प्रस, वीरगंज, ७ फागुन/
वीरगंज महानगरपालिका कार्यालयले वडा नं १२ र १३ मुर्लीमा सडक फराकिलो गर्न लागेकोमा अदालतले रोक लगाएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीशद्वय निर्मला शाक्य र हरिप्रसाद जोशीको इजलासले गत माघ १५ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्ने आदेश जारी गरेको छ । फागुन ४ गते न्यायाधीशद्वयले सुनवाइ गर्दै सो जग्गामा लालपुर्जा भएका व्यक्तिहरूको भोगचलन, बसोबास रहेको प्रमाणका आधारमा महानगरपालिकाले गत माघ ३ गते जारी गरेको सूचनाविरुद्ध माघ १५ गते जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्ने निर्णय गरेका हुन् ।
महानगरले सूचना जारी गर्दै नक्शापास नभएका तथा सडकसीमा मिचेर निर्माण भएका संरचनाहरू हटाउन सूचना जारी गरेपछि सोविरुद्ध हदिश मियाँ दर्जीसमेतले उच्च अदालतमा रिट दिएर अल्पकालीन अन्तरिम आदेश जारी गराएका थिए ।
वडा नं १२ र १३ मुर्लीमा महानगरले नेपाल आयल निगमदेखि मुर्लीचोकसम्म १० मिटर चौडा सडक निर्माणको
योजना अघि सारेको छ । सोअनुरूप आयल निगमदेखि सिटी प्यालेससम्म सडक फराकिलो भएर कालोपत्र भइसकेको छ । सिटी प्यालेसदेखि मुर्लीचोकसम्म करीब ५०० मिटरमा भने अहिलेसम्म सडक फराकिलो हुन सकेको छैन ।