शरद शर्मा

काठमाडौं, २२ जेठ/रासस

मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ। नेशनल बाथरोग सेन्टरका अनुसार देशमा करीब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहँुचमा पुग्ने गरेका छन्। नेपालमा बाथरोग आफैं निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपचारमा नआउने गरेका छन्।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालका धेरैजसो बिरामी सही उपचारको पहुँचमा नआउने गरेका र उपचार सेवासम्म आइपुगेका करीब ४० प्रतिशत बिरामीले मात्र बाथरोगलाई आफ्नो नियन्त्रणमा राख्न सकेका देखिएको पनि उनले बताए। उनका अनुसार अझै पनि नेपालमा बाथरोगका बारेमा जनचेतना जगाउनुुपर्ने खाँचो देखिएको छ। “औषधिसेवन गरेपछि बीचमा छाड्ने, आफैं जडीबुटी तथा आयुर्वेदलगायतका एलोपेथिकबाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन,” उनले भने, “बाथरोग आफैं निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ।”

बाथरोग नसर्ने दीर्घरोग भएकाले नियमित औषधिसेवन गरिरहनुपर्छ। त्यसैले जनचेतनाको स्तर अझ बढाउनुपर्ने देखिन्छ। सेन्टरले बाथरोग पहिचानका लागि विभिन्न ठाउँमा शिविर राखेर निश्शुल्क स्वास्थ्य परीक्षण गरिरहेको उनले बताए।

औषधिले पूरै निको हुँदैन तर नियन्त्रण गर्छ

बाथरोग विशेषज्ञ डा श्वेता नकर्मीले बाथरोगलाई पूर्णरूपमा नियन्त्रण गर्न नसकिने बताउँछिन्। “बाथरोग नियमित औषधिबाट निको पार्न सकिन्न,” उनले भनिन्, “रोगलाई नियन्त्रण गरेर बिरामीलाई पहिलेकै अवस्थामा लैजान भने सकिन्छ। तर पनि यो रोगको असर भने सधैं देखिरहन्छ।” अन्य विभिन्न रोगको असरका कारण, वंशाणुुगत र वातावरणीय प्रभावका कारण नेपालमा बाथरोग लाग्ने गरेको देखिएको छ। बाथरोग विशेषज्ञ डा नकर्मी ‘अटोइम्युन डिजिज’का कारणले बाथरोग लाग्ने गरेको बताउँछिन्।

रोग प्रतिरोधात्मक क्षमतामा केही गडबडी आयो भने बाहिरी जीवाणुसँग लड्ने कोषिकाले आफ्नै शरीरको जोर्नी र अङ्गलाई नष्ट गर्न थाल्छन् र त्यसबाट उत्पत्ति हुने रोगलाई नै बाथरोग भन्ने गरिएको उनी बताउँछिन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेशनल –युम्याटोलोजी लिग (आइलार)को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा –युम्याटिक एन्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग)को समस्या हुने गरेको देखाएको छ। त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड र घुँडा दुख्ने समस्या देखिएको अध्ययनमा उल्लेख गरिएको छ।

औषधि सधैं सेवन गर्नुपर्छ

नेपालमा बाथरोगको उपचार त्यति महँगो नभए पनि आम नेपालीका लागि भने यसको उपचार महँगो नै हुने गरेको बताइन्छ। बाथरोग पहिचानका लागि इम्युनोलोजिकल परीक्षण गर्नुपर्छ र यो केही महँगो छ।

बाथरोग र यसका अनेक प्रकारको पहिचानका लागि गरिने स्वास्थ्य जाँच केही महँगो हुने गरेको प्रबन्ध निर्देशक कक्षपतिले बताए। “बाथरोगमा जीवनभर औषधिसेवन गर्नुपर्छ। यसका लागि मासिक करीब एक हजार दुई सय रुपियाँ जति खर्च हुन्छ। यसरी एकजनाको परीक्षण र औषधिसमेत गरी वार्षिक रु २० हजारभन्दा केही बढी खर्च हुन सक्छ,” उनले भने। धूलो, धूवाँ, चुरोट पिउने, मदिरासेवन गर्ने, युरिक एसिड हुने खानेकुरा जस्तै बढी मात्रामा माछा, मासु र धेरै चिल्लो पदार्थ खाने, बढी तौल भएका व्यक्ति, दातFको र फोक्सोको समस्या भएका व्यक्तिहरूलाई बाथरोगको जोखिम बढी हुने गरेको चिकित्सकको भनाइ छ।

बाथरोग गर्भमा रहेका बच्चादेखि सबै उमेर समूहमा लाग्ने गर्छ। पाँचदेखि १५ वर्ष उमेर समूहका बच्चालाई मुटुको बाथ ज्वरो बढी हुने गर्छ।

दुई किसिमका बाथरोग बढी

हाडजोर्नी खिइने रोग जुन बुढेसकालमा बढी हुने र आम बाथरोग गरी दुई किसिमका बाथरोग नेपालमा बढी देखिने गरेको डा नकर्मी बताउँछिन्। तीमध्ये आम बाथ कडा खालको बाथ रोग हो।

बाथरोग लागेकामध्ये आम बाथरोग दुई तिहाइ महिला र एक तिहाइ पुरुषमा देखिने गरेको छ। ४० वर्षभन्दा माथिका महिलालाई आम बाथरोगमा शुरूशुरूमा हाडजोर्नी दुख्ने, सुनिने, बिहान

उठ्दा शरीर कक्रक्क पर्ने, मुठी पार्न र खोल्न गा–हो हुने समस्या हुने गरेका छन्। त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने जस्ता लक्षण देखिन्छन्। त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्ने गर्छ।

विशेषज्ञ डा नकर्मीका अनुसार समयमैं औषधि खाइएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्ने जस्ता समस्या हुने गर्छन्। बाथरोग सेन्टरले विगत १० वर्षदेखि काठमाडौंको रातोपुललगायत देशका विभिन्न आठ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङचोक, झापाको शनिश्चरे रोड, बुटवलको सुक्खानगर, दाड्ढो तुलसीपुर र चितवनको भरतपुर) मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको र समयसमयमा ती स्थान र अन्यत्र निश्शुल्क शिविरको आयोजना गरेर बाथरोग पहिचान तथा जनचेतना जागृत गर्ने काम गर्दै आएको छ।

बाथरोगका लक्षण

बाथरोग लागेपछि हातका औंला दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा र जीउ भारी भई अप्ठेरो हुने, खुट्टाका बूढीऔंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने र सुन्निने, राति र बिहान ढाड दुख्ने र अप्ठेरो हुने, घुँडा दुख्ने र सुनिने जस्ता लक्षण देखिन्छन्। बाथरोगको प्रारम्भिक लक्षण बिहान उठ्दा हातका औंला

खुम्च्याउन गा–हो हुने र दुख्ने, त्यसपछि बिस्तारै सुनिने गर्छ। यो अवस्थामा स्वास्थ्य जाँच नगराइ दुखाइ कम गर्ने औषधिसेवन गरेर बस्दा रोग छिप्पिदै जाने हुन सक्छ।

यस्तै कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, खुट्टा दुख्ने वा करकर खाने, जीउ गल्ने र छिटोछिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चीसोमा काम गर्दा हातखुट्टा नीलो हुने आदि लक्षण बाथरोगमा देखिन्छन्।

बाथरोग सामान्य दुखाइदेखि डरलाग्दा किसिमका पनि हुने भएकाले बाथरोग लागेको शङ्का लागेपछि जतिसक्दो चाँडो परीक्षण गराउन यस रोगका विशेषज्ञ चिकित्सकहरूको सुझाव छ। शुरूमैं रोगको पहिचान हुन सक्यो र औषधिसेवन गरियो भने यसको दीर्घकालीन असरबाट बच्न सकिने उनीहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here