प्रस, वीरगंज, २० माघ/
सोमवार वसन्त पञ्चमी मनाउन विद्यार्थीहरू व्यस्त देखिएका छन्।
विद्यालय, कलेज, शैक्षिक संस्थानहरूमा सरस्वतीपूजाको तयारीलाई लिएर चहलपहल बढेको छ। आज विद्यार्थीहरूले मूर्ति खरीद गरी विद्यालय, कलेजतर्फ लगे भने बजारमा पूजा सामग्रीलगायत भोजका लागि किराना सामान खरीद गर्न व्यस्त देखिन्थे।
विद्यालय, कलेजसँगै गाउँघरमा युवाहरूको समूहले टेन्ट गाडेर सरस्वतीपूजा गर्न मूर्ति राखेर सजाउने, पूजापाठ गर्ने र डिजे साउन्डको जोहो गर्न जुटेका छन्। यसैगरी, सरस्वतीपूजाका लागि ग्रामीण भेगका बालबालिकाहरू सडकमा डोरी तानेर चन्दा उठाउन समूह बनाएर अधिकांश सडकमा व्यस्त देखिन्थे।
यस्तै, विभिन्न सडकखण्डमा विद्यार्थीहरूको नाममा बालबालिकाहरूले सडकमा डोरी तेर्साएर सवारीसाधनसँग चन्दा असुलिरहेका छन्। जनता सडक, हुलाकी, थरूहटलगायत ग्रामीण क्षेत्रका सडकहरूमा बालबालिकाले चन्दा असुली गरिरहेका छन्।