कुमार रुपाखेती
जलस्रोतको धनी मुलुक हो नेपाल। पानीको समस्याले काकाकुल बनेका राजधानीवासीलाई प्रभावित पार्न २०४८ सालको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं १ का उम्मेदवार कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौं पखाल्ने नारा लगाएका थिए। तर पनि भट्टराई त्यो निर्वाचनमा पराजित भए। यो घटनाको ३० वर्षपछि मेलम्चीको पानी बल्लतल्ल काठमाडौंको सुन्दरीजल आइपुगेको छ। अबको तीन महीनापछि राजधानीवासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कुरा प्रधानमन्त्री ओलीले सगर्व बताए। अहिलेसम्म राजधानीवासी प्रदूषित पानी उपभोग गर्न बाध्य छन्। ट्याङ्करको पानी, जारको पानी, बोतलको पानी किनेर पिउने बाध्यता छ, राजधानीवासीलाई। यस्ता किनुवा र बोतलबन्द पानी खानयोग्य छ कि छैन यस्ता पानीको स्रोत के हो, कति भरपर्दो छ भन्ने कुनै प्रत्याभूति छैन। कुनै बेला ढुङ्गेधाराहरूबाट उपत्यकामा निरन्तर र कलकल गर्दै पानी बग्थे र काठमाडौं, ललितपुर र भक्तपुरका बासिन्दाले सदिऔंदेखि ढुङ्गेधाराकै सफा र निर्मल पानी थापेर गुजारा चलाउँथे। आधुनिक शहरको विकास, ठूलठूला भवन निर्माण, बढ्दो जनसङ्ख्याले गर्दा पानीको मुहान र स्रोत सागरलाई पानीको ठूलो समस्या पर्न थाल्यो। कुनै बेला काठमाडौंको सुन्धारा, बालाजुको बाइसे धारा र कतिपय मुहानहरूबाट चौबीसै घण्टा स्वच्छ पानी कलकल बगिरहन्थ्यो। अचेल नेपालका अधिकांश पानीका मुहान नदी, खोलाहरू प्रदूषित बनाइएका छन्। मरेका वस्तु फाल्ने, उद्योगको प्रदूषित पानी बगाउने, शहर बजारका फोहर बगाउने सुगम र सुरक्षित स्थानमा नदी, नाला र खोला परिणत भएका छन्। कतिपय नदीखोलाहरूको जमीन हडपेर बस्ती नै निर्माण भएका छन्। वीरगंजकै शान भनिने श्रीसिया नदीको हबिगत सबैलाई थाहै छ। यस्तै हेलचेत्र्mयाइँले गर्दा श्रीसिया नदी सानो नालामा खुम्चिएको छ। यदाकदा बेला कुबेला श्रीसिया नदीलाई पुरानै अवस्थामा फर्काउने कुरा उठाइन्छ र टाँय–टाँय फिस्स हुन्छ। चतुर उद्योगपतिहरूले समेत आफूलाई प्रदूषण फाल्न पायक पर्ने भएकाले नदीको छेउमा उद्योग स्थापना गर्दछन्। राजधानीको वाग्मती, विष्णुमती, कर्मनासा खोला, हनुमन्ते खोलासमेत अचेल प्रदूषणका वाहक र गन्हाउने नालामा परिणत भएका छन्। सरकारीस्तरमा वाग्मतीलाई स्वच्छ र निर्मल बनाउने कुरा भाषणमा सुनिन्छन्, करोडौं खर्च गर्छन् तर वाग्मतीको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ। हामीभन्दा त हाम्रा पुर्खाहरू नै पानीप्रति सचेत थिए। नदी, खोलाको छेउमा बस्ती बसाउने, नदीनाला सफा र सुरक्षित राख्ने गर्दथे। नदी, खोलामा विगतभन्दा अहिले फोहर प्रदूषित पार्ने खन्याउने गरिन्छ।
अहिले मेलम्चीको खानेपानी आउने कुरा जोडसोडले फलाकिंदै छ। तर तीस वर्षअगाडिको काठमाडौंको जनसङ्ख्या र अहिले बढेको त्यहाँको जनसङ्ख्याबीच आकाश–पातालको फरक छ र मेलम्चीको पानीले वर्तमान घना र बाक्लो काठमाडौंको बस्तीलाई प्रचार गरिएको जस्तो पानी आपूर्ति कदाचित् पनि गर्न सक्दैन। त्यसो त वर्तमान विश्व नै पानीको समस्या भोगिरहेको र चिन्तित देखिन्छ। नेपाललगायत संसारका थुप्रै मुलुकमा अहिले पनि कैयौं माइल पर गएर खानेपानी गाग्रोमा भरेर ल्याउनुपर्ने बाध्यता छ। भनिन्छ, भविष्यमा पेट्रोलियम पदार्थझैं पानीको लागि हानथाप र मारकाट मच्चिने सम्भावना छ। अचेल पानीको दुरुपयोग नहोस् भनेर विदेशी प्लेनले यात्रीहरूले खानेपानी माग्दा प्लास्टिकको सानो गिलासमा थोरै (आधा) मात्र पानी दिन्छन् तर हाम्रो मुलुकमा पानीको दुरुपयोग एकदमै बढ्दो छ। विदेशीहरूले पानीको महत्व बुझे पनि हामीहरू पानीको महत्वबारे अनभिज्ञ नै छौं। जलस्रोतको धनी संसारकै पहिलो मुलुक ब्रजील र दोस्रो नेपाल हो तर हामीलाई जलस्रोतको धनी मुलुक भन्न पनि लाज लाग्ने अवस्था छ। किनकि हाम्रोमा सहज र सरल ढङ्गले न पानी पाइन्छ, न बिजुली। कुलमानको पालामा झिमिक्क नहुने विद्युत् अहिले जथाभावी विनासूचना झ्याप–झ्याप हुन थालेको छ। कुनै बखत हरियो वन, नेपालको धन भनेझैं जलस्रोतको अवस्था पनि हरियो वनझैं सुखाड हुने देखिन्छ। नेपालको सबैजसो नदी, नालाबगेर भारत जान्छन्। यसरी बगेर पानी मात्र होइन बालुवा, माटो र अन्य थुप्रै पानीका जीवजन्तु मात्र होइन अरबौंको खनिज पदार्थहरूसमेत भारत पुग्छन्, यसबारे हाम्रो सरकारले रोक्न कुनै पहल गरेको देखिंदैन। हिन्दीमा एउटा गीत नै छ– पानी रे पानी तेरा रङ्ग कैसा जिसमें मिलाओ लगे उसी जैसा। नेपालबाट भारततिर बगेर जाने यस्ता खनिज भारतको सम्पत्ति हुने नै भयो। त्यसैले जलस्रोतको धनी मुलुक भनेर नाक फुलाउने र काठमाडौंमा मेलम्ची आयो भनेर गर्व गर्नुको सट्टा देशभरि खेर गइरहेको जलस्रोतको समुचित व्यवस्था गर्नु आजको आवश्यकता हो। पानीको लागि सुगम मानिने नेपालको तराईमा अब गर्मीमा चापाकल सुक्ने, जमीनमुनि पानी नभएर मोटरले पानी नतान्ने देखिन थालिएको छ। पानीबारे सबै सचेत हुनु जरुरी छ।
मानव मात्रलाई नभई पानीको दैनिक आवश्यकता जीवजन्तु, बालीनाली, जमीन, रूख–बिरुवा सबैलाई पर्छ। मानवजातिलाई त बिहान उठ्ने बित्तिकै र राति अबेरसम्म दैनिक उपभोग्य वस्तुको रूपमा पानीको आवश्यकता पर्दछ। नदी, खोला, तलाउ प्रदूषित हुन थालेपछि र इनार, कुवाँहरू लोप हुन थालेपछि प्राकृतिकरूपमा प्राप्त पानीको भरपर्दो अन्य स्रोत र मुहान सुक्न थालेपछि मानव जाति हातेधारा र सरकारबाट प्राप्त हुने पानीमा निर्भर हुन बाध्य छन्। तर यति हुँदाहुँदै पनि पानी प्राप्त गर्ने स्रोत र साधन सीमित हुन थाले पनि पानीको महत्व हामी नेपालीले अझै राम्ररी बुझ्न सकेका छैनौं। आकाशे पानीको भरमा खेती गर्ने किसानहरूसमेत पानी नपर्दा पम्पिङसेट लगाएर जमीनमुनिबाट पानी तानेर सिंचाइ गर्थे। तर अब जमीनमुनिसमेत पानीको सतह घट्दै गएको छ। अब खाना खान नपाएर होइन पानी नपाएर प्याक–प्याक भएर प्राण जाने अवस्था आइसकेको छ। यसरी जीवित र निर्जीव सबैलाई पर्याप्त मात्रामा दिनहुँ चाहिने पानीबारे सचेतना जगाउनु आजको आवश्यकता हो। जलविन मछली मात्र होइन, मानव समाजको समेत अस्तित्व खतरामा पर्ने सङ्केत देखिन थालेको छ। अस्तु।