हाम्रो ज्ञान परम्पराको मूल स्वरूप अष्टादश विद्यामा सन्निहित ज्ञान–विज्ञानको रूपमा विद्यमान छ। यी विद्याहरूको सहयोगले जुन सूत्र–सिद्धान्त सृजन भएको छ, ती सबै सयौं ग्रन्थका आकार प्राप्त गरेर हाम्रो आत्मज्ञानको शिखालाई प्रज्वलित बनाइराखेका छन्। यो ज्ञानरूपी उत्तराधिकार हाम्रो संस्कृतिको हजारौं वर्षको यात्रामा वास्तविक चिन्मय सम्पत्ति हो।
यसै ज्ञान–रहस्यका कारण आजसम्म यस संस्कृतिको जीवन अक्षुण्ण रहेको छ र भविष्यमा पनि रहने छ। अन्य संस्कृतिहरूजस्तै हाम्रो देव–संस्कृतिको ध्येय कहिले पनि आधिभौतिक रहेन, अपितु पूर्णतः आध्यात्मिक बन्यो। ज्ञान यसको आत्मा हो, जुन अध्यात्मरूपी प्राण बनेर यसको कण–कणमा व्याप्त छ।
अध्यात्मविना यस संस्कृतिको कल्पना पनि असम्भव छ। यसको समस्त परिवेश नै अध्यात्मले ओतप्रोत छ, त्यसैले समग्र विश्वले पनि यसलाई आध्यात्मिक ज्ञानको आरम्भिव अवस्थाको रूपमा चिनेको छ। सर्वोच्च ज्ञानको प्राप्ति हाम्रो संस्कृतिको महानतम आदर्श हो।
यस आदर्शलाई प्राप्त गर्ने चुनौती र त्यसमा विजय प्राप्त गर्ने मार्ग, दुवै यस संस्कृतिबाट विनिर्मित सुसंस्कारित समाजको जीवन–पद्धति र जीवन–मूल्यहरूमा समाहित छन्। सर्वोच्च ज्ञानको स्वरूप पूर्णतः आध्यात्मिक छ, जुन मानवीय आत्माको धरातलमा नै प्रस्फुटित हुन्छ। यस परम आदर्शलाई बुझ्ने र बाँच्ने दुई भिन्न धाराले समान–संयुक्तरूपले हाम्रो सFंस्कृतिक यात्राको नेतृत्व गर्दै आइरहेका छन्।
एउटा धारा ज्ञानको हो र दोस्रो विज्ञानको। ज्ञानलाई जान्न र बुझ्नका लागि विभिन्न शास्त्र, विधाहरूको निर्माण भएको छ र तिनको श्रेष्ठतम व्याख्या–विवेचनाको परम्परा विकसित गरिएको छ। दोस्रो धारा विज्ञानको हो, जसमा त्यस प्राप्य ज्ञानलाई कला र सुसङ्गत जीवनपद्धतिका विविध आयामहरूको धर्म, कर्म, संस्कार एवं परम्पराहरूको रूपमा स्थापित गरिंदै आएको छ।
ध्यान दिनुपर्ने कुरा यो हो कि हाम्रा ऋषिहरूले जसलाई विज्ञान भनेका छन्, त्यो वर्तमान तथाकथित भौतिक विज्ञानभन्दा सर्वथा भिन्न छ। ऋषि–अवधारणामा विज्ञानको तात्पर्य हो– त्यो ज्ञान, चिन्तन अथवा सिद्धान्त जुन हाम्रो जीवन व्यवहार, जीवन र चरित्रको हिस्सा बनिसकेको छ अर्थात् ज्ञान जब व्यवहारमा परिणत हुन्छ अनि त्यो विज्ञान भनिन्छ।
ज्ञान र विज्ञान–दुवै धारा अन्योन्याश्रित, शाश्वत र चिरनूतनताका साथ हाम्रो सभ्यता, संस्कृति र समाजको ऐश्वर्यता, वैभव, प्रखरता र श्रेष्ठताका परिचायक हुन्। अध्यात्म तत्वका यी दुवै विमल धारा विभिन्न मार्गबाट बग्दै भारतवर्षको भूमि मात्र होइन, वरन समस्त विश्व–वसुधाको जीवनलाई उर्वरता प्रदान गरेर मानवतालाई पोषित गर्दै आइरहेका छन्।
हाम्रो संस्कृति जीवनमा समाहित ज्ञान–विज्ञानका अभेदरूपी अध्यात्म तत्वलाई बुझ्न दुनियाँका लागि सहज भने छैन। दुनियाँले यो त मान्दै आएको छ कि हाम्रो संस्कृति र हाम्रो भूगोल अध्यात्मवादीहरूको देश हो, तर दुनियाँले यो पनि बुझ्नु आवश्यक छ कि यहाँ अध्यात्मको तात्पर्य यो कदापि होइन कि मानिस केवल आत्मबोध र आत्मचिन्तन कार्यमा निमग्न रहन्छन्। यस चिन्तनको शिखर त हाम्रा ऋषिहरूले सभ्यताको प्रारम्भभन्दा पूर्व नै प्राप्त गरिसकेका थिए। ऋग्वेदको ‘नासदीय सूक्त’मा यस चिन्तनको गहनता देख्न सकिन्छ।
सारा संसार जीवनको जुन स्थायी सुख र आनन्द पाउन बौलाहाजस्तै भौतारिइरहेको छ, त्यसलाई हाम्रा ऋषिहरूले आदिकालमा नै खोजेर ब्राह्मीस्थिति, मोक्ष, निर्वाण आदि थरीथरीका रूपमा प्रस्तुत गरिदिएका छन्। त्यसपछि यो स्वाभाविक प्रश्न उठ्न सक्छ कि जब जीवनमा गूढतम रहस्य र शाश्वत सुख–स्रोतहरू ऋषिहरूले खोजेर पहिले नै प्रस्तुत गरिसकेका छन् भने अब दुनियाँमा खोज्नलायक शेष नै के रह्यो ?
यसको उत्तर यही हो कि जे खोजिसकिएको छ र जसको सबैलाई आवश्यकता पनि छ, त्यहाँसम्म पूग्ने मार्ग खोज्ने। कुनै एक, दुई वा हजारका लागि होइन, अपितु मानव मात्रका लागि यस्तो मार्ग आवश्यक छ, जसमा हिंडेर सम्पूर्ण मानव जातिलाई शाश्वत सुख, परम शान्ति र सन्तुष्टिको लक्ष्य प्राप्त हुन सकोस्।
दुनियाँले स्थायी सुख–शान्ति र आनन्दको इच्छालाई मनमा जीवन्त त बनाइराखेको छ, तर यसलाई प्राप्त गराउन सक्ने मार्ग खोज्न भने असफल नै रहेको छ। भौतिकवाद, भोगवाद र वैज्ञानिक क्रान्तिका साधन–संसाधनहरूको उच्चतम विकासले पनि अन्तर्मनमा थिचिएका इच्छा एवं भावनालाई कुनै सार्थक लाभ पु–याउन सकेन, अपितु यसको उल्टो अशान्ति, असन्तुष्टि, निराशा र अनेक दुःखदायी स्थिति जन्माएको छ। जीवनमा सुख–शान्ति, सन्तुष्टि र आनन्दको खोज यथावत् कायम छ।
सम्पूर्ण मानवता यसका लागि लालायित छ, तर उसका सामु यस्तो कुनै मार्ग छैन, जसमा हिंडेर इच्छित लक्ष्य प्राप्त गर्न सकोस्। यस सन्दर्भमा सारा दुनियाँलाई यो बताउनु आवश्यक छ कि जुन मार्गको खोज भइरहेको छ, त्यो मार्ग हाम्रो ऋषि संस्कृति र जीवनपद्धतिमा पहिलेदेखि नै विद्यमान छ। यसको अनुसरण गरेर दुनियाँको प्रत्येक व्यक्ति आप्mनो जीवनमा चिरस्थायी सुख, आनन्द र सन्तुष्टि प्राप्त गर्न सक्छ।
पूर्वीय संस्कृतिमा जीवनपद्धतिको निर्माण जुन आदर्श र मूल्यहरूलाई आधार बनाएर गरिएको छ, त्यसमा हिंड्ने मानिसलाई जीवनको चरम लक्ष्य प्राप्त हुने सुनिश्चिछ छ। यसको प्रत्यक्ष उदाहरण यस भूगोलको आद्यतन इतिहासमा महापुरुष, महामानव तथा महान् व्यक्ति तथा महान् व्यक्तित्वहरूको जीवन–दर्शन हो, जसले हरेक युगमा स्वयं आदर्श बनेर विश्व मानवतालाई मार्गदर्शन गराए।
हाम्रा ऋषिहरूले यस संस्कृतिको पोषणका लागि जुन जीवनपद्धतिको निर्माण गरेका छन्, त्यो आध्यात्मिक जीवन–दृष्टिमा आधृत एउटा सम्पूर्ण जीवन विज्ञान हो। शास्त्रहरूमा मानिसको चतुर्वर्ग, पुरुषार्थ, वर्णाश्रम, धर्म–कर्म, कर्तव्य आदिको विशद व्याख्यामा अध्यात्म विज्ञानकै प्रस्तुति छ।
मानवीय जीवनका समस्त क्रियाशीलता र सम्भावनाहरूलाई चार भागमा विभाजित गरेर पुरुषार्थको सिद्धान्त प्रतिपादित गरिएको हो। यो सिद्धान्त हाम्रो जीवनपद्धतिको मूल आधार हो। धर्म, अर्थ, काम, मोक्षरूपी पुरुषार्थको चर्चा प्रायः सबै दर्शन, धर्मशास्त्र, इतिहास, ग्रन्थ, महाकाव्य, स्मृति एवं पुराणहरूमा विस्तारले गरिएको छ।
यस विस्तृत विवेचनामा ऋषिहरूको अध्यात्म विज्ञानका सूक्ष्म एवं मार्मिक पक्षहरूलाई कसरी मानवीय वृत्ति कर्म, आचरण एवं चरित्रको स्तरमा समाहित गरेर एउटा समग्र जीवनपद्धति विनिर्मित गरिएको छ, यस सत्यको अनावरण गरिएको छ।
ललितकलाददेखि आयुर्वेद, धनुर्वेद, शल्यविद्या, रसायन शास्त्र, नक्षत्र विद्या, गणित विद्या, काव्य, नाटक, साहित्य, सङ्गीत आदि अनेक विधाहरूमा मानवीय रचनात्मकता र सृजनशीलताको विकसित रूप हाम्रो जीवनपद्धतिको समग्रतामा देख्न सकिन्छ।
हाम्रो संस्कृतिको जीवन–दृष्टि आध्यात्मिक अवश्य छ, तर त्यसमा आधृत जीवनपद्धतिमा अध्यात्म र आधिभौतिक जीवनको सार्थक एवं अनुपम समन्वय छ।
ज्ञानका साथ कर्म, योगका साथ भोग र अध्यात्मका साथ विज्ञानको समन्वयले यसलाई विश्वको महानतम संस्कृति बनाउँछ। यो समन्वय, ज्ञानलाई आचरणमा, व्यवहारमा ल्याउने उत्कृष्ट प्रविधिका रूपमा व्यक्ति, समाज र संस्कृतिको जीवनमा घुलमिल भएको छ। यसमा समाहित सूक्ष्म मानवीय मनोविज्ञान पनि दुनियाँले बुझ्नु जरुरी छ।
जस्तै चार पुरुषार्थ व्यक्तिको जीवन–मार्गका आदर्श हुन्, त्यसै प्रकार समाज र समष्टिको कल्याणको आदर्श मार्ग चार आश्रमका रूपमा विद्यमान छन्। ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास–यी सार्वभौमिक मानवताको प्रतिष्ठा एवं कल्याणका ऋषिप्रणीत स्वर्णिम सूत्र हुन्।
मानव जीवनका उक्त चार सोपानहरूमा विश्व समाजको सर्वाङ्गीण विकास, सन्तुलन र परम कल्याणको मनोविज्ञान मिसिएको छ। सर्वप्रथम ब्रह्मचर्य आश्रम अर्थात् जीवन प्रारम्भका प्रथम चरणमा शरीर, मन र बुद्धिलाई शुद्ध र संवद्र्धित गरेर एउटा आदर्श व्यक्तित्व र क्षमतावान, उपयोगी जीवन निर्माण गर्नु हो।
दोस्रो चरणमा साधन–संसाधन र इच्छित कामनाहरूको धर्मानुकूल वृद्धि र उपयोग तथा परिवार, समाज र राष्ट्रसँग जोडिएका सबै कर्तव्यहरूको नैतिकरूपमा पालन गर्नु हो।
तेस्रो चरणमा घर–परिवारका जिम्मेदारीहरूबाट बाहिर निस्केर आप्mनो अनुभव र चिन्तनलाई समाजमा निस्स्वार्थ भावले बाँड्नु हो, जसले गर्दा उनका सांसारिक जीवनका दुःख, कष्ट र समस्या कम गरेर सही दिशा प्रदान गर्न सकियोस्।
चौथो चरण हो आत्मसिद्धिको– विज्ञान जगत्बाट ज्ञान जगत्मा प्रवेश गर्ने। यो योग, त्याग, वैराग्य, भक्ति र निवृत्तिको सोपान हो। यहाँ पुगेर मनुष्य जीवन आप्mनो सम्पूर्णतामा विकसित हुन्छ।
शाश्वत सुख, परम शान्ति, पूर्ण सन्तुष्टि र चरम सत्यको प्राप्ति गराउने विज्ञान हाम्रो जीवनपद्धतिको केन्द्रमा स्थित छ। मानवीय स्वभाव र मनोविज्ञानलाई ध्यानमा राखेर हाम्रा ऋषिहरूले एउटा आदर्श जीवनपद्धति निर्माण गरेर प्रत्येक मानिसका लागि सार्थक जीवन बाँच्ने मार्ग सृजित गरेका छन्।
यस मार्गमा हिंडेर नै पूर्वीय संस्कृति विश्वमा यति महान् र उदात्त बन्न सकेको हो। यो जीवनपद्धति बाँच्ने तरीका वा व्यवस्था मात्र नभएर जीवनको उत्कृष्टतम विकासको विज्ञान हो।
पुरुषार्थका चार स्तम्भ, वर्णाश्रमका चार सोपान, संस्कारहरूको सो–ह अनुबन्ध र जीवनपर्यन्तका व्रत, तिहारजस्ता दिव्य परम्पराहरू–यी सबैमा अध्यात्म–विज्ञान समाहित छ।
हाम्रो संस्कृतिको सर्वस्व, एउटा श्रेष्ठतम एवं सर्वोत्कृष्ट सम्पूर्ण जीवन विज्ञानको पर्याय हो। हाम्रो भूगोलको अध्यात्मवादी जीवनमा शास्त्रहरूको रूपमा मानवीय ज्ञानको शिखर विद्यमान छ र संस्कृतिको रूपमा मानवीय विज्ञानको व्यापकता पनि विद्यमान छ। यो एउटा सार्वभौम सत्य हो कि यहाँका शास्त्र र संस्कृतिको आवश्यकता समस्त मानवताका लागि वरेण्य छ।