सञ्जय मित्र

आफ्नै गतिमा समय निरन्तर बगिरहन्छ । मानिसको आफ्नो प्रकृति अनुसार कुनै बेला यो छिटो हिंडेको लाग्छ र कुनै बेला मन्द ।

भन्दछन् – सुखको गति तीव्र हुन्छ र दुःखको गति मन्द ।

समयसँगै जीवन पनि गतिमान छ । कहिले अँध्यारोको यात्रा गर्दछ त कहिले उज्यालोको । समयको कुनै बिन्दुमा भोकै बस्नुपर्दछ त कुनै बिन्दुमा खानेकुरा यति धेरै हुन्छ कि के खाउँ, कति खाउँ भन्ने हुन्छ । कहिले खान दिने कोही हुँदैन त कहिले एकपछि अर्को पकवान आइरहन्छ र इच्छा नभए पनि खाइरहनुपर्ने हुन्छ ।

सबैभन्दा सामान्य जीवन मानिसको घरमा हुन्छ भनिन्छ । आफ्नो घर नै त्यस्तो ठाउँ हो जहाँ मानिसले सबैभन्दा शान्ति अनुभूति गर्दछ । यसै कारण सम्भवतः मानिस जहाँ भए पनि सबैभन्दा प्रिय आफ्नो घरलाई ठान्दछ । सबैभन्दा कठिन समयमा आफ्नो घर पुग्न खोज्दछ र सबैभन्दा खुशीको क्षणमा पनि आफ्नो घरमैं हुन खोज्दछ ।

हुन त कतिपयले के भन्दछन् भने घर त्यो होइन जुन भौतिकरूपमा देखिन्छ, वास्तवमा घर त्यो हो जहाँ मानिसको आत्मा सन्तुष्ट हुन्छ । धेरै मानिसका लागि आफू सन्तुष्ट हुने ठाउँ नै घर हुन्छ तर कतिपय अवस्थामा डेरा वा अस्थायी बसोवास भएको ठाउँ पनि विभिन्न कारणले सन्तुष्टि दिने घरजस्तै हुन्छ ।

जहाँ सबैभन्दा बढी सन्तुष्टि प्राप्त हुनुपर्ने हो, त्यहाँ पनि कहिलेकाहीं कुनै विशेष परिस्थितिले यस्तो भइदिन्छ कि अल्प समयको लागि मन अकल्पनीयरूपले अशान्त भइदिन्छ ।

बुधवार (२९ वैशाख, २०७८) दिनभरि घामको अनुहार उज्यालो थिएन । घरी आकाशले अश्रुधार चुहाउँथ्यो, घरी कालो अनुहार लिएर आकाश हेर्दथ्यो धरणीतिर । घाम बिस्तारै अस्तालचलतिर जाँदो हो किनभने देखिएको छैन ।

पत्रकार मित्र मदन ठाकुरको फोन आउँछ । कुनै औपचारिकता निर्वाह नगरी फोन उठ्नासाथ उनी भन्छन्-“सर, भयङ्कर ठूलो दुर्घटना भयो ।”

“के भयो ?”

“मनोज चौधरी अब रहेनन्  …।”

उनी भन्दै हुन्छन् – खबर सार्वजनिक भएको छैन । मलाई त्यहीं उपचारमा संलग्न डाक्टरले फोन गरेका हुन् …।”

म सबै कुरा सुन्न सक्दिनँ । घरको भर्‍याङ चढ्दै गरेको हुन्छु । मुटु काम्न थाल्छ, कलेजो हल्लिन थाल्छ र मेरो जीउ एक्कासि काम्न थाल्छ । रिङ्टा लागेको अनुभूति हुन्छ । भूकम्प गएको हो कि भन्नेजस्तो लागेर बाहिरतिर हेर्छुृ । आँप र मसलाका रूख हल्लिरहेका छैनन् भूकम्पजस्तो ।

गोडाले शरीरको भार थाम्न सकेको छैन । छतमा पल्टिन पुग्छु । छोरीले सिरानी राख्न एउटा कपडा ल्याएर दिन्छे । पत्नीलाई सकी नसकी यो खबर सुनाउँदा उनी पनि राम्ररी भक्कानिएजस्तै गरेर पछारिन्छिन् । छोरीले अर्को सानो लुगा दिन्छे ।

हामीलाई सम्हालिन अत्यन्त गाह्रो भएको छ । चेतनाशून्य भएजस्तो झन्डै दश मिनेट बितेको होला । झन्डै अद्र्धमूच्र्छित अवस्थामा । एक छिनपछि रौतहटका क्रियाशील पत्रकारहरूको समूहमा यसबारे जिज्ञासा आउन थाल्छ र लगत्तै फोनमा अनेक व्यक्तिले यथार्थता बुझ्न फोन गर्न शुरू हुन्छ ।

फेसबूक, म्यासेन्जर, ह्वाट्सएप तथा मोबाइलमा कतिलाई के भनें र कतिलाई कसरी सन्तुष्ट वा असन्तुष्ट पारें, त्यो त्यति सम्झना छैन । एकातिर रिङ्टा लागेको छ र अर्कोतिर सकी नसकी निरन्तर उत्तर फर्काइरहनुपरेको छ ।

अरू दिन साँझको समय एउटा कालो चिया खान मन लाग्थ्यो । आज धरतीमा अँध्यारो आउनुभन्दा पहिले मनको आकाश पूरा अन्धकार छ । मनको आकाशमा अन्धकारबाहेक केही देखिन्छ भने उही पत्रकार मनोजकुमार चौधरीको चित्र । त्यो चित्र कुनै बेला प्रस्ट भएर आउँछ र कुनै बेला अमूर्त भएर ।

झन्डै तीन दशकदेखि म बज्जिका भाषाको सेवामा लागेको मान्छे । झन्डै डेढ दशकदेखि चौधरी पनि बज्जिकाका सारथि छन् ।

गरुडाको रेडियो मधेस जनआवाज एफएममा म समाचार सम्पादक हुँदा उनी प्राविधिक सहयोगी थिए । मैले नै उनलाई पत्रकारिता क्षेत्रमा ल्याएको हुँ । एफएममा मैले नै केही मानिस छनोट गरेर समाचारको शुरूआत गरेको थिएँ । मैले त्यतिबेला चयन गरेका मानिसहरू अहिले पनि रौतहटको सञ्चार क्षेत्रमा जमेका छन् । पछि रेडियो मधेस मसला एफएमको सञ्चालक भएपछि फेरि त्यसमा पनि म समाचार प्रमुख बनाइएँ । त्यहाँ रहेर काम गर्दा लेखिएका समाचारलाई बज्जिका खबर ब्लग स्पटमा राख्न थालियो । त्यसका सम्पादक भए पत्रकार चौधरी ।

जनकपुर टुडेका सम्पादक प्रकाशक बृजकुमार यादव पत्रिकाको विस्तारको क्रममा गरुडा आउँदा मैले र मदन ठाकुरले विचार गरेर मनोजकुमार चौधरीलाई गरुडाको प्रतिनिधि बनाएका थियौं । कम्प्युटरमा निकै फास्ट समाचार लेख्न सक्ने खुबी भएका चौधरीको सञ्चार क्षेत्र विस्तार हुन पुग्यो ।

बज्जिका साहित्य सङ्गम गठन गर्दादेखि नै उनी आबद्ध थिए । गत असोजमा साधारणसभाले चौधरीलाई कोषाध्यक्ष चयन गरेको थियो । आन्तरिकरूपमा मैले नै प्रस्ताव गरेको थिएँ ।

मध्यरौतहट बहुमुखी क्याम्पस गरुडा र श्री माध्यमिक विद्यालय गरुडाको कक्षा ११/१२ तर्फका हामी सहयात्री पनि थियौं। भाषा, साहित्य, शिक्षा र पत्रकारितामा एक साथ एकै ठाउँमा काम गर्ने सहयात्री चौधरीका अन्य पनि धेरै क्षेत्र थिए । समाजसेवा उनको मुख्य सम्पत्ति थियो ।

पत्रकार चौधरीबारे उनको घरपरिवारलाई फोनमा सोध्न सक्ने साहस गर्न नसकेर इलाम, पाँचथरदेखि चितवनसम्मका अनेक क्षेत्रका व्यक्तिले जानकारी लिन खोजेका छन् । सबैलाई सकी नसकी मन नलागी साङ्केतिक वा अप्रत्यक्ष जवाफ दिइरहेको छु ।

मन यति विकल छ र यति अशान्त छ कि रातिको नियमित खाना खान मन लाग्दैन । भोजनको सम्बन्ध त भोकसित हुन्छ, कि मनोविज्ञानसित पनि ? सदैव त भोकले भोजन खोज्ने कुरा सत्य हो र भोजन त भोक लागेपछि स्वाभाविक लाग्नुपर्ने हो तर समयमा भोक लाग्दैन । तिर्खा लागेको छैन । खान फिटिक्कै मन छैन । भत्भती पोलिरहेको अशान्त र उद्विग्न मनबाट पीडाको बाफ भत्भति उम्लिरहेको छ । पोलिरहेको छ मनभरि शोकको अग्निले । अनि कसरी लागोस् भोक र तिर्खा ।

अरू दिनको भन्दा रात अलिक बढी अँध्यारो लागिरहेको छ । रात पनि अलि छिटो आएको छ । होइन, होइन, रात आज धेरै ढिलो आएको छ । समयको त आफ्नै गति छ तर यो समय धेरै छिटो बितेको हो कि धेरै ढिलो बितेको हो ?

फोन र म्यासेन्जरमा अझै पनि निरन्तर त्यही अविश्वासिला प्रश्नहरूले विस्मय बढाइरहेका छन् ।

रात छिप्पिंदै छ ।

अरू बेला हुँदो हो त निद्रा लागिसक्नु पर्ने हो तर निद्रा आउने छाँट छैन । निद्रा त आँखामा लाग्नुपर्ने हो । बेलाबेलामा आँखा आफैं चीसो बनेको छ । मौसम गर्मीको भए पनि गर्मी छैन । त्यसैत्यसै जाडो भएको छ । जाडोको मौसममा आँखा चीसो हुँदा सम्भवतः डराएको होला निद्रा । यसै डरले आँखाभन्दा पर छ निद्रा । आँखाले पनि निद्रा खोजी गरेको छैन ।

कुकुर भुक्तैछ । कता हो कुन्नि, सम्भवतः गाउँतिर हुनुपर्छ ः डिजे बाजा बजिरहेको छ । यति रात गइसक्यो । सम्भवतः बिहेको बाजा हुनुपर्छ । बिहेको डिजे बाजामा त कतिपय मानिसहरू नाचिरहेका पनि होलान् । उनीहरूको मन कति खुशी होला ?

ओछ्यानमा पल्टेर गीताप्रेस, गोरखपुरले प्रकाशन गरेको श्रीमद्भगवद्गीता लिएर पढ्ने प्रयास गर्छु । अत्यन्त कठिन संस्कृतका श्लोकहरू छन् । कुनै कुनै शब्द त झन्डै एक वाक्यका छन् जसलाई उच्चारण गर्न निकै कठिन लाग्दछ । सबै श्लोकको अर्थ हिन्दीमा दिइएका छन् । अर्थ मात्रै पढ्छु । पढ्न पनि मन लाग्दैन ।

टोल निदाइसकेको छ । मध्य रात्रिभन्दा बढी समय बितिसकेको छ तर निद्रा लाग्दैन । त्यसपछि हुनुपर्छ, एक छिन आँखा के लागेको थियो ः मनोज चौधरीले क्याम्पसमा विद्यार्थीहरूको निगरानी गरेको देख्छु, झस्कन्छु । अनि फेरि धेरै बेरसम्म निद्रा लाग्दैन ।

ओल्टेकोल्टे फेर्ने भने भइरहन्छ । मनलाई निद्राको बाटोमा मोड्ने प्रयास निरन्तर असफल हुन्छ । भोको पेटमा निद्रा लाग्दैन भन्थे तर भोकै लागेन र निद्रा पनि लागेन ।

आफ्नो व्यक्तिगत वा पारिवारिक शोक र चिन्ता छैन । कुनै शारीरिक कष्ट पनि होइन, तर अभिन्न मित्र गुमाउँदाको पीडाले भने आफ्नै घरमा भोको पेटमा अनिदो बित्छ रात । भोक र निद्रामाथि शोक भारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here