दिनेस मिश्र, वीरगंज, ११ भदौ/
धोबिनी गाउँपालिका–१ घोडदौरपिपरास्थित वडा कार्यालयमा भदौ ९ गते आइतवारदेखि तालाबन्दी छ ।
वडाध्यक्ष बन्धुसाह तेली र वडासचिव अशोक राउत कुर्मीबीचको विवादमा स्थानीयलगायत वडाध्यक्ष तेलीले तालाबन्दी गराएको आरोप छ । वडाध्यक्ष तेलीले वडासचिव कुर्मी कार्यालयमा नियमित नआउने र सेवाग्राहीले आफूलाई कुरा सुनाउने गरेको आरोप लगाएका छन् । उनले वडासचिवको यस प्रकारको गतिविधि सुधारका लागि आफूले सुझाएको तर नमानेका कारण अहिले बोलचाल बन्द भएको बताए । वडासचिव कुर्मीसँग आफ्नो बोलचाल नरहे पनि विभिन्न माध्यमबाट यसका बारेमा जानकारी पाए पनि सचिव कुर्मीले समयमा आएर सेवाग्राहीहरूको काम नगरेको र आलटाल गरेकाले यस्ता समस्या देखिएको वडाध्यक्ष तेलीले बताए ।
वडासचिव कुर्मीले आफू नियमितरूपमा कार्यालयमा आउने गरेको तर विभिन्न बहानामा वडाध्यक्षले हेप्ने गरेको बताए । उनले आफूलाई बदनाम गर्नकै लागि वडाध्यक्षले आफ्नो मानिस लगाएर वडा कार्यालयमा तालाबन्दी गराएको आरोप लगाए । गापाध्यक्ष मदन चौहानले वडा कार्यालयमा भएको तालाबन्दीबारेमा आफूसमक्ष कुरा आएको र दुवैलाई मिलाएर ताला खोल्ने प्रयास गरिरहेको बताए । उनले दुवैजना घटनाका दोषी भएको बताए ।
आइतवारदेखि वडा कार्यालयमा तालाबन्दी भएपछि सेवाग्राहीहरूलाई भने अहिले सेवा लिन समस्या भएको छ ।