अलपत्रगोलबजार (सिराहा), २७ जेठ/रासस

सिराहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधासहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ।

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिंडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो। वडा नं १ स्थित रु ११ करोड ५८ लाख ८१२ भ्याटसहितको लागतमा विसं २०७८ असार २० गते भएको सम्झौतामा ३६ महीनाभित्र काम सम्पन्न गर्नेगरी रौता अनसुमन जेभी काठमाडौंले ठेक्का पाएको थियो।

भवन निर्माण गर्न दुई महीना मात्र समय बाँकी रहे पनि ठेकेदार कम्पनीले निर्माणको काम अगाडि नबढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताए।

सो भवन ‘अन्डर ग्राउन्ड’सहित पाँच तले निर्माण हुने, पूर्ण अपाङ्गतामैत्री, पर्याप्त शौचालय सुविधाको एकीकृतरूपमा सेवा दिने आधुनिक प्रशासकीय भवन हुने गाउँपालिकाले जनाएको छ। भवनमा सेवाग्राहीका लागि डिपिआरमा लिफ्टको उल्लेख रहे पनि सोका लागि रकम गाउँपालिकाले छुट्याएको छैन।

भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेश्की रकमसहित रु तीन करोड पाँच लाख २० हजार बुझेको गाउँपालिकाका इन्जिनीयर प्रवीण भक्तले जानकारी दिए। भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम अगाडि बढाउन कुनै चासो नदेखाएको उनले बताए।

उनका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ। गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकेदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताए।

गाउँपालिकाको आफ्नै भवन नभए पनि साबिक भगवानपुर गाविस भवनबाट गाउँपालिकाको काम सञ्चालन गरिंदै आएको छ। केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक रु २६ लाख घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here