प्रस, वीरगंज, १ कात्तिक/
वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व चालू आवको तीन महीनामा गत आवको तुलनामा सवा करोड कम सङ्कलन भएको छ । वीरगंज महानगरपालिका राजस्व महाशाखाले गत आव २०८०/८१ को साउन–असोजसम्म १६ करोड २६ लाख ३६ हजार ४७३ राजस्व सङ्कलन भएकोमा चालू आवको असोज मसान्तसम्म १४ करोड ५९ लाख पाँच हजार ११४ सङ्कलन भएको जनाएको छ ।
राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आवको असोज मसान्तसम्म सम्पत्ति कर रु सात करोड १६ लाख ९६ हजार सङ्कलन भएको बताए । उनले गत आवमा सम्पत्ति कर सात करोड ४३ लाख ४२ हजार सङ्कलन भएको जानकारी गराए ।
यसैगरी, भूमि/मालपोत कर ३६ लाख ९५ हजार ३७६, घर बहालकर एक करोड ६८ लाख ४६ हजार ९३८, बहाल बिटौरी कर एक लाख दुई हजार, सवारीसाधन कर तीन लाख १३ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर २७ हजार, बाँडफाँड प्राप्त हुने विज्ञापन कर ५६ हजार २५०, अन्य मनोरञ्जन कर दुई लाख ३० हजार ८५६, व्यवसाय रजिस्टे«शन दस्तुर ९५ लाख ८९ हजार २०२, अखेटोपहारमा लाग्ने कर ८२ लाख ३५ हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय २५ लाख ३५ हजार ४१५, निजी धाराबापतको शुल्क आठ हजार ५२०, अन्य सेवा शुल्क एक करोड १५ लाख ४८ हजार ७६९, अन्य प्रशासनिक सेवा शुल्क १२ लाख ८० हजार २७०, नक्शापास दस्तुर ७९ लाख ४७ हजार १३, सिफारिश दस्तुर ४८ लाख ६२ हजार ५५९, व्यक्तिगत घटना दर्ता दस्तुर छ लाख ३८ हजार ४१२, नाता प्रमाणित दस्तुर चार लाख ५१ हजार ३४०, अन्य दस्तुर ४५ हजार ८३०, प्रशासनिक दण्ड जरिवाना र जफत १३ लाख ७३ हजार ३२४, धरौटी जफत ४० लाख, बेरुजू चार लाख ३१ हजार ९० गरी चालू आवमा १४ करोड ५९ लाख ५११४ सङ्कलन भएको उनले बताए ।