प्रस, वीरगंज, ११ भदौ/
आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले नेपाली काङ्ग्रेस र नेकपा एमालेको दुई दलीय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् ।
काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवारदेखि शुरू भएको आजपाको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले दुई दलीय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।
उनले विचार, सिद्धान्त केही पनि नमिल्ने काङ्ग्रेस र एमालेले गठबन्धन गरेको चर्चा गर्दै निर्वाचनमा दुई छुट्टाछुट्टै गठबन्धन गरेर जनतासँग मत मागेका तर सत्तास्वार्थले एक भएर अहिले भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाए । उनले भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको दुई दलीय ठगबन्धन भएको आरोप लगाए ।
गिरी बन्धु टी–स्टेट, वाइडबडी, यती, ओम्नी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रङ्कलाइनदेखि टेरामक्सलगायतका काण्डैकाण्डले बदनाम सरकारका प्रधानमन्त्रीले यो सरकारले दालभात मात्रै खान्छ, घूस खाँदैन भन्नु हास्यास्पद अभिव्यक्ति भएको कटाक्ष गरे । उनले गौरा पर्वमा टुडिखेलमा जनताले नेताहरूविरुद्ध गरेको नाराबाजीलाई नैतिकता नभएको भनेर भन्ने अधिकार नेताहरूलाई नभएको टिप्पणी गरे ।
दुई दलीय गठबन्धनको सरकारले संविधान संशोधनका लागि गठबन्धन भएको बताउनु लज्जास्पद भएको टिप्पणी गर्दै अध्यक्ष साहले आफैंले बनाएको संविधान कार्यान्वयन नहुँदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासँग माफी माग्नुपर्ने जिकिर गरे । आफैंले उत्कृष्ट संविधान बनाएको भन्दै गर्व गर्ने नेताहरूले अहिले आएर संशोधन गर्ने कुरा गर्दा लज्जास्पद अभिव्यक्ति भएको भन्दै उनले जनतासँग पहिला माफी माग्नुपर्ने अनि संविधान खारेज गर्नुपर्ने बताए ।
उनले देशमा भ्रष्टाचार बढेको, महँगीले आकाश छोएको, सरकारले मनपर्दाे तरीकाबाट कर असुलिरहेको, देशमा लुटतन्त्र बढेको अवस्थामा समृद्धिको सपना देख्न नसकिने भन्दै यी सबै बेथितिविरुद्ध आम जनताको शासन व्यवस्था कायम गर्नका लागि तेस्रो जनान्दोलनको आवश्यकता रहेको बताए ।
दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय गर्नेबारेमा गम्भीर छलफल हुने उनले प्रस्ट्याए ।
महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गरे । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउने योजनासहित अगाडि बढ्ने बताए । प्रवक्ता चन्द्रभूषण साहले विद्यार्थीको अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउन नसकेको बताए ।
तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतका आन्दोलनको समीक्षा गर्दै अगाडि बढ्नेबारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारसमेत सोही अनुसार आन्दोलन कार्यविभाजन समेत हुने स्थायी कमिटीका सदस्य रवीन्द्र सिंहले बताए ।