गर्मी मौसममा चीसो पेय पदार्थको माग बढ्छ। कोल्ड ड्रिंक्स होस्, प्याकेज्ड गरिएको जुस वा फ्लेवर्ड दूध, यी कोल्ड ड्रिंक्सले हामीलाई गर्मीबाट बचाउँछ र हामीलाई ताजा राख्छ। तर के तपाईंलाई थाहा छ, यसको दैनिक सेवनले तपाईंको स्वास्थ्यलाई गम्भीर हानि पु–याउन सक्छ ?
दैनिक चीसो पेय पदार्थ पिउने बानीले धेरै स्वास्थ्य समस्या निम्त्याउने अध्ययनले देखाएको छ। चीसो पेय पदार्थ पिउँदा मुख्य चार समस्याबारे जानौं।
मोटोपन र मधुमेहको जोखिमः चीसो पेय पदार्थमा चिनी र कृत्रिम चिनीको ठूलो मात्रा प्रयोग गरिन्छ। यसको दैनिक सेवनले शरीरमा चिनीको मात्रा बढ्छ, जसले मोटोपन र टाइप २ मधुमेहको जोखिम बढाउँछ।
हृदयरोगको जोखिमः चीसो पेय पदार्थमा हाई फ्रुक्टोज कर्न सिरप नामक पदार्थ पाइन्छ, जसले शरीरमा ट्राइग्लिसराइड्सको स्तर बढाउन सक्छ। ट्राइग्लिसराइड्स एक प्रकारको बोसो हो, जसको उच्च मात्राले नशाहरूमा कोलेस्ट्रोल जम्मा गर्न सक्छ। यसले हृदयरोगको जोखिम बढाउँछ।
दाँतमा क्षतिः चीसो पेय पदार्थमा पाइने एसिडले दाँतको इनामेललाई कमजोर बनाउँछ। यसले दाँत दुख्ने, संवेदनशीलता र क्याभिटीको जोखिम बढाउँछ। साथै यी पेय पदार्थहरूमा पाइने रङ्गहरूले पनि दाँतमा दाग लगाउन सक्छ।
पोषणको कमीः चीसो पेय पदार्थमा पोषणको मात्रा निकै कम हुन्छ। पानी, चिनी र कृत्रिम स्वादबाहेक यसमा खास केही हुँदैन। यसको दैनिक उपभोग गर्दा शरीरमा आवश्यक भिटामिन र मिनरल्सको कमी हुन सक्छ, जसले कमजोरी र थकान जस्ता समस्या निम्त्याउन सक्छ।
चीसो पेय पदार्थको सेवनबाट कसरी बच्नेः पानीलाई आफ्नो मुख्य पेय बनाउनुहोस्। पानी शरीरलाई हाइड्रेटेड राख्नको लागि सबैभन्दा राम्रो र स्वस्थ तरीका हो।
फलफूलको खपत बढाउनुहोस्ः फलफूलले शरीरलाई हाइड्रेटेड मात्र राख्दैन, भिटामिन र खनिजको पनि राम्रो स्रोत हो।
घरमा कागती पानी, मोही वा नरिवल पानी जस्ता चीजहरू तयार गरेर पिउन सक्नुहुन्छ। यी स्वादिष्ट र स्वस्थ विकल्पहरू हुन्।
बजारबाट डिब्बाबन्द जुस खरीद नगर्नुहोस्। यसमा पनि चिनी र कृत्रिम पदार्थको मात्रा धेरै हुन्छ।
गर्मी मौसममा चीसो पेय पदार्थ पिउनु स्वाभाविक हो तर आफ्नो स्वास्थ्यको ख्याल गर्नु पनि जरुरी छ। चीसो पेय पदार्थको खपत कम गर्नुहोस् र तिनीहरूको स्वस्थ विकल्पहरू अपनाउनुहोस्। स्वस्थ र सुखी जीवनको लागि पानीलाई आफ्नो मुख्य पेय बनाउनुहोस्। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)