नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनसङ्ख्या कृषिमा निर्भर छ । तर हाम्रो कृषि क्षेत्र अझै परम्परागत प्रविधिमा आधारित छ, जसको कारण उत्पादनशीलता बढ्न सकेको छैन । आधुनिक कृषि प्रविधिको अभावमा उत्पादन लागत महँगो परिरहेको छ, श्रमको खपत बढी हुने हुँदा प्रतिस्पर्धात्मक बजारमा टिक्न कठिन छ । विकसित मुलुकहरूले कृषिमा यान्त्रीकरण गरेर उत्पादन वृद्धिसँगै आर्थिक समृद्धि हासिल गरिरहेका छन् । नेपालले पनि आधुनिक कृषि प्रविधि अपनाउँदै कृषिमा मेशीनको प्रयोग बढाएर वैज्ञानिक खेती प्रणालीमा जोड दिनुपर्छ । यसो गर्न सके मात्रै कृषिमा वास्तविक क्रान्ति सम्भव छ । अहिले हाम्रो मुलुकमा कृषिमा केही हदसम्म यान्त्रीकरण भएपनि यो अति सीमित र असमान छ । पछिल्लो दशकदेखि केही मुख्य क्षेत्रहरू जस्तै तराईमा ट्याक्टर, कम्बाइन हार्भेस्टर, पावर टिलर, धान रोप्ने मेशीन आदि प्रयोगमा तीव्रता आएको छ । यसले केही सकारात्मक नतीजा हासिल गरेको छ । पहाडी तथा दुर्गम भेगका किसानले अझै परम्परागत हलो जोत्नुपर्ने अवस्था छ ।
हाम्रा किसानहरूमा प्राविधिक ज्ञानको अभाव छ । केही सचेतहरूले पनि महँगा उपकरण खरीद गर्न सक्ने सामथ्र्य छैन । सरकारमा दूरदर्शिता र यान्त्रीकरणबारे स्पष्ट नीतिको अभाव छ । नेपाल सरकारले कृषि यान्त्रीकरणका लागि अनुदान दिने व्यवस्था गरेको छ । यद्यपि सिंचाइको अभाव, वित्तीय सहयोगको सीमितता र नीतिगत अस्पष्टता जस्ता समस्याले कृषिको आधुनिकीकरणले गति लिन सकेको छैन । कृषिमा यान्त्रीकरण गर्न सकियो भने विभिन्न फाइदाहरू छन् । आधुनिक मेशीनहरूले उत्पादनशीलता सामान्य अवस्थाभन्दा धेरै गुणा बढाउँछ । कम समय र कम श्रम प्रयोग गरेर ठूलो मात्रामा अन्न उत्पादन गर्न सकिन्छ । छिमेकी मुलुक भारतमा हरित क्रान्ति सफल हुनुको मुख्य कारण नै उन्नत प्रविधि, रासायनिक मल र कृषि मेशीनहरूको प्रयोग थियो । परम्परागत कृषि प्रणाली श्रमप्रधान हुन्छ, जसले कृषि उत्पादनलाई महँगो बनाउँछ भने श्रम गर्दा थाकेर वाक्कदिक्क हुने हुँदा कृषि पेशाप्रति विकर्षण बढ्छ । यान्त्रीकरणले श्रम घटाउँछ, जसले उत्पादन लागत कम हुनुका साथै कृषि पेशाप्रति युवापुस्ताको आकर्षक बढ्छ ।
अमेरिकाले ट्याक्टर, रोबोटिक्स कृषि प्रविधि र स्मार्ट फार्मिङ अपनाएर उत्पादन लागत घटाएको छ । आधुनिक प्रविधिले उन्नत बीउबिजन प्रयोग, माटो परीक्षण, मल तथा कीटनाशकको वैज्ञानिक प्रयोग जस्ता प्रविधिहरूलाई सहजीकरण गर्छ । चीन र नेदरल्यान्ड्सले उन्नत प्रविधिमार्फत जैविक तथा व्यावसायिक खेतीलाई प्राथमिकता दिंदै निर्यात वृद्धि गरेका छन् । जापानमा कृषि क्षेत्रको ९० प्रतिशत हिस्सा यान्त्रीकरण भइसकेको छ । स्मार्ट फार्मिङ प्रविधि, रोबोटिक्स, र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गरी उसले सीमित जमीनमा अधिकतम उत्पादन गरिरहेको छ । त्यसैगरी, नेदरल्यान्ड्स सानो भूभाग भएपनि विश्वकै दोस्रो ठूलो कृषि निर्यातकर्ता मुलुक हो । उसले ड्रोन प्रविधि, ग्रीनहाउस टेक्नोलोजी र स्वचालित खेती प्रणाली प्रयोग गरेर उत्पादनशीलता बढाएको छ । कृषिमा इजरायलको यान्त्रीकरण र प्रविधि नाम चलेको छ । यान्त्रीकरणले व्यावसायिक कृषिमा टेवा पु¥याउँछ । नेपालमा पनि ठूला कृषि फार्महरूलाई प्रविधि अपनाएर उत्पादन वृद्धि गर्न प्रेरित गरिनुपर्छ । थोरै लगानी, कम मेहनत र सानो क्षेत्रमा ठूलो उत्पादन गर्ने प्रविधि अपनाउन सकिन्छ । तर यसको लागि मुख्यतः सरकार बिउँझनुप¥यो ।