चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार ५५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो।
सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था)की संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औसतमा मासिक रु ३२ हजार ६४३ दशमलव ६५ विप्रेषण पठाइरहेको छ। आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा खर्च गरेको पाइएको उनले बताइन्।
वैदेशिक रोजगारमा रहेका ३० हजार ५५५ जनाका २९ हजार १७७ परिवारले एक वर्षमा करीब रु १२ अर्ब विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिइन्। उनका अनुसार १३ प्रतिशतले बचत, छ। प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, चार प्रतिशतले जग्गा खरीद, तीन प्रतिशतले ऋण लगानी र एक प्रतिशतले मात्र व्यवसाय सञ्चालन गर्ने गरेका पाइएको छ।
विदशेबाट फर्केर आएका दुई हजार २७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै आठ हजार ९५९ जनाले केही नगरी बसेको पाइएको जानकारी संयोजक पौडेलले दिइन्। एक हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जन सम्बन्धी विभिन्न योजना बनाएका उनले बताइन्।
विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये तीन हजार ३५८ जनाले कुनै न कुनै सीप लिएर फर्केका पौडेलले बताइन्। सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिको सङ्ख्या पनि उल्लेख्य रहेको भन्दै उनले रोजगारमा रहेका कामदारमध्ये ३३ दशमलव ६१ प्रतिशतले मात्रै सीप सिकेर गएको उनले उल्लेख गरिन्। उनले ५५ प्रतिशतले आवश्यक सूचना तथा परामर्शसमेत लिएर विदेश जाने गएकोे जानकारी
दिइन्। ९६ हजार ५९१ घर रहेको भरतपुरमा ३४ हजार ५०८ घरबाट ४१ हजार ७८६ जना वैदेशिक रोजगारमा गएका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको तथ्याङ्कमा उल्लेख गरिएको छ। हाल ३० हजार ५५५ विदेशमा रहेका र ११ हजार २३१ जना नेपाल फर्किएका संयोजक पौडेलले जानकारी दिइन्।