नेपाल विशाल दुई छिमेकी मुलुक चीन र भारतबीच रहेको भूपरिवेष्ठित देश हो । समृद्ध प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका बाबजूद नेपालले दशकौंदेखि आर्थिक रूपान्तरणका लागि सङ्घर्ष गरिरहेको छ । राजनीतिक अस्थिरता, सीमित उद्योगीकरण, भौगोलिक चुनौतीलगायत विभिन्न कारणले मुलुकको अर्थतन्त्र सबल हुन सकेको छैन । हुनत नेपाल आफैंमा प्रकृति पर्यावरण, संस्कृति पर्यटन, जलविद्युत्, कृषिमा सबल देश हो । हाम्रो जनसङ्ख्या र भूगोलको संयोजन मिलेको छ । जनसङ्ख्या भूगोल अनुसार धेरै नभएको हिसाबले हामीले चाह्यौं भने कृषि, फलपूmल तथा दूध, माछा मासुमा सजिलै आत्मनिर्भर हुन सक्छौं । तर, हामीसँग नभएको जाँगर र आत्मविश्वास हो । हामी विदेशमा पैसाका बोट देख्छौं, खुशी देख्छौं, सम्पन्नता देख्छौं तर आप्mनै स्वच्छ हावापानी भएको मुलुकमा केही देख्दैनौं । आप्mनो देशमा काम र श्रम गर्न हामीलाई लाज लाग्छ । परदेशमा दुई–चार डलरमा थाल–प्लेट टिप्न, बाथरूम सफा गर्न ड्युटी गरेको मान्छौं । त्यसैले हो, हामी पछि परेको । वास्तवमा नेपाल उज्ज्वल आर्थिक, सामाजिक भविष्यको शिरमा छ । त्यसैले नेपालको आर्थिक रूपान्तरणका लागि निम्नलिखित क्षेत्रमा विशेष जोड दिनुपर्छ ।
पर्यटन : नेपाल विश्वकै एउटा सुन्दर प्राकृतिक देश हो । पर्यटकीय हिसाबले नेपाल विश्वका प्रमुख १० गन्तव्यभित्र पर्छ । विश्वका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ अग्ला हिमशृङ्खला नेपालमंै छन् । आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पर्वत नेपालमैं छ । विश्वमै दुर्लभ मानिने ७५० भन्दा बढी प्रजातिका पक्षी, दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडा हेर्न यहीं आउनुपर्छ । सयौं भाषा, भेष र संस्कृति यहीं छन् । फरक–फरक जलवायु पनि यहीं छ । अर्थात् नेपालमा अथाह पर्यटकीय सम्भावना छ । नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै प्रवद्र्धन गर्ने र आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लैजाने हो भने समृद्धिको ढोका सहजै खुल्ने र विदेशी मुद्राको दुःख पनि नहुने अनुमान गरिएको छ । पर्यटन क्षेत्रकन लागि विश्वमा हाल ४०० बिलियन डलर लगानी भइसकेको छ । त्यसमा आधा खर्च चीन र अमेरिकाले गरेको बताइन्छ । लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोड बढी पर्यटक भित्रिन थालिसकेका छन् । त्यस्तै भारतमा करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगार पाएका छन् । राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको छ । पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर नेपालमा पनि होटल क्षेत्रमा ठूलो लगानी भइरहेको छ । होटल तथा पर्यटन पूर्वाधारमा भइरहेको लगानी विस्तारले नेपालमा पर्यटन क्षेत्रबाट समृद्धिको उज्यालो देखिन थालेको छ ।
जलविद्युत् : नेपालको समृद्धिको लागि सबैभन्दा ठूलो आधारशिला जलविद्युत् हो । विशेषगरी पछिल्ला दशकमा जलविद्युत् उत्पादनमा नेपालले धेरै प्रयत्न गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि जलविद्युत् कम्पनीहरूमा ठूलो लगानी गरिरहेका छन् । धेरैजसो वैदेशिक लगानी जलविद्युत् क्षेत्रमैं केन्द्रित छ । अबको १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन हुने आधार तयार भएको ऊर्जा मन्त्रालयको ठहर छ । हाल २८ सय मेगावाट बिजुली उत्पादन गरिरहँदा देशले वार्षिक १६ अर्बको बिजुली निर्यात गर्न थालिसकेको छ । करीब ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको नेपालका नदीनालाबाट अब एक दशकभित्र कम्तीमा १२/१५ हजार मेगावाट उत्पादन गर्न सकिने विज्ञको भनाइ छ । निर्माणाधीन केही आयोजनाहरू सम्पन्न हुने क्रममा छन् । सयौं आयोजना निर्माणको क्रममा छन् । कम्तीमा एक दशकबीच १५ हजार मेगावाट बिजुली मात्रै उत्पादन हुँदा पनि नेपालको अहिलेको ४०–४२ अर्ब डलरको जिडिपीलाई ठ्याक्कै दोब्बर अर्थात् ८०–८५ अर्ब डलरको बनाउन सकिन्छ ।
सरकारले भारतसँग आगामी १० वर्षमा दश हजार मेगावाट बिजुली लैजाने गरी दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी प्रारम्भिक सम्झौता गरिसकेको छ । भारतले हालसम्म ठूला र साना आयोजना गरी ५२ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र उसको जलविद्युत् उत्पादनको अरू विकल्प नगण्य रहेको बताइन्छ । त्यसकारण पनि भारत अबका दिनमा बिजुलीमा नेपाल निर्भर रहनुपर्ने देखिन्छ । यसैगरी चीनले पनि नेपालसँग विद्युत् खरीद गर्ने सङ्केत दिइसकेको छ । बङ्गलादेशसँग सन् २०४० सम्म १० हजार मेगावाट बिजुली बिक्री गर्ने गरी कुरा अघि बढिसकेको छ । यसरी नेपालको बिजुलीको बजार उज्ज्वल छ । त्यसैले निर्माणाधीन आयोजनाहरूलाई शीघ्र सम्पन्न गरी विद्युत् उत्पादन, प्रसारण लाइन विस्तार आदिका लागि आवश्यक लगानीको जोहो गर्नु जरुरी छ ।
सूचना प्रविधि : आगामी आर्थिक वर्ष (२०८१/०८२) लाई नेपाल सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्ष मान्दै सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई फेलोसिप र इन्टर्नसिपका सामान्य कार्यक्रमदेखि अत्याधुनिक आइटी हब निर्माण, ई–गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवालाई मुहाररहित, कागजरहित, सम्पर्करहित बनाउनेजस्ता महŒवाकाङ्क्षी कार्यक्रम ल्याएको छ । सन् २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकसमेत घोषणा गर्ने भनिएको छ । सरकारले कृषि, ऊर्जा, पर्यटन, उद्यमशीलता र औद्योगिक विकाससँगै सूचना प्रविधिलाई पनि आर्थिक रूपान्तरण ल्याउन सघाउने क्षेत्रका रूपमा औंल्याएको छ । सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगार सिर्जना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको हो । सूचना प्रविधि उद्योगले आप्mनो नाफा पूँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था मिलाएको छ । व्यवसायको क्षमता विस्तारका लागि पूँजी वृद्धि गरेको अवस्थामा परिवर्तनका उचित कारण देखाएमा लाग्ने करमा सहुलियत दिने तथा व्यावसायिक वातावरण सुधारका लागि सरकारले अघि सारेको कन्ट्री रेटिङ, द्विपक्षीय लगानी र दोहोरो करमुक्ति सम्झौता, प्रविधि हस्तान्तरणबापत विदेशमा लैजान पाउने सेवा शुल्कको सीमा वृद्धि र ससानो पूँजी सङ्कलन गरी उद्यम तथा पूर्वाधार विकासमा लगानी गर्ने कम्पनी स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विषयलाई समेत चालू आर्थिक वर्षको बजेटमा समावेश गरेको छ ।
कृषि आधुनिकीकरण : नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २३.९५ प्रतिशत योगदान गरेको देखिन्छ । अन्य क्षेत्रहरूको तुलनामा यस क्षेत्रले रेमिट्यान्स पछि सबैभन्दा बढी योगदान दिने गरेको तथ्याङ्क छ । कृषिमा आश्रित जनसङ्ख्या घटेर ५० प्रतिशतमा आइपुग्दा कुनै बेला कुल गार्हस्थ्य उत्पादनमा ५० प्रतिशतसम्म योगदान राख्ने कृषि क्षेत्रको योगदान अहिले खुम्चिएको हो । विगत केही वर्षदेखि नेपाल कृषिमा परनिर्भर बन्दा वार्षिक करीब ४ खर्बको कृषिजन्य वस्तु आयात हुन थालेको छ । उता आधाभन्दा बढी कृषियोग्य जमीन बाँझो रहेको अवस्था पनि छ । सरकारले कृषिमा लगानी बढाएर कृषियोग्य सबै जमीनमा खेती गर्ने व्यवस्था गर्ने हो भने कृषिमा देश आत्मनिर्भर हुन सक्छ । यसले विदेश गइरहेको पैसा रोकिन्छ र मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्छ । नेपालको औद्योगिक उत्पादन, पानी, औषधि, जडीबुटी तथा बहुमूल्य हिमाली वस्तुहरूको विदेशी बजार भारत तथा चीन नै हुन् । दुवै नेपालका मित्र राष्ट पनि हुन् । तर, नेपालमा कृषिमा आधारित, जल तथा जडीबुटीमा आधारित उद्यमी जन्माउन जरुरी छ । त्यसमा लगानी बढाउन जरुरी छ । बजारको दृष्टिकोणले पनि नेपाल समृद्धिकै छेउछाउ छ । आप्mनो सबलता र सम्भावना आफैंले केलाएर अघि बढ्न जरुरी छ । विकास र समृद्धि, अवसर र खुशीहरू विदेशमा मात्रै छैन, नेपालमा पनि छ । यसको सदुपयोग हामीले गर्नुपर्दछ । अनि मात्र नेपाल सबल आर्थिक समृद्धिको बाटोमा लाग्न सक्छ । देशमा बढ्दो प्रविधिको अवलम्बन, सुधारिएको सिंचाइ प्रणाली र बजारमा पहुँचमार्फत कृषिको आधुनिकीकरणले किसानको उत्पादकत्व र आम्दानी बढाउन सक्छ । जुन कृषि व्यवसाय प्रवद्र्धन र कृषि उत्पादनको मूल्य अभिवृद्धि प्रशोधनले रोजगार सिर्जना गर्न र निर्यात बढाएर व्यापार घाटा कम गर्न सक्छ ।
पूर्वाधार विकास : मुलुकमा सडक, पुल, विमानस्थल र सञ्चार सञ्जाललगायत पूर्वाधारमा लगानी आर्थिक वृद्धिका लागि महŒवपूर्ण हुन्छ । सुधारिएको पूर्वाधारले व्यापारलाई सहज बनाउँछ, दुर्गम क्षेत्रहरूलाई बजारसँग जोड्छ र लगानी आकर्षित गर्छ । जसले गर्दा सार्वजनिक–निजी साझेदारी र वैदेशिक लगानीले पूर्वाधार विकासलाई तीव्र गति दिन महŒवपूर्ण भूमिका खेल्न सक्छ ।
राजनीतिक स्थिरता र सुशासन ः कुनै पनि मुलुकमा राजनीतिक स्थायित्व र प्रभावकारी सुशासन सुनिश्चित गर्नु आर्थिक वृद्धिका लागि आधारभूत पक्ष हो । मुलुकमा लोकतान्त्रिक संस्थाको सुदृढीकरण, आर्थिक मामिलामा राजनीतिक हस्तक्षेप घटाउने, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धनले लगानी र विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न सक्छ ।
स्वदेशमैं रोजगार सिर्जना : युवाको जोश, जाँगर र नयाँ विचारलाई उत्पादनमूलक आर्थिक क्रियाकलापमा लगाउँदा अर्थतन्त्र समुन्नतितर्फ लम्कन्छ । युवामा अथाह साहस, जोश, जाँगर र क्षमता छ, जुन नेपालका सन्दर्भमा दिनानुदिन खेर गइरहेको छ । उनीहरू भोलिका कर्णधार मात्र होइनन्, आजका आर्थिक सामाजिक परिचालक पनि हुन् । त्यसैले युवाको ऊर्जालाई मुलुकको अर्थतन्त्र सुधारमा लगाउनु अहिलेको आवश्यकता हो । विकास पूर्वाधारको निर्माण र उपयुक्त आर्थिक नीतिमार्फत लगानी र श्रम गर्नेलाई उत्साहित गर्नु राज्यको प्रमुख दायित्व हो । १५ देखि ६५ सम्मको उमेर समूहलाई कामकाजी वा आर्थिकरूपले सक्रिय जनशक्ति मानिन्छ । यिनै सक्रिय जनशक्तिलाई उत्पादनमा लगाउन सके मुलुकको विकास र समृद्धिका लागि धेरै समय पर्खनुपर्दैन । यसका लागि राज्यले उत्पादनलाई प्रोत्साहन गर्ने र बजार व्यवस्थापनमा सहयोग गर्नैपर्छ ।
समग्रमा युवा समुदायको अत्यधिक प्रतिनिधित्व हुनेगरी आर्थिक समृद्धि तथा विकासको रणनीतिलाई व्यावहारिक रूपमा लागू गर्नुपर्दछ । यसले विकासोन्मुख मुलुकको पङ्क्तिबाट नेपाललाई क्रमशः विकासशील तथा विकसित मुलुकको यात्रा तय गर्न सहज हुन्छ । हुनत युवा समुदाय यस्तो सिर्जनशील समूह हो, जसको लगनशीलताबाट प्राप्त विकासले छोटो समयमैं सकारात्मक परिणाम दिन्छ । पूँजी नभएर देश विकसित नभएको होइन, भएको पूँजीको उचित व्यवस्थापन, उत्पादनमुखी क्षेत्रमा लगानी र मुलुकमैं रोजगार सिर्जना गर्न नसकेर हो । त्यसैले विप्रेषणमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्दै लैजानुपर्दछ जसले विदेशी हस्तक्षेपमा न्यूनीकरण भई परनिर्भरता अन्त्य हुँदै आत्मसम्मानको प्रत्याभूतिका साथै मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको विकास हुन्छ । यो नै वर्तमान सरकारको आर्थिक रूपान्तरणको मार्गचित्र हुनुपर्छ ।