प्रस, निजगढ, २० माघ/ 

सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी नागरिकको मौलिक हक भएकोले यसलाई सुनिश्चित गर्नुपर्ने बताउँदै यस विषयमा राजनीति गर्नु ठूलो अपराध र पाप हुने टिप्पणी गरेका छन्। आइतवार निजगढमा आयोजित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौं साधारणसभामा मन्त्री यादवले जनताको सेवा गर्नु नै राजनीति गर्नु हो जिकिर गरे।

मन्त्री यादवका अनुसार निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५९ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मन्त्रालयमा थन्किएको भएपनि उनको पहलमा ३० करोड रुपैयाँ बजेट विनियोजन भई टेन्डर आह्वानको तयारी भइरहेको छ। उनले हिमाल, पहाड र तराईका नागरिकसम्म स्वच्छ खानेपानी पु–याउन ३० अर्बभन्दा बढी रकम आवश्यक रहेको भन्दै अर्थमन्त्रीसँग यसबारेमा छलफल भएपछि हाल ११ अर्ब रुपैयाँको सिलिङमा रहेर बहुुवर्षीय आयोजनाका लागि कार्य अघि बढेको जानकारी दिए।

मन्त्री यादवले तराईका धेरै जिल्लामा खानेपानी योजनाका लागि बजेट विनियोजन भएपनि आफ्नो निर्वाचन क्षेत्र पर्सामा बजेट विनियोजन नगरेको बताए। उनले प्रायः मन्त्रीहरूले आआफ्नो निर्वाचन क्षेत्रलाई प्राथमिकता दिई अन्य जिल्लालाई ओझेलमा पार्ने गरेको आरोप लगाउँदै आफूले पारदर्शिता अपनाएको स्पष्ट पारे।

उनले निजगढ नगरपालिकाका सिगौंल र रतनपुर क्षेत्रमा खानेपानी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

उनका अनुसार सुनकोशी डाइभर्सन परियोजना अन्तर्गत पर्सा जिल्लासम्म स्वच्छ खानेपानी ल्याउन ४६ अर्बको बजेट प्रस्ताव गरिएको छ। बारा, पर्सा, रौतहटका विभिन्न योजनाहरूलाई समेटेर १५ दिनभित्र डिजाइन टेन्डर आह्वान गरिने जानकारी उनले दिए।

मन्त्री यादवले जलवायु परिवर्तन र २०७२ को भूकम्पका कारण धेरै पानीका मुहान सुक्दै गएको बताउँदै भूगर्भीय पानीको सतह घट्दै गएकाले खानेपानी समस्या भयावह हुन सक्ने चेतावनी दिए।

कार्यक्रममा बारा क्षेत्र नं १ का सङ्घीय सांसद अच्युत मैनालीले निजगढमा खानेपानी अभावको विषय स्मरण गर्दै सङ्घीय सरकारले समस्या समाधानमा ध्यान दिएको बताए। पूर्वखेलकूदमन्त्री पुरुषोत्तम पौडेलले निजगढको समग्र विकासका लागि राष्ट्रिय गौरवको आयोजनासँग जोडेर राज्यले ध्यान दिइरहेको बताए।

कार्यक्रममा मधेस प्रदेश सांसद त्रिलोकी चौधरी, मीना लामा, निजगढ नपाका प्रमुख सुरथ पुरी, पूर्वप्रमुख सुरेश खनाललगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले पनि मन्तव्य राखेका थिए।

संस्थाको वार्षिक प्रगति विवरण संस्थाका अध्यक्ष सुदर्शन कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता भट्टराईले प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव यतिराज सापकोटाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here