प्रस, परवानीपुर, २९ पुस/
बारामा भएको राजकुमार रूम्बा हत्या प्रकरण अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहाल प्रहरी प्रधान कार्यालय काठमाडौंमा तानिएका छन् ।
उनको कार्यकालमा गोली हानेर हत्या गरिएको घटनामा अनुसन्धानबाट असन्तुष्ट बन्दै नेपाल प्रहरीले उनलाई तानेको बारामा चर्चा छ । उनको ठाउँमा प्रहरी नायब उपरीक्षक सुभद्रा वाईवालाई हेडक्वार्टरबाट इप्रका, सिमरा पठाइएको छ । पुस ५ गते राति रूम्बालाई टाउकोमा एक गोली प्रहार गरी हत्या गरिएको अवस्थामा पुस ६ गते बिहान ९ः३० बजे जीतपुरसिमरा उपमहानगरपालिका–११ बकुलियादेखि रमौली–लोसन्डा जाने सडकखण्डमा बाग्मती प्रदेश ०१–२८च ७६१६ नम्बरको कारमा रूम्बाको शव बरामद भएको थियो ।
सो घटनामा बारा प्रहरीले पुस १४ गते पत्रकार सम्मेलन गरी तीनजना संलग्न रहेको भन्दै सार्वजनिक गरिसकेको छ । जीतपुरसिमरा–१ बस्ने ४५ वर्षीय रूम्बाको हत्यामा संलग्न रहेको भनी रूम्बा सवार कारका धनी महोत्तरी जिल्ला, जलेश्वर नगरपालिका–२ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय, बारामा दरबन्दी रही सिमरा विमानस्थलमा कार्यरत अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारी, जीतपुरसिमरा–१९ निवासी २७ वर्षीय पुरुषोत्तमकुमार दास र २० वर्षीय इन्द्रजीत चौहानलाई पक्राउ गरिएको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । व्यक्तिगत इबीका कारण सो घटना भएको बारा प्रहरीको दाबी छ ।
रूम्बाका परिवारजनले राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तिवारीलाई बारा प्रहरीले बचाउन खोजेको कारणले प्रारम्भिक चरणमा तिवारीलाई पक्राउ नगर्दा उनको परिवारजनले शव बुझ्न आनाकानी गर्दै इप्रका, सिमरा घेराउ गर्दै प्रदर्शन गरेको थियो । त्यसपछि तत्कालीन प्रनाउ दाहाललाई तान्न नेपाल प्रहरीको प्रधान कार्यालय गम्भीर भएको थियो । रूम्बा सिमरा विमानस्थलमा नेपाल प्रहरी युनिटको भान्सेको रूपमा कार्यरत थिए ।