काठमाडौं, १९ जेठ/रासस

नेपालगंजमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेरै ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो। त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि शनिवार देशभरकै तापक्रम घटेको छ।

ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ। विभागले आज साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरण अनुसार रेकर्ड ब्रेक गरेको नेपालगंजको तापक्रम आज ४१ दशमलव चार डिग्रीमा झरेको छ। यस्तै, धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ।

सोही दिन पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव चार डिग्री तापक्रम मापन भएकामा आज झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमल पाँच र काठमाडौंमा ३२ डिग्री रहेको छ। जेठ १७ गते बिहीवार विराटनगरमा ४१ डिग्री थियो आज त्यहाँ ३४ मा झरेको तथा दाड्ढो घोराहीमा ४० दशमलव दुई डिग्री रहेकामा आज ३५ दशमलव दुई डिग्रीमा झरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरण अनुसार आज दिपायलमा ३९ दशमलव चार, वीरेन्द्रनगरमा ३८ दशमलव एक, डडेलधुरामा ३१ दशमलव चार, जुम्लामा २८ दशमलव नौ, भैरहवामा ३७ दशमलव दुई, सिमरामा ३६ दशमलव छ, ओखलढुङ्गामा २८, ताप्लेजुङमा २६ दशमलव आठ र धनकुटामा ३० दशमल पाँच डिग्री अधिकतम तापक्रम मापन भएको छ।

यस्तै, जोमसोममा २२ दशमलव पाँच, धरानमा ३३ दशमलव छ, लुम्लेमा २५ दशमलव पाँच, जनकपुरमा ३५ दशमलव आठ र दोलखाको जिरीमा २४ दशमलव  चार डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ।

आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

हाल कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका  एक/दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भएको छ।

आगामी २४ घण्टामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here