जापानमा दुर्लभ फल्यास इटिङ ब्याक्टेरियाको प्रकोप तीव्र गतिमा फैलिरहेको छ, जसबाट सो देशमा त्रासको वातावरण सिर्जना भएको छ। यस ब्याक्टेरियाले स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटिएसएस) निम्त्याउँछ, जसको कारण छोटो समयमा बिरामीको अवस्था घातक हुन सक्छ।
विज्ञहरूका अनुसार यो रोग लागेको ४८ घण्टाभित्र बिरामीको मृत्यु हुन सक्छ। जून २०२४ सम्म जापानमा एसटिएसएसको ९७७ वटा घटना रिपोर्ट भइसकेका छन्, जुन गत वर्ष रिपोर्ट गरिएका ९४१ भन्दा बढी हो। यसले चिन्ता बढाएको छ किनभने जापानको राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार यदि यस गतिमा मामिलाहरू बढिरह्यो भने यो वर्ष देशमा अढाई हजार एसटिएसएसका मामिला आउन सक्छन् भने रोगका कारण मृत्युदर ३० प्रतिशत पुग्ने खतरा छ।
कोभिड–१९ महामारीको समयमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारेपछि जापानमा एसटिएसएसका मामिलाहरू बढ्दै गएका केही विज्ञहरू विश्वास गर्छन्। तर यसको ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन।
लक्षणहरू : एसटिएसएसका प्रारम्भिक लक्षण ज्वरो, मांसपेशी दुःखाइ, घाँटी दुःखाइसहित प्mलूजस्तै हुन सक्छ। तर यसपछि लक्षणहरू तीव्ररूपमा गम्भीर हुन सक्छन्, जसमा उच्च ज्वरो, रक्तचाप कम हुनु, छाला रातो हुनु र तन्तुहरू मृत देखिन्छन्।
कसरी जोगिने ? अहिले यस ब्याक्टेरियाबारे धेरै जानकारी छैन। तर यसबाट बच्न नियमित हात धुनुपर्छ र कुनै पनि घाउ सफा राख्नुपर्छ। यसबाहेक सङ्क्रमणको लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।