राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतीजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी काम भइरहेको जनाएको छ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए।
उनले कार्ययोजना अनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतीजा सार्वजनिक गर्नेगरी अन्य काम तीव्र गतिमा भइरहेको बताए। “हामीले उत्तरपुस्तिका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौं। प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतीजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ। कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमैं नतीजा सार्वजनिक गर्छौं,” उनले भने। उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए।
गत वर्ष असार २४ मा एसइईको नतीजा सार्वजनिक गरेको बोर्डले यस वर्ष १४ दिनअगावै नतीजा सार्वजनिक गर्नेगरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यस वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतीजा सार्वजनिक गरिने बताए। यस वर्षको नतीजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनैपर्ने अन्यथा फेल भए सरह मानिने बताए।
गत चैत १५ गतेदेखि शुरू भएको यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन्।