काठमाडौं, ३ असार/रासस

यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले जारी गरेको बुलेटिन अनुसार तातो हावा तथा तातो लहरको सम्भावना रहेकोले यसको असरबाट बच्न आवश्यक तयारी गर्न जरुरी छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिए।

“मुलुकको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भइसकेको छ, पूर्वबाट पश्चिम बहने हावा सक्रिय नहुँदा पश्चिमी क्षेत्रमा असार ६ गतेसम्म तातो हावाको लहर चल्नेछ”– उनले भने–“महाशाखाले मौसमसम्बन्धी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्ने भएकोले आगामी तीन दिनसम्म पश्चिम क्षेत्रमा मौसम सक्रिय हुँदैन, त्यसपछि पनि के हुन्छ आजै भन्न सकिंदैन।”

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्तालगायत भएकाले सोबाट बच्नुपर्ने मौसमविद् पुडासैनीले बताए।

“तातो हावा र तातो लहरबाट जोगिन घरभित्र वा चीसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, शर्बत) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ”–उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here