मधेस प्रदेशको तेस्रो मुख्यमन्त्रीमा जनमत पार्टीका सतीशकुमार सिंह नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
उनलाई सङ्घीय सत्तागठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा
(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।
नवनियुक्त मुख्यमन्त्री सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क)बाट निर्वाचित भएका हुन्। यस अघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि सोही वर्षको आमनिर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
मुख्यमन्त्री सिंहद्वारा शपथ मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतीशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।
शुक्रवार दिउँसो प्रदेश प्रमुख भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन्। यसैबीच, मुख्यमन्त्री सिंहले सत्तागठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। उनीहरू सबैले आजै शपथग्रहण गरेका छन्।
मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएर शपथ लिएका छन्।
त्यस्तै, नेकपा (एमाले)बाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त भएका छन्।
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, बेची लुङ्गेली ऊर्जा, सिंचाइ र खानेपानीमन्त्री, नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट विमला अन्सारी गृह, सञ्चार तथा कानूनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ।
यसअघि जनता समाजवादी पार्टी नेपालका तर्फबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवले जेठ २३ गते बुधवार विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो र आज बिहान १० बजेभित्र बहुमत सदस्यसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय प्रदान गरिएको थियो। २०७४ सालदेखि मधेस प्रदेश सरकारमा जसपा नेपालबाट पहिलो कार्यकाल लालबाबूराउत गद्दीले पाँच वर्ष र हालका मुख्यमन्त्री यादवले डेढ वर्षे कार्यकाल निर्वाह गरेका थिए। यस अघि सङ्घीय सरकार परिवर्तनपछि अन्य प्रदेशका मुख्यमन्त्रीहरू फेरिंदै आए पनि मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालको एकाधिकार रहँदै आएको थियो।