अनन्तकुमार लाल दास

मोबाइल र इन्टरनेटबारे आम धारणा के छ भने यसले विद्यार्थीहरूमा रहेको सिर्जनात्मकता नष्ट गरिरहेको छ जसले गर्दा उनीहरूको मन पढाइमा लागिरहेको छैन। यस कारण उनीहरूलाई इन्टरनेटबाट टाढा राख्नु नै बेस हुन्छ। हुनत इन्टरनेटले हाम्रो मस्तिष्कलाई फराकिलो बनाउने काम गरेको छ। इन्टरनेटले गर्दा विश्व नै हाम्रो घरको एउटा कोठामा सीमित हुन पुगेको छ। यसको माध्यमले धेरै मानिसले आफूलाई राम्रोभन्दा राम्रो बनाउने प्रयासमा जुटेका छन्। धेरैले यसको प्रयोगबाट सफलता पनि हासिल गरेका छन्। यसले मानिसको सिर्जनात्मकता पनि बढाएको छ। जहाँसम्म पढ्ने कुरो छ, पुस्तकहरूमा केही न केही कमी अवश्य छ, जसलाई इन्टरनेटले पूरा गरिरहेको छ। पुस्तकको जटिल भाषाले केटाकेटीहरूलाई बढी अल्झाउँछ। केटाकेटीहरूमा पहिलेदेखि नै पढ्ने अभाव छ। उनीहरू सजिलो र सरल माध्यमको खोजी गरिरहन्छन्। केटाकेटीहरूलाई इन्टरनेट प्रयोग गर्न दिनुपर्छ तर ध्यान राख्नुपर्छ, उनीहरू त्यहाँ के हेरिरहेका छन्, के खोजिरहेका छन्। यस कारण इन्टरनेटले उनीहरूभित्रको सिर्जनात्मकता नष्ट गरिरहेको छ भन्नु उचित होइन।
भविष्य इन्टरनेटमाथि नै निर्भर छ र यसको प्रयोग पनि व्यापक हुँदैछ। यसर्थ केटाकेटीहरूलाई त्यसको सदुपयोग कसरी गर्ने भन्ने कुरा सिकाउनुपर्छ। सिर्जनात्मकता लोप हुने कुरो बहसको विषय हुन सक्छ। कहाँसम्म सिर्जनात्मकतालाई प्रेरित गर्न सकिन्छ र कहाँ–कहाँ यसको अत्यधिक उपयोगले बाल मस्तिष्कमा असर पु–याउँछ। केटाकेटीहरू उत्सुक र जिज्ञासु हुन्छन्। उनीहरू धेरै कुरो स्वयं गर्न रुचाउँछन्। उनीहरूमाथि पहिलेको तुलनामा पढाइको दबाब पनि बढेको छ। इन्टरनेट र केटाकेटीहरूको सम्बन्धमा मेरा एकजना शिक्षक साथीले के भन्नुभयो भने “इन्टरनेटले केटाकेटीहरूलाई स्थायी कल्पनाशील ज्ञानबाट टाढा लग्दैछ। यसबाट उनीहरूको स्वास्थ्यमाथि पनि नकारात्मक प्रभाव परिरहेको छ। घरमा आमाबुवाको यसमाथि जस्तो अनुशासनात्मक अंकुश हुनुपर्छ, त्यो देखिएको छैन।” त्यहीं छेउमा उभिएका अर्का साथीले कुरामाथि कुरा थप्ंदै भने– “इन्टरनेटबाट शिक्षा हासिल गर्नु गा–हो छ। केटाकेटीहरूको स्क्रीन टाइम बढे पछि उनीहरूको स्वास्थ्यमाथि प्रतिकूल प्रभाव पर्छ। केटाकेटीहरूको प्रतिरोधक क्षमता कम हुँदै जान्छ र परिणामस्वरूप उनीहरू रुमलिन थाल्छन्। यस कारण पुस्तक शिक्षा नै राम्रो र यो सधैं रहिरहन्छ।” उनको ठम्याइ इन्टरनेट केटाकेटीहरूको सिर्जनात्मकतालाई वष्ट गर्दछ भन्ने थियो।
तर आज समाजको बाध्यता के छ भने केटाकेटीहरूलाई इन्टरनेटबाट टाढा राख्न सकिरहेको छैन। यो एउटा आवश्यकता नै बनेको छ। ई–कक्षा लगायत विद्यालयले यस्ता एप पनि बनाएका छन् जसको माध्यमले तपाईं शिक्षकहरूसँग कुरा गर्नुहुन्छ, विद्यालयको फी भुक्तान गर्नुहुन्छ र जुनबेला केटाकेटीहरू सम्बन्धित यो काम इन्टरनेटमा गरिराख्नुहुन्छ त्यस बेला तपाईंको सन्तानले पनि तपाईंलाई हेरिरहेको हुन्छ। उनीहरूको हेराइमा नै धेरै रहस्य लुकेको हुन्छ, जसलाई हामी जिज्ञासा वा उत्सुकता भन्न सक्छौं। यसबाट हामी जोगिन सकेनौं भने केटाकेटीहरू कसरी जोगिन्छन् ? इन्टरनेटको कुरा चलिरहँदा एकजना मित्रले भने–“जुन बेला मेरो छोरोलाई इन्टरनेटको काम पर्छ, उसकी आमा सबै काम छाडेर ऊसँगै बस्छिन् र उसलाई के हेर्नुछ र के हेर्नुहुँदैन गाइड गरिरहन्छिन्।” तर कति आमाबुवाले यसो गर्न सक्छन् ? मध्यम वर्गीय आमाबुवालाई उनका छोरा वा छोरीले विद्यालयबाहेक कुन–कुन साइट खोले पत्तो नै चल्दैन।
त्यहीं छेउमैं बसेका मेरा एक अभिभावक मित्रले भने–“कुरो त सही हो। मेरो छोरो वीरगंजको एउटा नाम चलेको विद्यालयम पाँचौं कक्षामा पढ्छ। ऊ ल्यापटपबाट ई–कक्षामा सामेल हुन्छ तर मोबाइलबाट पनि उसलाई केही गर्नुपर्ने हुन्छ। साथीहरूसँग भिडियो च्याट गर्छ, अनलाइन लूडो खेल्छ। इन्डियन आइडल र कहिलेकाहीं भूतको भिडियो पनि हेर्छ। यसबाहेक पबजी खेल्न रुचाउँछ। म उसको ध्यान ड्राइड्ढो भिडियो, भिडियो अडिटिङतर्फ आकर्षित गर्ने प्रयास गर्छु। मन लागेको बेला त्यो पनि गर्छ तर उसको बढी समय बेकारको काममा खर्च भइरहेको देख्दछु। हिजोआज म के देख्दैछु भने उसमा भएको सिर्जजनात्मक तरलता विस्तारै क्षीण भइरहेको छ। ऊ पढ्नमा कमजोर छैन तर उसमा एक प्रकारको तनाव देखिन्छ।”यी कुराहरूले के प्रस्ट हुन्छ भने इन्टरनेटको प्रयोग कति समयसम्म र कहिले गर्नुपर्छ भन्ने कुरामा केटाकेटी लगायत अभिभावकहरूले पनि ध्यान पु–याउनु आवश्यक छ, अर्थात् त्यसबारे प्रस्ट समझ बनाउनु जरूरी छ। इन्टरनेट ठूलो लाइब्रेरी हो, जहाँ यदि तयारी गरेर पुग्नुभएको छैन भने तपाईं भ्रमित हुन सक्नुहुन्छ र यसै भ्रममा तपाईं गलत साइटमा प्रवेश गर्नुहुन्छ। एकपटक यसको लत लागेपछि तपाईं पटक–पटक त्यहाँ जानुहुन्छ किनभने त्यहाँ तपाईंलाई सहजीकरण गर्ने कोही हुँदैन। इन्टरनेटको सही र समुचित प्रयोग स्व–परामर्श र आन्तरिक अनुशासनले नै सम्भव छ। यसको सदुपयोग वा दुरुपयोग यसको प्रयोग र यसमा खर्चिने समयमाथि निर्भर छ। यदि केटाकेटीहरू इन्टरनेटको प्रयोग शिक्षक वा अभिभावकको निगरानीमा गर्छन् भने उनीहरूको सिर्जनात्मकता क्षीण हुने सम्भावना न्यून हुन्छ। यदि केटाकेटीहरू कहिलेकाहीं गेम्स खेल्छन् वा अङ्ग्रेजी, गणित, विज्ञान, भूगोल वा पर्यावरणसम्बन्धी कुनै जानकारी सर्च गर्छन् भने त्यसलाई इन्टरनेटको सही उपयोग मान्नुपर्छ। यसबाट उनीहरूको ज्ञानसँगै सिर्जनशीलता पनि बढ्छ।
वास्तवमा इन्टरनेटको सदुपयोगले अभिभावक, शिक्षक र केटाकेटीहरूको समस्यालाई सजिलो बनाइदिएको छ। यसबाट हाम्रो ज्ञान फराकिलो पनि भएको छ। यसले विश्व यथार्थ बुझ्ने अवसर प्रदान गरेको छ। आखिर कहिलेसम्म केटाकेटीहरूलाई आदर्शको झूटो दुनियाँमा राख्न सकिन्छ ? छरछिमेकमा भइरहेको गाली–गलौज उनीहरूले सुनिराखेका हुन्छन्। छर–छिमेकमा हुने गलत कुराहरू हेरि र सिकिरहेका हुन्छन्। हामी उनीहरूलाई के भन्छौं भने यस्ता कुराहरू हाम्रै समाजमा छ तर त्यसबाट बच्न आवश्यक छ। यस्ता कुराहरूबाट केटाकेटीहरूलाई जोगाउने जिम्मेवारी पनि हाम्रै हो। हुनत इन्टरनेटमा उपलब्ध केही अनावश्यक सामग्रीमा बढी ध्यान र समय खर्चिले हुँदा केटाकेटीहरूको सिर्जनात्मक सीपमा कमी आएको कुरा उठेको छ तर यसलाई अलिकति सजग भई सही निर्देशन दिइयो भने सजिलै नियन्त्रण गर्न सकिन्छ। जहाँसम्म मानसिक सिर्जनात्मकता बढाउने कुरो छ, त्यसमा इन्टरनेटले बरु सघाउ नै पु–याउँछ र त्यहाँ यस सम्बन्धमा धेरै स्पेस उपलब्ध छ। नेपालमा पनि इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या दिनानुदिन वृद्धिले के सङ्केत गर्दछ भने हाम्रो देशमा पनि भविष्यको विद्यालय इन्टरनेटमैं आधारित हुनेछ। शिक्षा, परीक्षा, सृजन, शोध कार्यक्रम भविष्यमा इन्टरनेटमैं हुने सम्भावना बढिरहेको छ। यतिमात्र होइन, इन्टरनेटमा चासो राख्ने धेरै केटाकेटीहरूले आफ्नो रुचि अनुसार दक्षता हासिल गरी मनग्य धनोपार्जन पनि गरिरहेका छन्।
इन्टरनेटले केटाकेटीहरूमा अनेकौं प्रकारका क्षमता र सीप विकास गर्नुका साथै ज्ञानवृद्धिमा पनि सहयोगी भूमिका निर्वाह गरेको छ। यसर्थ इन्टरनेटको प्रभावबाट जोगिनु सम्भव देखिंदैन। त्यसमा प्रवेश गर्नैपर्छ तर सावधानीका साथ, किनभने आज इन्टरनेट एउटा खतरनाक हतियारको रूपमा पनि प्रयोग भइरहेको छ र त्यहाँ कैयन प्रकारका प्रलोभनको जालो पनि छरिएको छ। निष्कर्षतः केटाकेटीहरूलाई बाल्यकाल देखि नै इन्टरनेटको सदुपयोग कसरी गर्ने भन्ने सिकाउनु आवश्यक छ। यस्ता कुरा तल्लो कक्षादेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने खाँचो अब महसूस गर्न थालिएको छ। इन्टरनेटको दुनियाँ स्वयं विशाल भएकोले यदि केटाकेटीहरू गलत दिशातर्फ गए भने ठूलो नोक्सानी बेहोर्नुपर्छ। इन्टरनेटले केटाकेटीहरूको सिर्जनात्मकता नष्ट त गर्दैन, तर गलत र सहीबीचको अन्तर पनि प्रस्ट पार्दैन। जबसम्म केटाकेटीहरूलाई इन्टनेटको दुनियाँमा के गलत र के सही भन्ने थाहा हुँदैन, तबसम्म निगरानी आवश्यक छ। वास्तवमा केटाकेटीहरूद्वारा प्रयोग गरिने इन्टरनेटमाथि निगरानी गर्नु वा त्यसको कसरी सकारात्मक उपयोग गर्ने सिकाउनु नै वर्तमानको खाँचो हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here