सुन १ म तिम्रो पाउको धूलो म बलिहारी (कृतज्ञ) छु। हे भाइ १ मेरो यो मन तिम्रो अनुसर्ता हो।।रहाउ।। हे मित्र १ म तिम्रो दुवै पाउ मल्नेछु र मलेर धुनेछु, पखाल्नेछु। म आफ्नो यो मन तिमीलाई सुम्पिदिनेछु।
हे मित्र, सुन १ म तिम्रो शरणागत छु, मलाई यस्तो शिक्षा देऊ कि म प्रभुलाई भेट्न सकूँ।।२।।
हे मित्र, सुन १ अहङ्कार गर्नुहुँदैन। प्रभुको शरणमा बस्नुपर्छ। जे पनि परमात्माले गरिरहनुभएको छ, त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ। यो मन, तन उनीप्रति अर्पित होस्। त्यस प्रकार परमात्मालाई पाउन सकिन्छ।।३।।
हे मित्र १ सन्तहरूको कृपाले जसमाथि प्रभुको कृपा हुन्छ, त्यसलाई परमात्माको नाम प्यारो लाग्छ। गुरुले दास नानकमाथि कृपा गर्नुभयो, तब नै सर्वत्र त्यो प्रभु दृष्टिगत हुन थाले। प्रभु जसको कुनै विशेष खानदान छैन र जो मायाको प्रभावदेखि टाढा छ।।४।।१।।१२।।
कलि समुद्र भए रूप प्रगट हरि नाम उघारन्
सन्त जिसु रिदै दुःख दरिद्र निवारन्। निरमल भेख अपार तासु बिनु अवरू न कोइ।
मन बच जिनि जाणिअउ भयउ तिह समसरि सोई।
घरनि गमन नव खण्ड महि जोति स्वरूपी र हिओ भरि।
भनि मथुरा कहु भेदु नही गुरु अरजुन परतख्खय हरि (श्री गुरु ग्रन्थ साहेब १४०९)
कलियुगरूपी समुद्रबाट पार लगाउनका लागि (गुरु अर्जुन देवजी) परमात्माको नाम रूपले प्रकट भएका थिए। उनको ह्दयमा सत्यले निवास गर्दछ, तथा हामी सबैको दुःख, दारिद्रता नाश गर्नेछन्। उनी हरिको निर्मल रूप हुन्, तपाईंबाहेक अन्य कोही होइन। जसले मन, वचनले प्रभुलाई चिन्दछ, ऊ प्रभुजस्तै भइहाल्छ। धरती–आकाश नव–खण्ड आदिमा गुरु अर्जुन देवजी नै ज्योतिस्वरूप भएर बसेका छन्। भनिन्छ कि हरि तथा गुरु अर्जुन देवजीमा कुनै फरक छैन। उनी प्रत्यक्ष हरिका रूप नै हुन्।
श्री गुरु अर्जुन देवजीको बहुआयामिक व्यक्तित्वमा कवि, भक्त, दार्शनिक, सङ्गीतकार, सङ्गठक तथा योद्धा आदिको विरल समन्वय थियो। विश्वको इतिहासमा उनी जस्तो बलिदानको उदाहरण कठिन नै भेटिन्छ। उनको शहादत हाम्रोलागि एउटा अनमोल निधि हो। जसबाट प्रेरणा लिएर राष्ट्रको एकता, अखण्डता तथा धर्मरक्षाको लागि सर्वस्व त्याग गर्न सकिन्छ। त्यसै कारण त उनको शहादत हाम्रोलागि आज पनि नासोको रूपमा छ। यसपालि श्री गुरु अर्जुन देवजी महाराजको शहीदी दिवस जेठ ३१ गते सोमवार परेको छ। विश्वभरिका साधसङ्गतहरूले यस दिनलाई अत्यधिक तातो दिवसको रूपमा महसूस गर्दछन्। गुरुद्वारा साहेबहरूमा तीन दिन अगाडिदेखि नै श्री गुरु ग्रन्थ साहेबजीको अखण्ड पाठ साहेब राखिन्छ। गुरुजीको अटुट लङ्गर प्रसाद वितरण गरिन्छ, यो दिन विशेषगरी चीसो दूधको गुलियो शर्बत साधसङ्गत, श्रद्वालु, भक्तालु तथा सर्वसाधारणलाई वितरण गरिन्छ।
यसपालि कोभिड महामारीले गर्दा सबै समारोह सुरक्षा नीति तथा सरकारी निर्देश अनुसार हुनेछ। श्री गुरु अर्जुन देवजी महाराजको कृपाले सबै प्राकृतिक आपदा, विपदा तथा महामारीहरूबाट सबै प्राणीको रक्षा होस्।
श्री गुरु अर्जुन देवजी महाराजलाई उनको शहादतको लागि कोटि–कोटि नमन।