प्रस, वीरगंज, ६ फागुन/
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले पत्रकारले सदैव विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) वीरगंज कार्यालयले बुधवार जिल्ला प्रशासन कार्यालय, पर्साको सभाकक्षमा ६४औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तत्र्रिmयामा मन्त्री क्षेत्रीले राससले आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आइरहेको बताए ।
उनले राज्यको चौथो अङ्ग पत्रकारले आचारसंहिताको पालना गर्दै सदैव सत्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने सुझाए । उनले पत्रकारहरू पारदर्शी र जवाफदेही हुनैपर्ने बताउँदै यसबारेमा पत्रकार सम्बद्ध सङ्घ, सङ्गठनले बहस चलाउनुपर्ने बताए । त्रुटि भगवान्बाट पनि भएको छ, तसर्थ पत्रकारहरूबाट पनि हुँदैन भन्ने सोच्नु गलत हुने तर्क गर्दै गलतीलाई दोहरिन नदिने र भएका गलतीलाई आत्मसात् गरी अगाडि बढ्ने प्रवृत्तिको विकास भएको खण्डमा पत्रकारिता मर्यादित हुने बताए । उनले नेपाली पत्रकारिताले विश्वसनीयता गुम्ने काम गर्न नहुने तर्क गरे । यसो गरिएको खण्डमा आम नेपालीको विश्वास पत्रकारले जित्न सक्ने उनले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले राससले चुनौती र सम्भावनाका बीचमा रहेर प्रभावकारी ढङ्गबाट पत्रकारिता गर्नुपर्ने बताए ।
उनले सूचना प्रविधिको विकाससँगै पछिल्लो समय समाजमा गलत सूचना प्रवाह ठूलो चुनौतीको रूपमा देखा परेको बताए । राससले त्यस्ता खालका गलत सूचना र सन्देशलाई चिर्नेगरी समाचार सामग्री उत्पादन गर्न आवश्यक भएको बताए । निमित्त प्रजिअ गौतमले समाचार सम्प्रेषण गर्ने परम्परागत ढर्रा र प्रणालीलाई सुधारेर अघि बढ्न सुझाव दिए ।
नेपाल पत्रकार महासङघका सचिव अशोक तिवारीले राससले पछिल्ला समयमा राससको समाचार सामग्रीमा विविधता झल्काउने प्रयास गर्दै आइरहेको बताए । उनले सामाजिक सञ्जालसँग सम्बन्धित कतिपय प्रावधान मिडियामैत्री नभएकाले सो विधेयक फिर्ता लिएर अघि बढ्न सरकारसँग आग्रह गरे ।
प्रहरी उपरीक्षक गौतम मिश्रले रासस पुरानो र विश्वसनीय मीडियाको रूपमा अघि बढ्दै आइरहेकोले आगामी दिनमा पनि आधिकारिक र निष्पक्ष समाचार सम्प्रेषण गर्दै अघि बढ्न सुझाव दिए ।
वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राससले बारा–पर्सा औद्योगिक कोरिडोरलाई आर्थिक राजधानीको रूपमा स्थापित गर्नका लागि आवश्यक पहलकदमी गर्नुपर्ने बताए । उनले हालको अवस्थामा राससले निजी क्षेत्रमैत्री र उद्योगधन्दा प्रवद्र्धन गर्ने खालका समाचार सम्प्रेषण गर्दै आइरहेको र यो निकै सकारात्मक पक्ष भएको चर्चा गरे ।
प्रतीक दैनिकका प्रबन्धक सम्पादक विकाश शर्माले राससमा आउने जलवायु परिवर्तन, वातावरणीय, औद्योगिक क्षेत्र, कृषि, स्वास्थ्यलगायतका समाचार सामग्री राम्रा हुने गरे पनि राजनीतिक समाचार पट्यारलाग्दो हुने गरेको बताए ।
नेपाल बीमा प्राधिकरण मधेस प्रादेशिक कार्यालयकी प्रमुख प्रीति देवले राससले पछिल्लो समय सामाजिक सञ्जालबाट फैलिने अफवाह र गलत खालका समाचारलाई चिर्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।
राष्ट्रिय समाचार समिति वीरगंज कार्यालय प्रमुख हिमाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा दिलीपराज कार्की, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, श्रमजीवी पत्रकार सङ्घ पर्साका अध्यक्ष राजाप्रसाद कुर्मीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सूर्य विकले गरेका थिए ।