दिगो विकास र आर्थिक क्रियाकलापविना कुनै पनि मुलुकको अर्थतन्त्र उकास्न सम्भव छैन। त्यसैले समाजको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता महत्वपूर्ण पक्ष मानिन्छ। हुनत समाज आफैंमा एक बहुआयामिक विषय हो। जसमा आर्थिक, सांस्कृतिक, राजनीतिक भौतिक र नैतिकरूपमा गाँसिएका हुन्छन्। हाम्रोजस्तो विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्धिका लागि यो अझ बढी महत्वपूर्ण र प्रमुख प्राथमिकताको विषय भएका छन्। नवीनतम व्यवसायको तयारी गर्ने, व्यवसायको स्थापना गर्ने, त्यसको अनुसन्धान गर्ने, सञ्चालनका लागि तीव्र इच्छाशक्ति र सृजनशीलताको क्षमता हुनु नै उद्यमशीलता हो। उद्यमशीलता उत्पादनको साधन पनि हो। उद्यमशीलता संस्कृतिको विकासले नागरिकलाई पेशा व्यवसायप्रति आकर्षित गराइ जोखिम वहन गर्न र सिर्जनशील कार्यलाई आर्थिक क्रियाकलापसँग आबद्ध गर्न मदत गर्छ। त्यसैले मुलुकको विकास र समृद्धिका लागि स्थानीयस्तरदेखि नै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगार सिर्जना गरी अर्थतन्त्रलाई गतिशीलता दिन उद्यमशीलताको विकास गर्नु आजको आवश्यकता हो।
जनसङ्ख्याको हिसाबले नेपालमा झन्डै एक तिहाइ युवा रहेको छ। रोजगारका पर्याप्त अवसर सिर्जना गर्न नसकेका कारण मुलुकमा युवा बेरोजगारीको सङ्ख्या बढ्दै गएको छ। नेपालमा हरेक वर्ष करीब पाँच लाख युवा जनशक्ति श्रम बजारमा आउने गरेको तथ्याङ्क छ। तीमध्ये करीब १० प्रतिशतले मात्र औपचारिक क्षेत्रमा रोजगारका अवसर पाउँछन्। रोजगारमा लागेकामध्ये पनि श्रमको गुणात्मक पक्ष थप चुनौतीपूर्ण छ। यो आँकडालाई मध्यनजर गर्ने हो भने हरेक वर्ष करीब साढे चार लाख युवा बेरोजगारको सङ्ख्या बढ्दै गएको देखिन्छ। यो सङ्ख्यालाई उद्यमशीलतामा नलाने हो भने सरकारले लिएको ‘सुखी नेपाली, समृद्धि नेपाल’को नारा केवल कागजमा मात्र सीमित रहन्छ। विश्वव्यापीरूपमा महामारीको रूपमा देखिएको कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रोजगारका लागि गएका युवादेखि शहर बजारमा पढेर बढेका कैयौं युवा जन्मथलो फर्केका छन्। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको अवधिमा आफ्नो जमीनसँग एकाकार हुने मौका पाएका छन्। त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावर, साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहन गरिनु अपरिहार्य भएको छ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ, जसलाई सरकारले बुझेर त्यही अनुसारको योजना अगाडि सार्न सक्नुपर्छ। व्यापारघाटा र आर्थिक मन्दीले मुलुकको अर्थतन्त्र नै चौपट हुनबाट रोक्न सरकारले पहलकदमी लिनुपर्छ। वैदेशिक व्यापारको क्रममा विश्वका करीब ११५ भन्दा बढी मुलुकसँग नेपालले वस्तु आयात तथा निर्यात गर्दै आएको छ। यस प्रकारको आँकडा भएपनि झन्डै ६८ मुलुकमा मात्र नेपाली वस्तु निर्यात हुँदै आएका छन्। बजारलाई नजीकबाट नियाल्ने हो भने यसको अवस्था दिन प्रतिदिन गिर्दो छ। बजार अनुगमन र मूल्य समायोजन हुन नसक्दा उपभोक्ता पीडित छन्। नयाँ प्रविधि नयाँ तौरतरीकाको अभावले जति लागतमा जति उत्पादन हुनुपर्ने हो, त्योभन्दा कैयौं गुणा बढी लागत लगाउनुपर्ने भएकाले उत्पादनमा लागत बढ्दै छ। मूल्यको तुलनाले पनि विदेशी उत्पादनसित नेपालमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न मुश्किल पर्छ र निर्यातमा कमी आउँछ। विदेशी बजारको मागलाई पहिचान गरी सोहीबमोजिम उत्पादन गर्न र बजार विस्तार गर्न सकेको देखिंदैन। त्यसैगरी, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि पनि आवश्यक हुन्छ। यसका निम्ति राज्य पक्ष र नेपाली उद्यमी दुवैले जाँगर देखाउनुपर्छ। उत्पादित वस्तु र सेवाको व्यापार दिगो र दीर्घकालीन हुनुपर्छ। तबमात्र निर्यात हुने वस्तुले उचित बजार पाउँछ अनि प्रतिस्पर्धात्मक हुन पनि सघाउँछ।
नेपालले आफनो दिगो विकास र उन्नत आर्थिक समृद्धिका लागि आयातभन्दा निर्यात बढी बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो, यसका लागि उद्योग कलकारखानामा लगानी बढाउनुपर्छ। निर्यातको कुरा गर्दा वैदेशिक बजारमा नेपालको तयारी वस्तु र गलैंचा तथा तयारी पोशाकको ठूलो माग रहेको छ। यसका अलावा छालाबाट बनेका सामग्री जस्तै ः जुत्ता, झोला, पन्जा आदि तथा जुट र हस्तकलाका सामग्री, चिया, घ्यू, अनि नेपाली कागजको पनि उत्तिकै सम्भावना रहेको अर्थ क्षेत्रका जानकारहरूले बताउँदै आएका छन्। यसर्थ यस्ता वस्तु उत्पादन र निकासीमा नेपालले उत्पादकलाई सही सहुलियतमा ऋण उपलब्ध गराउने, उत्पादन गर्न प्रोत्साहन गर्ने जस्ता काम गर्न सके वैदेशिक व्यापार उँभो लाग्न सक्छ। अहिले नेपालबाट निर्यात हुने सामानको गुणस्तरका सम्बन्धमा बेलाबखत प्रश्न उठ्ने गरेको छ। विश्व बजारमा ठूलो प्रतिस्पर्धा छ। यो कसैबाट लुकेको विषय होइन। यस विषयमा व्यवसायी र उद्यमी सबै जानकार छन्। वास्तवमा वस्तुको गुणस्तर महत्वपूर्ण कुरा हो। यसका लागि उत्पादनको परिमाणभन्दा गुणस्तर सुधारमा विचार पु–याउन सक्नुपर्छ। बरु थोरै उत्पादन होस् तर राम्रो गुणस्तरको होस् भन्ने कुरामा विचार पु–याइएन भने बजारमा खपत हुन गा–हो हुन्छ। नेपालले उत्पादन गर्ने वस्तुहरूको प्रायः सबै कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ। त्यसैले आगामी दिनमा नेपालले पनि आफ्ना प्राकृतिक स्रोतको उत्खननलगायत उत्पादनका लागि आवश्यक कच्चा पदार्थको उत्पादन गर्न सक्नुपर्छ, जसले वस्तुको उत्पादन लागत घटाउन मदत पु–याउँछ। यद्यपि नेपालले यो क्षेत्रमा दीर्घकालीन उत्पादन योजना मुताबिक काम गरेको पाइँदैन। तत्काललाई भन्दा भविष्यलाई विचार गरेर कलकारखाना उद्योगधन्दा खोलिनुपर्छ, जुन वस्तुको उत्पादन हुन्छ, त्यसको दिगो वातावरण निर्माण गर्नुपर्छ।
उत्पादित वस्तु निर्यातमा वृद्धि गर्न गुणस्तरयुक्त सामान उत्पादन हुनु आवश्यक छ। यसका निम्ति दक्ष जनशक्ति, मेशीन तथा औजार र आवश्यक लगानी चाहिन्छ। आवश्यक परे यस्ता विषयमा विदेशबाट सहयोग लिन सक्नुपर्छ। यसका निम्ति सरकारले पनि खर्च बढाउँदै लैजानुपर्छ। यस क्षेत्रमा छुट्याएको रकम समयभित्र नै खर्च गर्नुपर्छ। विगतका सरकारले जुन क्षेत्रका लागि रकम छुट्याएको हो, त्यस क्षेत्रमा खर्च नभएर फ्रिज हुने गरेको परिपाटीलाई अब अन्त्य गर्नुपर्छ। नेपाली वस्तु उत्पादन गरी त्यसलाई निर्यातयोग्य बनाउने काममा राज्यले लगानी गर्नुपर्छ। नेपालमा उत्पादन भएका ऊनी गलैंचाको ७५ प्रतिशत जर्मनीमा खपत हुन्छ भने सम्पूर्ण तयारी पोशाकको ८० प्रतिशत खपत अमेरिकाले मात्रै गरिरहेको वर्तमान परिवेशलाई बुझेर बाँकी मुलुकमा पनि व्यापार बढाउन पहलकदमी गर्नु आजको माग हो।
वास्तवमा कुनै पनि मुलुकको आर्थिक विकासमा औद्योगिकीकरणको महत्वपूर्ण योगदान हुन्छ। औद्योगिकीकरणका लागि न्यूनतम पूर्वाधार तथा भौतिक सुविधाको सुनिश्चितता भएको विशेष स्थानलाई औद्योगिक क्षेत्र भनिन्छ। नेपालको औद्योगिक क्षेत्र सुधार हुन नसक्नुका पछि धेरै कारण छन्। सही र दीर्घकालीन सोच भएको नीति बनाउन नसक्नु पनि एउटा महत्वपूर्ण कारण हो। भूपरिवेष्टित मुलुकलाई पारवहन समस्या पनि पर्न सक्छ। यसका लागि भएका सम्झौताको उपभोग हामीले गर्न सक्नुपर्छ। विशेषगरी अन्तर्राष्ट्रिय बजार हेरी हामीले गुणस्तरीय वस्तु उत्पादन गर्न सक्नुपर्छ। अनिमात्र हामीले व्यापार सन्तुलनमा कायम राख्न सक्छौं। यसका लागि ऐन, कानून, नीतिनियम अभाव छन् भने तुरुन्तै ल्याउनुपर्छ। औद्योगिक क्षेत्रका लागि पक्की सडकको पहुँच र उद्योगहरूको जडित क्षमतालाई धान्ने गरी छुट्टै प्रसारण लाइनमार्फत अविच्छिन्न विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्छ। उद्योग स्थापनाका लागि पर्याप्त जमीन, ढल निकास र २४सैं घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्छ। कुनै पनि उद्योग सञ्चालनका लागि अनिवार्य आवश्यकताको रूपमा रहेको विद्युतीय व्यवस्थादेखि अन्य पूर्वाधारमा ध्यान दिनु त्यतिकै आवश्यक छ। केही वर्ष पहिले विद्युत् अभावमा उद्योगहरू बन्द हुने अवस्थामा थिए तर अहिले त्यो अवस्था छैन। विगतझैं अहिले लोडसेडिड्ढो अवस्था छैन। उद्योग तथा कलकारखानाका लागि यो खुशीको कुरा हो। उद्यमीहरूलाई विद्युत् सहजै आपूर्ति गर्न सरकारले चाँजो मिलाउनुपर्छ। उद्योगीलाई लगानीको उचित वातावरण सुनिश्चितता हुन सके लगानी गर्न इच्छुक हुन्छन्। यस्ता खालका समस्या समाधान गर्नेतर्फ नेपाल सरकारले जागरूकता देखाउन सक्नुपर्छ।
त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम पाएका युवालाई सीप विकास वा आत्मविश्वास बढाउने प्रयोगशाला वा कार्यक्षेत्र उपलब्ध हुनुपर्छ। यो कार्य राज्य वा समुदायको जिम्मेवारी हो। व्यक्ति वा परिवारले आफ्नै प्रयासमा यो अवसर जुटाउन सक्दैनन्। यस प्रकारको सीप विकास परम्परागत व्यवसायदेखि आधुनिक व्यवसायका क्षेत्र जस्तै– कृषि तथा वन पैदावार, खाद्य प्रशोधन, हस्तकला तथा साना तथा मझौला उद्योग कलकारखाना, यान्त्रिक तथा अन्य प्रविधिको विकास र विस्तार जस्ता क्षेत्रमा विकास गरिनुपर्छ। विश्व बजारमा गरिएका अध्ययन अनुसार राम्रो सीप विकासको अवसर पाएका व्यक्तिले श्रम बजारमा करीब ६५ प्रतिशत बढी प्रतिफल हासिल गर्न सक्नेछ। त्यस्ता युवा विदेशमैं गएछ भने पनि उसले बढी मर्यादित, सुरक्षित काम गर्न र राम्रो आम्दानी गर्न सक्नेछ। वास्तवमा मुलुकको आर्थिक विकासमा उद्यमशीलताको अद्वितीय भूमिका हुन्छ। देशको आर्थिक विकासको मूल आधार नै उद्यमशीलता हो। अर्थतन्त्रको विकासका लागि उद्यमीको भूमिका महत्वपूर्ण हुन्छ। पूँजी निर्माण, रोजगार वृद्धि, उत्पादकत्व वृद्धि, निर्यात प्रवद्र्धन, औद्योगिकीकरण, सन्तुलित तथा न्यायपूर्ण विकासका लागि उपलब्ध प्राकृतिक तथा मानवीय संसाधनको सदुपयोग र गुणस्तरीय जीवनयापनका लागि राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न उद्यमीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको हुन्छ। त्यसैले नेपालको आर्थिक विकासको आधार उद्यमशीलता हो। वर्तमान समयमा युवाशक्तिलाई उद्यमशीलतामा परिणत गर्न सके देशको आर्थिक समृद्धि यही पुस्तामा सम्भव छ।