राजनीति केका लागि

‘राजनीति’ शब्दको उत्पत्ति ग्रीक भाषाबाट भएको मानिन्छ, जसको अर्थ ‘राज्य सञ्चालनको कला’ अर्थात् राज्य सञ्चालन गर्ने नीति भन्ने बुझिन्छ । विश्वविख्यात दार्शनिक प्लेटो र एरिस्टोटलले राजनीति भन्नाले समाजका सबै वर्गको भलाइका लागि गरिने नीति–निर्देशनलाई जनाउने बताएका छन् । त्यसैगरी, महात्मा गाँधीले ‘राजनीति नैतिकतामा आधारित हुनुपर्छ’ भनेका थिए भने नेल्सन मण्डेलाले राजनीति देशको सेवा गर्ने माध्यम भएको बताउँथे । तर नेपालको वर्तमान राजनीतिक परिदृश्य हेर्दा यी आदर्शहरूबाट नेपालका राजनीतिक दल तथा तिनका नेताहरू टाढिंदै गएका हामीसँग भोगिरहेका छौं । राजनीति देश र जनताको समृद्धिका लागि प्रयोग गरिनुपर्छ । जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर नीति निर्माण गरिनुपर्छ । हाम्रो मुलुकमा राजनीति व्यक्तिवाद, नातावाद, कृपावाद, दलगत, गुट र उपगुटको स्वार्थमा केन्द्रित छ ।

नेताहरूले राजनीति जनसेवाभन्दा स्वार्थपूर्तिको साधनका रूपमा उपयोग गर्दै आएका छन् । उनीहरू पार्टीगत स्वार्थको नाममा मुलुकलाई कमजोर बनाउने खेल खेलिरहेका छन् । आज नेपालको राजनीतिमा देखिएको विकृतिको मूल जड व्यक्तिगत लाभ, भ्रष्टाचार र सत्तामा टिकिरहने लालसा हो । लोकतान्त्रिक मूल्य–मान्यता भत्किंदै गएका छन् । दलका नेताहरूले आफ्ना परिवार र नातागोतालाई लाभ दिलाउने उद्देश्यले नीति तथा कार्यक्रम बनाउने प्रवृत्ति मौलाएको छ । जनताको विश्वास जितेर सत्तामा पुगेका नेताहरू जब कुर्सीमा पुग्छन् र सत्ताको स्वाद चाख्छन्, तब उनीहरूलाई जनताभन्दा व्यक्तिगत सुविधा महŒवपूर्ण लाग्न थाल्छ । नेपाली राजनीति केवल कुर्सी बचाउने र अरूलाई ओराल्ने खेलमा मात्र सीमित छ । देशका पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि काम गर्नुपर्नेमा उल्टै आपसी द्वन्द्वमा अल्झिएर विकासका योजनाहरू अलपत्र पार्छन् । राजनीति यति लालची खेल बन्दै छ कि, राष्ट्रको सर्वोच्च पद धारण गरिसकेका पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिसमेत पुनः दलीय राजनीतिमा फर्किन थालेका छन् । राजनीतिको परिभाषा अनुसार राजनीतिक इमानदारिताभन्दा पनि बेइमानीका परिणामस्वरूप देशको आर्थिक अवस्था कमजोर हुँदै गएको छ । बेरोजगारी बढ्दो छ, परनिर्भरता चरमचुलीमा पुग्यो, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् र आम नागरिकमा निराशा बढ्दै गएको छ । नेपालमा राजनीतिक दलहरू र तिनका नेताहरूले नीति निर्माण गर्दा समावेशिता, पारदर्शिता र इमानदारिताको सिद्धान्तलाई बेवास्ता गरेका छन् । यस्ता प्रवृत्तिले समाजमा निराशा मात्र फैलाउँछ । नेताहरूले राजनीतिलाई सेवाको रूपमा नलिएर व्यापारको रूपमा ग्रहण गरेका छन् । यसले समाजमा नैतिक सङ्कट गहिरिंदै गएको छ ।

राजनीतिज्ञहरूले बुझ्नुपर्ने कुरा के हो भने उनीहरूको जिम्मेवारी केवल चुनाव जितेर सत्ता प्राप्त गर्नु मात्र होइन, मुलुकलाई सही दिशा प्रदान गर्नु हो । उनीहरू मुलुक र जनताप्रति उत्तरदायी रहनुपर्छ । कुनै पनि मुलुकको समृद्धि राजनीतिक स्थिरता, दूरदृष्टि र इमानदार नेतृत्वमा निर्भर रहन्छ । यदि नेताहरू सचेत भएनन् भने मुलुक दिनदिनै सङ्कटमा फस्दै जानेछ । अबको आवश्यकता नीति सुधार, राजनीतिक चरित्रको शुद्धीकरण र सत्ताको लागि नभई सेवाको लागि राजनीति गर्ने संस्कृति स्थापना गर्नु हो । राजनीति समाज रूपान्तरणको प्रमुख माध्यम हुनुपर्छ । नेतृत्वमा नैतिकता र इमानदारिता रहे मात्रै मुलुकको समृद्धि सम्भव छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्