नरेश यादव, पर्सागढी, ६ फागुन/
वीरगंज महानगरपालिका–३१ मिलनचोकमा स्वच्छ चुलो परियोजना अन्तर्गत क्लिन कूकिङ अलायन्स र सस्टेनेबल प्रोस्पेरिटिस इनिसिएटिभ नेपालको आयोजना तथा दिव्य विकास स्रोत केन्द्र पर्साको सहकार्यमा विद्युतीय चुलो प्रदर्शन गरिएको छ ।
सो प्रदर्शनीको अवलोकन गर्दै आज सयभन्दा बढीले विद्युतीय चुलो बूकिङ गरेको आयोजकले जानकारी गराएको छ ।
क्लिन कूकिङ अलायन्सका नीति विशेषज्ञ मोहनदास मानन्धरले यो परियोजना मधेस प्रदेशमा सञ्चालन भइरहेको बताए ।
परियोजनाले मधेस प्रदेशमा विद्युतीय खाना पकाउने प्रविधि प्रवर्धन गरी बायोग्याँस तथा एलपी ग्याँसमा घरपरिवारको निर्भरता घटाउन मदत गर्ने बताए ।
नेपालमा ५१ प्रतिशत घरधुरीले अझै पनि खाना पकाउने इन्धनको रूपमा दाउरा प्रयोग गर्ने गरेको र मधेस प्रदेशमा यो सङ्ख्या ५९ प्रतिशत रहेको तथा ११ प्रतिशतले गोबर ग्याँसको प्रयोग गर्ने गरेको मानन्धरले बताए ।
विद्युतीय चुलो प्रयोग गर्दा पर्यावरण संरक्षणका साथै आर्थिक लाभले नेपालको ऊर्जा सन्तुलन, सामाजिक सशक्तीकरण र नेपालको व्यापार घाटामा फाइदा हुने उनले दाबी गरे ।
कार्यक्रममा वरिष्ठ नीति विशेषज्ञ पुरुषोत्तम घिमिरे, सस्टेनेबल प्रोस्पेरिटिक इनिसिएटिभ नेपालका प्रबन्धक सञ्चालिका सरीता कार्की, दिव्य विकास स्रोत केन्द्रका कार्यकारिणी निर्देशक रामाकान्त कुर्मी, सस्टेनेबल प्रोस्पेरिटिक इनिसिएटिभ नेपालका फिल्ड कोअर्डिनेटर किरण चौधरी, वडाध्यक्ष जीतेन्द्रप्रसाद यादव, स्थानीय समाजसेवी रामाकान्त चौधरीलगायतको सहभागिता थियो ।