गर्मीको मौसम आएसँगै सबैजना आँपको पर्खाइमा छन्। आँपबाट धेरैकुरा बनाउन सकिन्छ। चटनी, पन्ना, खटमीठी र सबैभन्दा मनपर्ने आँपको अचार। आँपको अचारले हरेक खानेकुराको स्वाद बढाउँछ। तसर्थ एकपटक आँपको अचार बनाएर वर्षभरि राख्न सकिन्छ। घरमैं आमा, हजुरआमाले बनाएको जस्तै स्वादिलो आँपको अचार बनाउन सकिन्छ। त्यो पनि विनाकुनै झन्झट।

आँपको अचार बनाउनको लागि चाहिने सामग्रीः काँचो आँपः एक किलो, नूनः १०० ग्राम, बेसारको धूलो : दुई चम्चा,

रातो खुर्सानीको धूलोः दुई चम्चा, सौंफः दुई चम्चा, मेथी दानाः दुई चम्चातोरीको दानाः दुई चम्चा, हिङः १–२ चम्चा, तोरीको तेलः २५० एमएल।

बनाउने विधि :  सबैभन्दा पहिले काँचो आँपलाई धुनुहोस् र सुकाउनुहोस्। त्यसपछि आँपलाई सानो टुक्रामा काट्नुहोस् र आठी निकाल्नुहोस्।

मसला मिलाउने :  काटेको आँपको टुक्रामा नून, बेसार र रातो खुर्सानीको धूलो मिलाउनुहोस्। यसलाई राम्ररी मिलाएर दुई/तीन घण्टा घाममा राख्नुहोस्, जसले आँपबाट अतिरिक्त पानी हटोस्।

एउटा प्यानमा सौंफ, मेथी र तोरीको दाना हल्का भुट्नुहोस्। चीसो भएपछि तिनीहरूलाई मोटोगरी पिस्नुहोस्।

तोरीको तेललाई राम्ररी तताएर चीसो हुन दिनुहोस्। चीसो तेलले अचारलाई लामो समयसम्म सुरक्षित राख्छ।

अचार मिलाउने : आँपको टुक्रामा पिसेको मसला र हिङ मिसाउनुस्। अब चीसो तोरीको तेल हाल्नुहोस् र सबै कुरा राम्ररी मिलाउनुहोस्।

भण्डारण :  अचारलाई सफा र सुक्खा सीसाको भाँडोमा भर्नुहोस्। अचार राम्ररी पकाउनका लागि भाँडोलाई दुई/तीन दिन घाममा राख्नुहोस्।

तपाईंको स्वादिष्ट आँपको अचार तयार भयो। यसलाई वर्षाैंसम्म सुरक्षित राख्नको लागि जारलाई समयसमयमा घाममा राख्नुहोस् र सधैं सुक्खा चम्चा प्रयोग गर्नुहोस्। आँपको अचार पराठा, पुरी, दालभात वा जुनसुकै खानासँग खान सकिन्छ। अचार बनाएर केही दिन घाममा राख्दा अचारको स्वाद बढ्छ र वर्षाैं बिग्रँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here