टाँगा व्यवस्थापनका लागि सचेतना

प्रस, वीरगंज, ३ चैत/
वीरगंज महानगरपालिका, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर, प्रहरी चौकी इनर्वा र ट्राफिक प्रहरी पर्साको संयुक्त आयोजनामा आइतवार वीरगंज महानगर–१६ मा टाँगा सञ्चालकहरूलाई सचेत पारिएको छ ।

टाँगा सञ्चालनका लागि बसपार्कबाट मितेरीपुलसम्म बाइपास सडक प्रयोग गर्न सुझाइएको र सो क्रममा घोडाहरूको मल व्यवस्थापनका लागि निर्देशन दिइएको ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए । उनले करीब दुई सय टाँगा सञ्चालकलाई आज सचेत पारिएको र भोलि सोमवारदेखि नियम उल्लङ्घन गर्ने टाँगालाई दण्डित गर्ने बताए । वीरगंज महानगरपालिका, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, प्रहरी चौकी इनर्वा र ट्राफिक प्रहरी पर्साको टोलीले रजतजयन्तीचोकबाट बाइपास भएर बसपार्कसम्म सञ्चालन गर्न र त्यसबाहेकका सडकमा टाँगा सञ्चालन गरेको पाइए दण्डित गरिने बताएको छ ।

उनले २०५६ सालमा घोडा सञ्चालकहरूलाई घोडाको मलद्वारमा बोरा झुन्ड्याउन र गन्तव्यमा पुगेर सोको व्यवस्थापन गर्न लगाएझैं अहिले पनि सोही विधि अपनाउनका लागि सुझाएको र यो कार्य नमान्ने टाँगालाई रजतजयन्तीबाट फर्काउन प्रहरीलाई पनि सुझाइएको बताए । सडकमा जथाभावी घोडाको मलले वातावरण दूषित पारेको कारण अहिले महानगरले यो विधि अपनाएको उनले बताए । उनले भोलि सोमवारदेखि आगामी शुक्रवारसम्म यो अभियानलाई कडाइका साथ सञ्चालन गर्ने बताए । यस अघि गत फागुन २७ गते पनि यसबारेमा टाँगा सञ्चालकहरूलाई महानगर, ग्रीनसिटी, ट्राफिकलगायतले सचेत पारेका थिए ।

 

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्