प्रस, वीरगंज, ७ फागुन/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बुधवार वीरगंजका विभिन्न संस्थागत अस्पतालको अनुगमन गरेका छन् ।
आज दिउँसो मुख्यमन्त्री सिंहले वीरगंजस्थित भवानी अस्पताल, प्रभु अस्पताल, सर्वोत्तम अस्पताल, नेपाल–इन्डो हस्पिटल र स्पर्श मल्टिस्पेशियालिटी अस्पतालको अनुमगन गरेका थिए । अनुगमनको क्रममा भवानी र स्पर्शले नवीकरण नगरेको पाएपछि नवीकरणका लागि निर्देशन दिएका थिए भने नेपाल–इन्डो हस्पिटललाई बन्द गर्ने निर्देशन दिए ।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले दुई अस्पतालको नवीकरण नभएको र एउटा अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएपछि बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिएको बताए । नेपाल–इन्डो अस्पताल शुरूमा वीरगंज महानगर–१६ रजतजयन्ती चोकमा सञ्चालित थियो । अहिले सो अस्पताल वीरगंज महानगर–१५ प्रतिमाचोकमा सञ्चालित छ ।
मुख्यमन्त्री सिंहले केही दिनदेखि प्रदेशका विभिन्न अस्पतालहरूको सेवाप्रवाहबारे आफैंले स्थलगत अनुगमन गर्दै आएका छन् । बिरामीहरू निजी अस्पतालबाट ठगिन परेको गुनासा बढेसँगै उनले विभिन्न अस्पतालहरूमा दिउँसो, राति छड्के अनुगमन शुरू गरेर सुधारको प्रयास गरेका छन् । अस्पतालबाट प्रवाह हुने सेवासुविधाहरूका साथै बिरामीहरू ठगिएको घटनामा मुख्यमन्त्रीले विशेष चासो देखाउँदै आएका छन् ।