प्रस, निजगढ, २० माघ/
बकैया खोलाबाट अवैधरूपमा निकालिएको र निजगढ नगरपालिका वडा नं ४ कछडिया बस्ती आसपासमा थुपारिएको अवस्थामा जफत गरिएको ढुङ्गाको ठेक्का अहिलेसम्म लागेको छैन।
निजगढ नगरपालिकाले ठेक्का लगाउन विद्युतीय बोलपत्रमार्फत ३० दिने सूचना जारी गरे पनि आइतवार टेन्डर खोल्दा कुनै पनि इच्छुक कम्पनीले ढुङ्गा निकासीका लागि आवेदन नदिएको नगरपालिकाको राजस्व शाखाले जानकारी दिएको छ।
नगरपालिकाले जफत गरेको ६७,७३२.८९ घनमिटर (२३,८९,६१६.७० क्यूफिट) ढुङ्गाको लागि मूल्य अभिवृद्धि करसहित दुई करोड १६ लाख दुई हजार १३६ रुपैयाँको टेन्डर आह्वान गरेको थियो।
तर कुनै पनि ठेकेदार वा कम्पनीले टेन्डर भरेनन्, जसका कारण अब जफत गरिएको ढुङ्गाको व्यवस्थापन अन्योलमा परेको छ।
स्थानीय स्रोतका अनुसार अवैधरूपमा उत्खनन गरिएका यी ढुङ्गालाई कानूनी प्रक्रियाविनै वैध बनाउँदै ठेकेदारमार्फत निकासी गर्ने प्रयास भइरहेको थियो। यसबारे विवाद उत्पन्न भएपछि नगरपालिकाले ढुङ्गा जफत गरी टेन्डर आह्वान गर्न बाध्य भएको हो।
नगरप्रमुख सुरथ पुरी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलामाथि ठेकेदार कम्पनी जय गणेश सप्लायर्ससँग मिलेमतो गरी अवैध निकासीको प्रयास गरेको आरोप लागेको छ।
सूत्रका अनुसार जफत गरिएको ढुङ्गामध्ये एक हजारभन्दा बढी टिपर (१२ हजार घनमिटर) ढुङ्गा निजगढ नगरपालिका र स्थानीय प्रहरी प्रशासनको संरक्षणमा घाटगड्डी हुँदै अवैधरूपमा निकासी गरिएको छ।
नगरपालिकाको ठेक्का प्रक्रियामा कसैले रुचि नदेखाउनुको कारण पहिले नै ठूलो परिमाणमा ढुङ्गा तस्करी भइसकेको हुन सक्ने आशङ्का गरिएको छ।