♦सिर्जना बस्नेत
प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरूले मनाइरहेका छन् । विश्वका १२० भन्दा बढी देशमा स्तनपान सप्ताहलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ देखि ७ अगस्त २०२४) सम्म विश्व स्तनपान सप्ताह मनाइँदैछ ।

वल्र्ड अलायन्स फर ब्रेस्ट फिडिङ एक्सन, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले एकसाथ जीवनको पहिलो छ महीनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापीरूपमा मनाउने गरेको छ । यो उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूबीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । यस वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ रहेबाट पनि स्तनपानमा सबैको सहयोग र सहभागिताको आवश्यकतालाई प्रस्ट गर्छ ।

सरकारी कार्यालयको मुख्य प्रवेशद्वारमा नै ‘विश्व स्तनपान सप्ताह’ लेखिएको ब्यानर झुन्डिएका छन् । त्यही सरकारी कार्यालयमा सेवा लिन पुगेकी महिलाले काखमा बोकेको दूधे बालकलाई दूध चुसाउन कति सहज वातावरणको व्यवस्थापन गरेका छौं भन्ने चाहिं कहिल्यै बहसको विषय बनेको पाइँदैन । म स्वयम् स्तनपान गराउने आमा भएका कारण पनि आमाहरूले आफ्ना बच्चाहरूलाई स्तनपान गराउन भोग्नुपरेको सास्तीहरूको नमीठा घटनाहरूको स्वाद चाखेको छु । म जस्ता धेरै आमाले आफ्ना सन्तानलाई चाहेर पनि स्तनपान गराउन पाइरहेका छैनन् ।


केही दिन अघि काखमा नौ महीने छोरी च्यापेर राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा लाइनमा उभिएकी एक महिलाको दुवै स्तनबाट दूध बगेर कुर्ता भिजेको प्रस्ट देखिएको थियो । लाइनमा महिलाहरूको भन्दा पुरुषहरूको सङ्ख्या धेरै थियो । उनले बच्चालाई दूध चुसाउन अप्ठ्यारो महसूस गरिरहेकी थिइन् । नजीकै कतै पनि बच्चालाई दूध चुसाउन मिल्ने गोप्य कोठाको व्यवस्था थिएन ।

एकातिर आमाको दूध गानिएर कुर्ता भिजेको थियो भने अर्कोतिर दूधे बालकको घाँटी सुकेर रोइरहेको थियो । लाइनमा उभिएकी महिलाको बच्चा हेरचाह गर्न साथी आएकी अर्की बहिनीले बट्टाको दूध बच्चालाई खुवाउँदै गर्दा आफूले ओढेको सलको फेरले उनले भिजेका स्तन छोपेर उनी लाइनबाटै काखे बच्चाले बोतलमा दूध पिएको हेरिरहिन् ।

यस्तै, अर्काे घटनाले पनि मलाई निकै असजिलो बनायो । १८ महीने छोरालाई साथमा लिएर नगरपालिकामा जग्गाको तिरो तिर्न आएकी एक महिलालाई उसको छोराले कुर्ताको फेर तानेर लाइनबाट बाहिर निस्कन कर गर्दै थियो । १८ महीने बालकलाई सायद आमाले सिकाएकी थिइन् होला मान्छेहरूको अगाडि दूध खान हुँदैन भनेर । बारम्बार छोरालाई सम्झाउँदा सम्झाउँदै पनि बालक मानिरहेको थिएन ।

बालकको जिद्दी र रुवाइको अगाडि ती महिलाको केही लागेन । उनी लाइनबाट बाहिर निस्किएर धेरैबेर यताउता आँखा डुलाइन् । जति आँखा डुलाए पनि उनले बालकलाई दूध चुसाउने गोप्य कोठा वा ठाउँ फेला पार्न सकिनन् । गर्मीको समय अनि बालकको रुवाइले झर्किएर उनले गेटमा टाँगिएको ‘विश्व स्तनपान सप्ताह’ ब्यानरको पछाडिपट्टि छेकिएर बालकलाई दूध चुसाइन् ।

यस्ता प्रतिनिधि घटनाहरू दैनिक आँखाकै अगाडि ठोक्किन आउने पात्रहरूका बाध्यताहरू हुन् । सरकारी कार्यालय, सार्वजनिक जमघट हुने स्थान, पार्क, विद्यालय, होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा समेत स्तनपान कक्षको छुट्टै व्यवस्था नहुँदा दूधे बालकमा आमाहरू बच्चालाई दूध चुसाउन असहज महसूस गर्छन् । ग्राहकको रुचि र मागलाई ध्यानमा राखेर होटलहरूमा धुम्रपान कक्षको व्यवस्था गर्न ध्यान पुग्ने होटल सञ्चालकहरूले पनि बच्चाका आमा पनि ग्राहक हुन्छन् अनि बच्चालाई दूध चुसाउने गोप्य कोठाको व्यवस्था गर्नुपर्छ भन्नेमा ध्यान पुगेको छैन ।

कानूनमा स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरिएको छ भने आवश्यक परेमा चिकित्सकको रायसल्लाह अनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरिएको छ । ऐनमा सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

त्यस्तै, हरेक कार्यालय, विद्यालय, बसबिसौनी र विमानस्थल जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ । किशोरावस्थामा छातीमा स्तनको आकार आएदेखि नै सल वा पछ्यौराले छोपेर हिंड्न सिकेका हुन्छौं । विवाहपछि बच्चालाई खुलारूपमा धेरैजनाको अगाडि नै स्तनपान गराउन लाज र सङ्कोचले गर्दा असहज मान्नु स्वाभाविक नै हो । स्तन भनेको महिलाको गोप्य अङ्ग नै मानिएको छ । गोप्य अङ्ग सार्वजनिक ठाउँमा देखाउनु लाजको विषय हो । गर्भवतीले गर्भधारण गरेदेखि नै बच्चालाई स्तनपान गराउने सपना देख्न थालिसकेकी हुन्छिन् । स्तनपान नवजात शिशुको लागि अमृत जत्तिकै हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्र नै प्रारम्भिक स्तनपान गराइन्छ । प्रारम्भिक स्तनपानमा सुत्केरी भएको एक घण्टाभित्रको बाक्लो बिगौती दूध खुवाउँदा बच्चाको शरीरमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुन ठूलो योगदान पुग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

त्यसैगरी, बच्चा जन्मेदेखि छ महीनासम्म आमाको दूध मात्र खुवाउनु पूर्ण स्तनपानको सूचकका रूपमा लिन सकिन्छ । छ महीनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तŒव आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरू गरिसक्नुपर्ने र २४ घण्टामा आठदेखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरू बताउँछन् । शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको बौद्धिक र शारीरिक विकास चाँडो हुने र स्वस्थ रहन्छन् ।

विशेषगरी कामकाजी महिलाहरूले बच्चालाई पूर्ण स्तनपान गराउन नसक्नु अहिलेको मुख्य समस्या हुन पुगेको छ । सुत्केरी बिदा सकिएर कार्यालय फर्किंदा उनको अगाडि कामको थुप्रो थुपारिएको हुन्छ । दिनको एक घण्टा बच्चालाई भेट्ने समय निकाल्न महिला कर्मचारीका लागि निकै मुश्किलको विषय बनेको छ । कार्यालयमा पुरुष कर्मचारीको सङ्ख्याभन्दा महिला कर्मचारीको सङ्ख्या धेरै भएपनि महीनावारी हुँदा, गर्भवती हुँदा वा सुत्केरी भइसकेर बच्चालाई दूध चुसाउने छुट्टै कोठाको व्यवस्था नहुँदा कामकाजी महिलाले बच्चालाई पूर्ण स्तनपान गराउन सकेका छैनन् ।
सुत्केरी बिदा सकेर कार्यालय फर्किएदेखि नै बट्टाको तयारी दूध खुवाएर बच्चाको पेट भर्नुपर्ने कामकाजी महिलाको बाध्यता रहेको छ । सुत्केरी बिदा बस्दा घरमा सहजरूपमा स्तनपान गराए पनि कामकाजी महिलाले कार्यालयमा स्तनपान कक्ष वा बच्चा स्याहार कोठाको छुट्टै व्यवस्था भएको पाइँदैन । दूध चुसाउने आमाहरू बच्चा लिएर यात्रामा होस् वा अन्य कुनै कामको सिलसिलामा घर बाहिर निस्कन प¥यो भने स्तनपान गराउने गोप्य कोठाको अभावमा बच्चालाई बोतलको दूध चुसाउन बाध्य हुन्छिन् ।

कार्यालयमा स्तपान कक्ष तथा शिशु स्याहार कक्षको व्यवस्था हुने भए हेरालु राखेर भएपनि कामकाजी महिलाले समयसमयमा बच्चालाई स्तनपान गराउन सक्नेछन् । सार्वजनिक स्थान, सरकारी कार्यालय, विद्यालय, होटल तथा रेस्टुरेन्टहरूमा पनि स्तनपान कक्षको व्यवस्था हुने हो भने दूधे बालककी आमाले निर्धक्क दूध चुसाउन सक्ने थिइन् । अहिलेका नाबालक शिशुहरूले आमाको पूर्ण स्तनपान गर्न नपाए शारीरिक तथा मानसिक रोगको शिकार हुन सक्ने जोखिम हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरूका कारण आमाहरूले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ । पछिल्लो समय शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको चाँडो विकास हुने भ्रमले कतिपय महिलाहरूले शिशुलाई स्तनपान नगराइ वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढ्न गएको चिकित्सकहरूको भनाइ छ । यस्ता गलत विचारहरूको अन्त्यका लागि पनि दिवस, सप्ताहहरूको सान्दर्भिकता देखाउँछ । प्रत्येक वर्ष उत्सवका रूपमा ‘विश्व स्तनपान सप्ताह’ मनाउनुको मर्म त्यति बेला पूरा हुनेछ, जतिबेला एउटी आमाले विनासङ्कोच आफ्नो सन्तानलाई सार्वजनिक ठाउँहरूमा छुट्टै कोठामा बसेर स्तनपान गराउन सक्नेछिन् । सरकारी वा निजी कार्यालयको ढोकामा टाँगिएको ब्यानरले मात्रै कुनै अर्थ राख्दैन ।

(लेखक बालस्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील छन् । रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here