काठमाडौं, २० जेठ/रासस

यस वर्षको मनसुन यही जून १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आकलन गरिएको छ। यद्यपि मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

मनसुन हाल भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जून १३ आकलन गरिएको भएपनि त्यसअघि नै भित्रिने देखिन्छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जून १३ आसपास भित्रिने बताए। हाल मुलुकका विभिन्न भूभागमा भइरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उनले जानकारी दिए। नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ।

तर मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ। यस्तै, आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी देखिएको छ।

ऋतुगत जलवायु विभिन्न सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर रहन्छ। मनसुनको आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन र दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा तयार गरिएको विभागका प्रवक्ता सुनील पोखरेलले जानकारी दिए।

साथै यो आकलन तयार गर्दा नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ (एल निनो एन्ड साउदर्न ओस्सिलोशन) तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थालाई विश्लेषणका आधारमा गरिएको हो।

यसबाहेक जलवायु प्रारूपको मनसुन सिजनको आकलन, युरोप तथा एशियामा गत हिउँद तथा प्रि–मनसुनको सिजनमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई मध्यनजर गरिएको छ। प्रवक्ता पोखरेलले भने, “हाल ‘एन्सो’ तटस्थ अवस्थामा रहेको छ र आगामी मनसुन सिजनमा ‘ला निना’ को अवस्था विकसित हुने अन्तर्राष्ट्रिय प्रारूपहरूको आकलन रहेको छ।

त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र आगामी मनसुन सिजनमा घनात्मक हुने आकलन गरिएको छ।”

जलवायु विज्ञ डा धर्मराज उप्रेतीले यो वर्षको मनसुन शनिवारसम्म भारतको आसाम, सिक्किम र सो वरिपरिका भागमा पुगिसकेको बताए। उनले भने, “भारतको केरलामा निर्धारित मितिभन्दा दुई दिनअघि र आसाम तथा मेघालयमा छ दिनअघि नै मनसुन पुगेको देखिन्छ। यही विषयलाई आकलन गर्दा भारतका भूभागसँग सिमाना जोडिएको कोशी प्रदेशमा मनसुन निर्धारित मितिभन्दा एक साताअघि नै प्रवेश गर्ने आकलन गर्न सकिन्छ।”

गत वर्ष आसाम र सिक्किममा मनसुन पुगेको तीन दिनमा कोशी, मधेस र गण्डकी प्रदेशमा पुगेको थियो। गत वर्ष आसाममा जून १२ मा पुगेको मनसुन यो वर्ष मे ३१ मैं पुगेको छ। त्यो गत वर्षभन्दा १२ दिन अगाडि हो।

मनसुनी वायु थप सक्रिय हुने वातावरण बनेको हुनाले कोशी प्रदेशमा आगामी तीनदेखि पाँच दिनमैं मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here