धर्मेन्द्र चौरसिया, पोखरिया, ११ भदौ/
पोखरिया नगरपालिकाका दलित बालबालिकाहरूको सामुदायिक विद्यालयमा ९५ प्रतिशत सहभागिता छ ।
पोखरिया नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख विजय झाले नगरपालिकाका दलितहरूको सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयमा पनि पहुँच रहेको बताए ।
उनले पालिकाका अधिकांश दलित रोजगारमा संलग्न रहेकाले नपाका दलितहरूको पहुँच सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयमा पनि रहेको बताए ।
पोखरिया नपाका १ देखि १० वडा क्रमशः वनकटवा, लमरिया दमरापुर, वसन्तपुर, पोखरिया, सतवरिया, श्रीसिया, गोविन्दपुर, जगतपुर, शिवबर्वा बरैया, शिवबर्वामा पासवान, चमार, डोम, तत्वा, मुखियाबिनको बसोबास छ ।
यिनीहरू पोखरिया नगरपालिका कार्यालय, वडा कार्यालय, कृषि, स्वास्थ्य, बैंक, विद्यालय, अस्पताल आदिमा सफाइकर्मी, कार्यालय सहायकमा कार्यरत छन् । करार र दैनिक ज्यालादारीमा बढी र थोरै मात्र स्थायी कर्मचारीमा छन् । पोखरिया जिल्ला अस्पतालमा एकजना दलित समुदायबाट अनमीमा कार्यरत छिन् ।
सो अस्पतालका सफाईकर्मी र कार्यालय सहायकमा पनि धेरैजसो दलित छन् । पोखरिया नपामा रहेका दलितहरूमध्ये ९८ प्रतिशत जागीरे रहेका छन् । यही कारणले यहाँका दलितहरूको पहुँच शिक्षामा बढेको छ । सञ्जय राउत डोमका दुईजना छोरा छन् र दुवैजना संस्थागत विद्यालयमा पढ्छन् । मदन राउत डोमका पाँचजना नातिनातिनीहरू पनि संस्थागत विद्यालयमा अध्ययन गर्छन् ।
यहाँका १० वटै वडामा दलित समुदायको बसोबास छ तर सबैभन्दा बढी वडा नं ४ पोखरिया र वडा नं ५ सतवरियामा दलित समुदाय बस्दै आएका छन् ।