हिट हुने लोभमा भोजपुरी गीतमा अश्लीलता थपियो –गायक विशाल

प्रस, परवानीपुर, २९ पुस/
भोजपुरी गीत–सङ्गीतमा चाँडै हिट हुने लोभले गर्दा केही कलाकारका कारण अश्लीलता बढेको भोजपुरी गायक विशाल यादवले बताएका छन् ।

बारा, कलैया घर भएका विशाल भोजपुरी गीत–सङ्गीत क्ष्Fेत्रमा लोकप्रिय नाम हो । उनले गत दुई वर्षदेखि लगातार हिट गीत दिइरहेका छन् । विशाल यादवले टिआरपी र लोकप्रियता हासिल गर्न नयाँ–पुराना केही गायकले गर्दा भोजपुरी गीत–सङ्गीत बदनाम भएको बताए । भोजपुरीमा एउटै लय र धुनमा अनेकौं गीत गाएर चर्चा बटुल्ने प्रयास गरिन्छ । साथै स्त्रीका विभिन्न अङ्गको वर्णन गरेर समेत गीत बनाउने गर्दा अश्लीलता बढ्ने गरेको उनले बताए । अश्लील शब्दसहितको गीत श्रोताले रुचाउने र त्यस्ता गीत बजारमा हिट हुने केही गायकको विश्वास भए तापनि त्यस्ता गीतले गायकको क्यारियर धरापमा पर्ने उनी बताउँछन् ।

विशाल यादवको हालै रिलिज ‘अनमोल जवानी’ गीत अहिले चर्चामा छ । यस अघि उनी ‘चुडीविना हात के’, ‘विदेशसे भतार आवतारे’, ‘धानको रोपनिया’, ‘भिडियो बनाएम गढीमाईके महिमामे’लगायत राम्रा र मौलिक भोजपुरी गीत गाएर लोकप्रिय भएका छन् । उनको एउटा गीतको युट्युबमा लाखौं भ्युज छन् ।