राष्ट्रदेव भगवान् पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्। पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरू प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिंदै गरिएकामा भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजे खोलिनेछन्।” यसअघि महाशिवरात्रि, हरितालिका तीज र बाला चतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो।