प्रस, रौतहट, २० माघ/

अदालतको अवहेलना मुद्दामा आमजनता पार्टीका अध्यक्ष प्रभु साहसहित दुईजनाविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले सामाजिक सञ्जालमा ‘रौतहट जिल्ला अदालतका न्यायाधीशहरू नेताका झोले’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवले जिल्ला अदालत रौतहटमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

आज आइतवार भएको सुनवाइपछि जिल्ला अदालतले साहसहित आमजनता पार्टीका महासचिव त्रिभुवन साहविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार उद्धव ढोडारीका अनुसार वादी पक्षका अधिवक्ता राजाराम रायको बहसपछि अदालतले विपक्षीहरूलाई सात दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ। अदालतले उनीहरूलाई ‘किन कारबाही गर्नु नपर्ने हो ?’ भन्ने आधार प्रमाणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

बौधीमाई नगरपालिकाका प्रमुख यादवले माघ १८ गते शुक्रवार अदालतमा अवहेलना मुद्दा दर्ता गराएका थिए, जसलाई सुनवाइका लागि ६ नं इजलासमा पेश गरिएपछि अदालतले आज निर्णय सुनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here