बासुदेवलाल दास (पिएचडी)
परिचयः वर्तमानमा नेपाल र भारत दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न छिमेकी राष्ट्रहरूको रूपमा विश्व मानचित्रको एशिया महादेशको भूभागमा अवस्थित रहेका छन्। नेपाल राष्ट्रको अहिलेको भौगोलिक सीमाङ्कनसहितको स्वरूपको निर्धारण सन् १८१६ ई.मा भएको सुगौली सन्धिद्वारा भएको थियो, जुन तत्कालीन भारतमा शासन गरिरहेको ब्रिटिश इस्ट इन्डिया कम्पनीको सरकार तथा नेपालको सरकारका बीचमा भएको युद्धपश्चात् सम्पन्न गरिएको थियो। यसमा सन् १८६० ई.मा नयाँ मुलुक (वर्तमान बाँके, बर्दिया, कैलाली, कञ्चनपुुर)का क्षेत्रहरू सम्मिलित भएका थिए। नेपाल र भारतबीचको सम्बन्धको ऐतिहासिकता अर्थात् यसको ऐतिहासिक पृष्ठभूमिबारे विचार गर्दा यसका भौगोलिक, राजनीतिक र सामाजिक जस्ता पक्षहरू रहेका देखिन्छन्। यसै विषयमा यस सानो आलेखमा संक्षिप्त चर्चा गरिएको छ।
भौगोलिक ऐतिहासिकताः वर्तमान समयमा नेपाल र भारत दुवै स्वतन्त्र छिमेकी राष्ट्र अवस्थित रहेको भूभागको ऐतिहासिक पृष्ठभूमिबारे विचार गर्दा विश्वको प्राचीन भूगोलमा ध्यान दिनुपर्ने हुन्छ। श्रीमद्भागवत ग्रन्थको पञ्चम स्कन्धका सो–हौंंदेखि बीसौं अध्याय अन्तर्गत प्राचीन विश्वको भौगोलिक विभाजनबारे वर्णन गरिएको पाइन्छ। यस वर्णन अनुसार क्षार समुद्रद्वारा आवेष्टित जम्बूद्वीप, इक्षुरस समुद्रद्वारा आवेष्टित प्लक्षद्वीप, घृत समुद्रद्वारा आवेष्टित कुशद्वीप, मदिरा समुद्रद्वारा आवेष्टित शाल्मलीद्वीप, क्षीर समुद्रद्वारा आवेष्टित क्रौञ्चद्वीप, मट्ठा समुद्रद्वारा आवेष्टित शाकद्वीप तथा मीठो जलको समुद्रद्वारा आवेष्टित पुष्करद्वीप गरी सातवटा द्वीपमा प्राचीन विश्वलाई मुख्यतः विभाजित गरिएको पाइन्छ। यी सातवटै द्वीप अन्तर्गत विभिन्न वर्षहरू भनेर पुनः विभाजन गरिएको देखिन्छ। यस प्रकार जम्बूद्वीप अन्तर्गत भारतवर्ष, किम्पुरुषवर्ष, उत्तरकुरुवर्ष, हिरण्मयवर्ष, रम्यकवर्ष, केतुमालवर्ष, हरिवर्ष, भद्राश्ववर्ष र इलावृत्तवर्ष गरी नौवटा वर्ष रहेका थिए। यसका अतिरिक्त प्लक्षद्वीप अन्तर्गतका शिववर्ष, यवसवर्ष, सुभद्रवर्ष, शान्तवर्ष, क्षेमवर्ष, अमृतवर्ष र अभयवर्ष गरी सातवटा वर्ष, कुशद्वीप अन्तर्गतका वसुवर्ष, वसुदानवर्ष, दृढरुचिवर्ष, नाभिगुप्तवर्ष, स्तुत्यव्रतवर्ष, विविक्तवर्ष र वामदेववर्ष गरी सातवटा वर्ष, शाल्मलीद्वीप अन्तर्गतका सुरोचनवर्ष, सौमनस्यवर्ष, रमणकवर्ष, देववर्ष, परिभद्रवर्ष, आप्यायनवर्ष र अविज्ञातवर्ष गरी सातवटा वर्ष, क्रौञ्चद्वीप अन्तर्गतका आववर्ष, मधुरुहवर्ष, मेघपृष्ठवर्ष, सुधामावर्ष, भ्राजिष्ठवर्ष, लोहितार्णवर्ष र वनस्पतिवर्ष गरी सातवटा वर्ष, शाकद्वीप अन्तर्गतका पुरोजववर्ष, मनोजववर्ष, पवमानवर्ष, धूम्रानीकवर्ष, चित्ररेफवर्ष, बहुरूपवर्ष र विश्वधारवर्ष गरी सातवटा वर्ष एवं पुष्करद्वीप अन्तर्गतका रमणकवर्ष र धातकिवर्ष गरी दुईवटा वर्ष रहेका थिए। यसरी प्राचीन विश्वलाई जम्मा सातवटा द्वीप अन्र्तगतका छयालीसवटा वर्षहरूमा विभाजन गरिएको पाइन्छ। यस प्रकार वर्तमान नेपाल र भारत राष्ट्र अवस्थित भूभाग प्राचीन विश्वको भौगोलिक विभाजनको दृष्टिले जम्बूद्वीपको भारतवर्ष अन्तर्गतका भूभागमा पर्ने देखिन्छ। यो कुराको प्रमाण आजसम्म यस भूभागका निवासी हिन्दू समाजमा कुनै पनि धार्मिक वा कर्मकाण्डीय अनुष्ठान गर्दा सङ्कल्प भन्ने बेला “ओमद्य… जम्बूद्वीपे भारतवर्षे आर्यावत्र्ते…” इत्यादि शब्दहरू उच्चारण गर्ने परम्परा विद्यमान रहेको छ। नेपाली साहित्यको महाकाव्य “नेपाली शाकुन्तल”, प्रथम सर्गको तेस्रो श्लोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटा लेख्दछन्– “मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको, हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको…।” स्कन्दपुराण ७, १, ११, १३ अनुसार पूर्व, दक्षिण र पश्चिममा सागरले घेरिएको तथा उत्तरमा हिमालय पर्वत रहेको भूभागलाई भारतवर्ष भनी निर्धारित गरिएको पाइन्छ। भारतवर्षको भूभागलाई उत्तर र दक्षिण गरी दुई भागमा विभाजन गरी उत्तरी भागलाई आर्यावत्र्त र दक्षिणी भागलाई दाक्षिणात्य वा दक्षिणापथ भनेर संज्ञा प्रदान गरिएको एवं यसको सिमाना भने नर्मदा नदीलाई तोकिएको देखिन्छ। नर्मदा नदी भारतको मध्यप्रदेशमा प्रवाहित रहेको छ। यस प्रकार नर्मदा नदीदेखि उत्तर दिशामा पर्ने समस्त भूभागलाई आर्यावत्र्त भनेर मानिएको छ। कोलकाताको एशियाटिक सोसाइटीको पुस्तकालयमा रहेको संस्कृत भाषामा लेखिएको “शक्तिसङ्गमतन्त्र” ग्रन्थको तेस्रो खण्डको सातौं पटलमा षट्पञ्चाशद्देश विभाग भनेर भारतवर्षको भूभागमा रहेका ५६ वटा देशको वर्णन गरिएको छ, जस अन्तर्गत विदेहसँगै नेपालको पनि उल्लेख गरिएको कुरा दिनेशचन्द्र सरकारद्वारा लिखित “स्टडीज इन दि ज्योग्राफी अफ ऐन्शिएन्ट एन्ड मेडिएवल इन्डिया” पुस्तकमा लेखिएको छ। यसमा नेपालको अवस्थिति जटेश्वर र योगिनीको बीचको भूभागमा एवं विदेह (तैरभुक्ति वा तीरभुक्ति)लाई गण्डकी तीरदेखि आरम्भ गरी चम्प–अरण्यको अन्त्यसम्म रहेको भनिएको छ। अर्कोतिर “बृहद्विष्णुपुराण” ग्रन्थको मिथिला–माहात्म्य खण्डमा वर्णित श्लोकको आधारमा उत्तरमा हिमालयदेखि दक्षिणमा गङ्गा नदीसम्म तथा पश्चिममा गण्डकी नदीदेखि पूर्वमा कोशी नदीसम्मको क्षेत्र तीरभुक्ति हो भनी मान्यता रहेको छ। यसरी नै, स्कन्दपुराणको हिमवतत्खण्ड अन्तर्गतको नेपाल माहात्म्य, अध्याय १, श्लोक ३० मा नेपालको पुरानो नाम “श्लेष्मान्तक वन” भनिएको छ, जुन वर्तमान काठमाडौंमा श्रीपशुपतिनाथ मन्दिर वरिपरिको वनक्षेत्रलाई मानिन्छ। यसको अर्को नाम पशुपतितीर्थ पनि हो। यसै पुस्तकको अध्याय १५, श्लोक ३–५ को सन्दर्भका साथ प्राचीन नेपालको सिमाना भनेर पूर्वमा कौशिकी नदी, पश्चिममा त्रिशूलगङ्गा, उत्तरमा शिवपुरी (कैलाश) तथा दक्षिणमा शीतल जल भएको नदी रहेको वर्णन विमलचरण लाहाद्वारा लेखिएको “हिस्टोरिकल जियोग्राफी अफ ऐन्शिएन्ट इन्डिया” पुस्तकमा पाइन्छ। नेपाल क्षेत्रको भौगोलिकरूपमा उल्लेख “अथर्वपरिशिष्ट”, “मूलसर्वास्तिवाद”, “महाभारत” तथा कौटिल्यको “अर्थशास्त्र” ग्रन्थहरूमा समेत भएका पाइन्छन्। यस प्रकार प्राचीनकालमा नेपाल भनेर अभिहित गरिएको भूभाग भनेको वर्तमान काठमाडौं उपत्यका तथा त्यसवरिपरिका क्षेत्रलाई बुझाउने गर्दथ्यो। यस कुराको प्रचलन हालसम्म देखिन्थ्यो, जबकि तराई क्षेत्रका व्यक्ति काठमाडौं जाँदा नेपाल गएको भनेर भन्ने गरिन्थ्यो।राजनीतिक ऐतिहासिकताः नेपालको काठमाडौं उपत्यकामा बसोबासको प्रारम्भ गरेर सर्वप्रथम शासन व्यवस्थाको आरम्भ गर्ने नीप जातिको नामबाट यो देशको नाम नेपाल भएको एवं यस जातिको जातीय पेशा पशुपालन रहेको कुरा विद्वानहरू भन्दछन्। यो देशमा राजनीतिकरूपमा शासन व्यवस्थाको आरम्भ कहिलेदेखि भएको थियो, यस विषयमा निर्विवादरूपले भन्न सकिने पर्याप्त प्रमाण पाइएका छैनन्। तथापि पौराणिक, साहित्यिक आदि स्रोतहरूको आधारमा नेपालमा शासन व्यवस्थाको आरम्भ गर्ने राजवंशको रूपमा गोपालवंशलाई मानिएको पाइन्छ। गोपालवंशपश्चात् महिषपालवंश र त्यसपछि किरातवंशको शासन काठमाडौं उपत्यकामा स्थापित भएको थियो। किरातवंशको अवसानपश्चात् नेपालमा लिच्छविवंशको शासन स्थापित भएको थियो। भनिन्छ कि आर्यावत्र्त क्षेत्रमा लिच्छविहरूको मूल थलो भनेको वैशाली थियो, जुन विदेह राज्यको अधीनस्थ भूभाग थियो। यस कुराको जानकारी यस प्रसङ्गबाट पनि हुन्छ कि वैशालीका एकजना गणाध्यक्ष राजा चेटककी कन्या चेल्लना एवं उनकी बहिनी त्रिशला दुवैलाई वैदेही भनिएको पाइन्छ। चेल्लना मगधका सम्राट अजातशत्रुकी माता थिइन् भने त्रिशला जैन धर्मका २४सौं तीर्थङ्कर महावीरकी माता थिइन्। विदेहमा जनकवंशको शासन अनुमानित ३००० ईसापूर्वदेखि अनुमानित ६०० ईसापूर्वसम्म मानिन्छ। जनकवंशको अवसानपश्चात् अनुमानित ६०० ईसापूर्वदेखि चौथो शताब्दी ईसापूर्वसम्म गणतन्त्रकाल रहेको थियो, जसमा विदेहसमेत “अष्टकुल” भनिने आठवटा सङ्घ रहेका थिए। यिनमा लिच्छविको प्रधानता थियो एवं शासनको केन्द्र वैशाली रहेको थियो। वैशालीमाथि मगधका शासक अजातशत्रुको आधिपत्य भएपछि लिच्छविहरू ईसाको पहिलो शताब्दीतिर नेपालमा स्थापित हुन पुगेका देखिन्छन्। अर्कोतिर, मगधको अधीनमा रहेको यो भूभागमाथि सन् १०९७ ई.मा कर्णाट वंशीय नान्यदेवको उदय नहुञ्जेलसम्मको अवधिमा भारतीय क्षेत्रका विभिन्न भागबाट आउने राजनीतिक शक्तिहरूको प्रभुत्व स्थापित हुने गरेका थिए। यिनैमध्येका कुषाण वंशीय कनिष्कको प्रभाव विस्तृत भूभागमा फैलिएको थियो, जो ईसवीय दोस्रो शताब्दीका शासक थिए। नेपालका पुरातत्वविद् तारानन्द मिश्रका अनुसार काठमाडौंको हाँडीगाउँको उत्खननमा समेत कुषाणकालीन मुद्रा पाइएका थिए। यसरी नै, ईसवीय चौथो शताब्दीका गुप्त वंशीय शासक समुद्रगुप्तको प्रयाग प्रशस्ति अभिलेखमा नेपाललाई प्रत्यन्त अर्थात् सीमान्त राज्यको रूपमा वर्णन गरिएको छ। ईसवीय सातौं शताब्दीका कन्नौजका शासक हर्षवद्र्धनको अधीनमा आर्यावत्र्तको ठूलो भूभाग रहेको थियो। उनले सकलउत्तरापथनाथ भन्ने उपाधि धारण गरेका थिए। उनकै समयमा प्रसिद्ध चीनी यात्री हुएनसाङले यस क्षेत्रको भ्रमण गरेका थिए। कर्णाटवंशीय राजा नान्यदेवले मिथिला वा तिरहुत राज्यको सन् १०९७ ई.मा वर्तमान नेपालको प्रदेश नं २ को बारा जिल्लामा अवस्थित सिम्रौणगढ स्थानमा राजधानी स्थापना गर्दा नेपाल देश उनको उत्तरी छिमेकीको रूपमा रहेको थियो। त्यहाँको अस्थिर राजनीतिक अवस्थाको कारण नान्यदेवले दुईपटक नेपाल उपत्यका अर्थात् काठमाडौं उपत्यकामाथि आक्रमण गरेका थिए। परवर्तीकालमा मिथिलाका कर्णाटवंशीय शासकहरूद्वारा काठमाडौं उपत्यकामाथि पटक–पटक सैनिक अभियानहरू गरिएका साथै अन्त्यमा हरिसिंहदेवद्वारा त्यहाँ राजनीतिक प्रभुत्व स्थापितसम्म गरिएको घटनाहरू भएका देखिन्छन्। यसको पुष्टि नेपालका वंशावलीहरू तथा कान्तिपुरका राजा प्रताप मल्लको हनुमानढोका अभिलेख, पाटनका राजा सिद्धिनरसिंह मल्लको मङ्गलबजार विश्वेश्वर मन्दिर अभिलेख इत्यादिबाट समेत हुन्छ। हरिसिंहदेवकी महारानी देवलक्ष्मीदेवी (देवलदेवी) सिम्रौणगढको पतन भएपछि झन्डै ४० वर्षसम्म काठमाडौं उपत्यकाको शासन व्यवस्थामा प्रभावशाली भूमिकामा स्थापित रहेकी थिइन्। उनीले नै तत्कालीन सप्तरी राज्यका द्रोणवार ब्राह्मणवंशीय राजा पुरादित्य सिंहका कान्छा छोरा स्थितिदेवलाई ल्याएर राजकुमारी राजलक्ष्मीदेवी (राजल्लदेवी)सित विवाह गराइदिएकी थिइन्। यिनै स्थितिदेव जयस्थिति मल्लका नामबाट प्रसिद्ध भए एवं काठमाडौं उपत्यकामा मल्लवंशको शासन स्थापित गराए, जसको समाप्ति गोरखाका राजा पृथ्वीनारायण शाहको अभियानद्वारा ईसाको अठारौं शताब्दीमा भएको थियो। अर्कोतिर, भारतीय भूभागमा मुसलमान शक्तिको प्रवेश र प्रसार हुँदै गरेको सिलसिलामा सन् १३२३ ई. को दिसम्बर महीनामा सुलतान ग्यासुद्दीन तुगलकको आक्रमण सिम्रौणगढमाथि भयो तथा यसको पतन भएपछि समस्त मिथिला (तिरहुत) क्षेत्र सुलतानको अधीनमा आएको थियो। सुलतान ग्यासुद्दीनका छोरा मुहम्मद तुगलकले आफू सत्तासीन भएपछि सन् १३४२ ई.मा तत्कालीन बङ्गालका प्रशासक हाजी समसुद्दीन इलियास शाहलाई तिरहुत क्षेत्रबाट कर असुल गर्ने गरी नियुक्त गरेका थिए। केन्द्र (दिल्ली)को प्रभावमा ढिलाइ हुनासाथ सन् १३४५ ई.मा हाजीले तिरहुतमाथि आफ्नो प्रभुत्व स्थापित गरिहाले। उनले तिरहुतलाई दुई प्रशासनिक भागमा विभाजित गरी बूढी गण्डक नदीलाई सिमाना तोकेका थिए। यो नदी वर्तमान समयमा मुजफ्फरपुर शहरनिकट प्रवाहित रहेको छ। यस नदीभन्दा दक्षिणतिरको भूभागको प्रशासनिक केन्द्र हाजीपुरमा स्थापित गरिएको थियो। हाजीपुर शहरलाई हाजी इलियास शाहले आफ्नो नामबाट गङ्गा र नारायणी (गण्डक) नदीको सङ्गम स्थानमा बसाएका थिए। यसरी नै, बूढी गण्डक नदीभन्दा उत्तरतिरको क्षेत्रको प्रशासनिक केन्द्रको रूपमा उनले आफ्नै नामबाट समसुद्दीनपुर नगरको स्थापना गरेका थिए, जुन वर्तमान समयमा समस्तीपुरको नामले प्रसिद्ध रहेको छ। हाजी समसुद्दीन इलियास शाहको सैनिक अभियान काठमाडौं उपत्यकासम्म सञ्चालित भएको थियो। नेपालको वंशावली स्रोत अनुसार बङ्गाली मुसलमानको फौज सिन्धुलीगढीको बाटो हुँदै सन् १३४९ ई.मा भक्तपुरमा पुगेको थियो। यस अभियानमा अनेकौं मन्दिर, मूर्ति, घर इत्यादि भग्न र ध्वस्त गरिएका एवं ठूलो लूटपाट गरिएको वर्णन पाइन्छ। यो अभियान एक सप्ताहमा नै समाप्त भएको थियो। यसपछिको समयमा दिल्लीका सुलतानद्वारा सन् १३५४ ई. मा एउटा सनदमार्फत तिरहुत क्षेत्रको प्रशासनको जिम्मा ओइनवार वंशीय मैथिल ब्राह्मण कामेश्वर ठाकुरलाई सुम्पिएको थियो। ओइनवार ब्राह्मण वंशीय शासकहरू सन् १५२६ ई.सम्म मिथिला क्षेत्रमा प्रशासन चलाएका थिए। सन् १५२६ ई. देखि सन् १५५६ ई.सम्मका ३० वर्षको अवधिमा मिथिला क्षेत्रमा राजनीतिक अस्थिरता रहेको थियो। यसपछि सन् १५५६ ई.मा मुगल सम्राट अकबरद्वारा खण्डवला वंशीय मैथिल श्रोत्रिय ब्राह्मण महामहोपाध्याय महेश ठाकुरको जिम्मामा मिथिला (तिरहुत) क्षेत्रको प्रशासन सुम्पिएको थियो। यिनै खण्डवला वंशीय शासकहरू कालान्तरमा दरभङ्गा महाराज भनाउने गरेका थिए। यिनीहरूकै शासनको अवधिमा भारतीय क्षेत्रमा ब्रिटिश इस्ट इन्डिया कम्पनीको शासन स्थापित भएको थियो। अर्कोतिर, गोरखाली फौजको काठमाडौं उपत्यकामाथि अधिकार कायम भइसकेपछि यसभन्दा दक्षिण, पूर्व र पश्चिमका भूभागहरूमाथि आधिपत्य स्थापित गर्दै गइरहेका थिए। यसै पृष्ठभूमिमा ब्रिटिश इस्ट इन्डिया कम्पनीको फौजसित तत्कालीन नेपाल सरकारको फौजको युद्ध भएको थियो। यसै युद्धको अन्त्य सन् १८१६ ई.को सुगौली सन्धिद्वारा भएर वर्तमान नेपाल राष्ट्रको सिमाना निर्धारित भएको थियो।
सामाजिक ऐतिहासिकताः यस भूभागको समाजको विषयमा अध्ययन गर्दा यसको आधार जातीय व्यवस्था रहेको पाइन्छ। नेपालको समाजलाई मुख्यरूपमा पहाडी र मधेसी गरी दुई समुदायमा वर्गीकृत गर्न सकिन्छ। जातीय व्यवस्थामा ब्राह्मण जातिलाई सर्वोच्च स्थान प्राप्त रहेको छ। भारतवर्षको भूभागमा निवास गर्ने ब्राह्मण जातिलाई मुख्यरूपमा द्रविड र गौड गरी दुई समूहमा विभाजित गरिएको पाइन्छ। यो विभाजनको आधार क्षेत्रीयता रहेको तथा मध्य भारतीय क्षेत्रको विन्ध्य पर्वतलाई यसको सिमाना मानिएको छ। यी दुईलाई पनि पाँच–पाँच उपसमूहमा विभाजन गरी विन्ध्य पर्वतदेखि दक्षिणमा बसोबास गर्नेहरूलाई पञ्चद्रविड एवं उत्तरमा रहेकालाई पञ्चगौड संज्ञा दिइएको छ। यस अनुसार पञ्चद्रविड अन्तर्गत कर्णाट, गुर्जर, तैल, द्रविड र महाराष्ट्र ब्राह्मणहरू पर्दछन् भने पञ्चगौड अन्तर्गत उत्कल, कान्यकुब्ज, गौड, मैथिल र सारस्वत रहेका छन्। यसका अतिरिक्त शाकद्वीपीय ब्राह्मणको बसोबास पनि भारतवर्षको भूभागमा पाइन्छ। यिनीहरू भने जम्बूद्वीपभन्दा बाहिरका हुन्। लोकबोलीमा यिनीहरूलाई सकलदीपी ब्राह्मण भनिन्छ। नेपालका पहाडी ब्राह्मण मुख्यरूपले पूर्वीया र कुमाइँ गरी दुई प्रकारका रहेका छन्। पूर्वीया ब्राह्मण जति सबै कान्यकुब्ज मूलका ब्राह्मण रहेका कुरा वंशावलीहरूबाट थाहा पाइन्छ। कान्यकुब्ज प्राचीनकालमा एउटा साम्राज्य थियो, जसको केन्द्र अहिले भारतको उत्तर प्रदेश राज्यको कन्नौज जिल्ला क्षेत्र रहेको छ। कन्नौज क्षेत्रसित सम्बन्धित भएकोले यी ब्राह्मणलाई लोकबोलीमा कनौजिया ब्राह्मण भन्ने गरिन्छ। कुमाइँ ब्राह्मणबारे अध्ययन गर्दा यसमा कान्यकुब्जका साथै अन्य उपसमूहका ब्राह्मणहरू पनि रहेका पाइन्छन्। कुमाइँ भनेका कूर्माञ्चलीय क्षेत्रका हुन्, जसलाई कुमाउँm भनिन्छ, जुन अहिले भारतको उत्तराखण्ड राज्यमा पर्दछ। नेपालको मधेसी समुदायमा ब्राह्मणलगायत अन्य विभिन्न जातिमा कनौजिया मूलका परिवारहरू विद्यमान छन्। यसका साथै यस भूभागमा ऐतिहासिक कालखण्डमा मगध, अवध इत्यादिका साम्राज्य एवं प्रशासनको प्रभाव परेको हुनाले यस क्षेत्रको समाजमा विभिन्न जातिमा मगहिया, अवधिया मूलका परिवारहरूको समेत बसोबास रहेको पाइन्छ। यसैगरी, भारतवर्षको भूभागमा इस्लाम धर्मावलम्बी शक्तिको शासन स्थापित भएपछि यस क्षेत्रमा मुसलमान जातिहरूको बसोबास भएको थियो। यस प्रकार नेपाल र भारतका समाजको ऐतिहासिकताबारे अध्ययन गर्दा समानताका अनेक आयाम देख्न सकिन्छ।
राष्ट्र र देश विषयक अवधारणाः एउटा मान्यता अनुसार राष्ट्र भनेको वैधानिक संज्ञा हो भने देश भनेको भौगोलिक धरातलीय संज्ञा हो। एउटा राष्ट्र आफ्नो निश्चित सीमा, संविधान, कानून, संहिता, अर्थव्यवस्था इत्यादिका आधारमा सार्वभौमसत्ता सम्पन्न रहेको हुन्छ। एउटा राष्ट्र अन्तर्गत अनेक प्रकारका जाति, भाषा, साहित्य, समाज, संस्कार, संस्कृति इत्यादि रहेका हुन सक्छन्। अर्कोतिर, एउटा देश भनेको एक समान जातीय स्वरूप, भाषा, लिपि, साहित्य, समाज, संस्कार, संस्कृति, भौगोलिक धरातल इत्यादि भएको हुन्छ। यस प्रकार संवैधानिक दृष्टिले एउटा राष्ट्र अन्तर्गत अनेक देश रहन सक्छन् भने भौगोलिक दृष्टिले एउटा देश अनेक राष्ट्रहरूबीच विभाजित रहन सक्दछ। उदाहरण स्वरूप एउटै देश बङ्गाललाई सन् १९०५ ई.मा प्रशासनिक विभाजन भनेर पूर्वी र पश्चिमी गरी दुई भागमा विभाजित गरिएको थियो। कालान्तरमा तीमध्येका पूर्वी भाग पाकिस्तान हुँदै आज बङ्गलादेश नामक राष्ट्रको रूपमा विद्यमान छ। अर्कोतिर, भारतका पश्चिम बङ्गाल र गुजरात दुई भिन्न समाज, भाषा, लिपि, साहित्य, संस्कृति भएका देशहरू अहिले एक राष्ट्र अन्तर्गत विद्यमान छन्।
सुगौलीको सन्धिको प्रभावः वर्तमान नेपाल राष्ट्रको स्पष्ट भौगोलिक सिमानासहितको स्वरूप निर्धारणमा सन् १८१६ ई.को सुगौली सन्धिको महत्वपूर्ण भूमिका रहेको छ। यो सन्धि तत्कालीन भारतीय भूभागमाथि शासन गरिरहेको ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल सरकारको बीचमा भएको थियो। यो सन्धि युद्धोपरान्त भएको थियो, जसमा नेपाली पक्ष पराजित अवस्थामा थियो। यस प्रकार यो सन्धिमा विजेता पक्षको प्रभाव हुनु स्वाभाविक थियो। विद्वान्हरू भन्ने गर्दछन् कि यो सुगौली सन्धि न भारतको हितमा थियो, न त नेपालकै हितमा थियो, अपितु यो ब्रिटिश इस्ट इन्डिया कम्पनीको हितमा थियो। सुगौली सन्धिले नेपाल र भारतको बीचमा सिमानाको निर्धारण गरेको छ, जस अन्तर्गत कतिपय स्थानमा नदीलाई सिमाना तोकिएको छ। नदीको प्रवाह प्राकृतिक हुन्छ, जसलाई यो कुरा थाहा हुँदैन कि त्यो भारतमा बगिरहेको छ कि नेपालमा बगिरहेको छ। नदी त धरतीमाथि बगिरहेको हुन्छ। यस्तै, दुईटै राष्ट्रबीचको धरातलीय सिमाना निर्धारण यस प्रकारको देखिन्छ कि कतिपय गाउँ, परिवार, समाज अहिले दुई राष्ट्रमा विभाजित भएका छन्। एक व्यक्तिको स्वामित्वमा रहेको भूभागको बीचबाट अन्तर्राष्ट्रिय सिमानाको क्षेत्र, जसलाई दशगजा अथवा पाया पनि भनिन्छ, निर्धारित हुँदा निजको जग्गा नेपाल र भारत गरी दुईटै राष्ट्रको जग्गाको रूपमा विभाजित हुन पुगेको देखिन्छ।
निष्कर्षः नेपाल र भारत अहिले दुई सार्वभौमसत्ता सम्पन्न छिमेकी राष्ट्र हुन्। यसको ऐतिहासिकताबारे अध्ययन गर्दा भौगोलिकरूपमा यी दुवै राष्ट्र प्राचीन जम्बूद्वीप, भारतवर्ष र आर्यावत्र्तको भूभाग अन्तर्गत रहेका छन्। यी दुवै राष्ट्रको बीचको सीमारेखा सन् १८१६ ई.को सुगौली सन्धिद्वारा अर्थात् आजभन्दा २०५ वर्ष मात्र पहिले निर्धारित भएको थियो, परन्तु यस सीमाञ्चल क्षेत्रका भूभागमा अवस्थित गाउँ र समाज यसभन्दा शताब्दियौं पहिलेदेखि अस्तित्वमा रहेका थिए। अतः यस क्षेत्रका सामाजिक र सांस्कृतिक अवस्थाहरू एकनासका रहेका छन्। दुई बेग्लै राष्ट्रका नागरिकको रूपमा रहे तापनि सीमाञ्चलवासी समाजमा सामाजिक, सांस्कृतिक अभिन्नता देख्न सकिन्छ। यस प्रकार नेपाल र भारत दुई राष्ट्रबीचको सम्बन्धका अनेक आयामहरू रहेका छन्, जसको विषयमा विस्तृत र गहन अध्ययन तथा अनुसन्धान अपेक्षित रहेको देखिन्छ।
(त्रिभुवन विश्वविद्यालय, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजको इतिहास शिक्षण विभागका प्राध्यापक तथा विभागीय प्रमुख वासुदेवलाल दास, पीएचडी, द्वारा प्रस्तुत आलेख)