सिबी अधिकारी/

काठमाडौं, १६ जेठ/रासस

सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो। मे २१ मा सगरमाथाको चुचुरोनजीक भएको सो जामको समाचार बिबिसी, सिएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रसारण गरे। समाचारसँगै छापिएको थियो, सगरमाथा आरोहीको भीडको तस्वीर। यति विषय पाएपछि सामाजिक सञ्जालमा नआउने झन् कुरै भएन। तर यता नेपाल सरकारद्वारा गठित छानबीन समितिले भने सगरमाथामा जाम नभई लाम लागेको निष्कर्ष निकालेको थियो।

पछिल्लो समय हरेक वर्षजसो सगरमाथामा आरोहीको जाम हुने गरेको छ। सगरमाथाको साउथ कोल भनेर चिनिने चौथो शिविर माथितिर हरेक आरोहणको याममा आरोहीको भीड लाग्ने गरेको छ। मौसम अनुकूल आरोहण अवधि छोटो समय भएकाले सबै आरोही एकैपटक गन्तव्यमा पुग्नुपर्ने बाध्यताले सगरमाथामा आरोहीको जाम हुने गरेको आरोहीको अनुभव छ। सगरमाथा आरोहणको समयलाई व्यवस्थित गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या बाक्लो भएपनि आरोहीको ट्राफिक जाम कम हुने सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठ बताउँछन्। “समिट विन्डो’ कम हुने भएकाले सगरमाथामा आरोहीको जाम हुने गरेको छ,” उनले भने, “मे महीनाका सीमित केही दिनमा मात्रै आरोही चुुचुरोमा पुग्नुपर्ने बाध्यता हुन्छ।”

चुचुरो आसपासमा हिमपात र वायुको गतिजस्ता चुनौती केही सहज बन्छन्। त्यही दिनलाई व्यग्रतासाथ कुरे मौसमी हिसाबकिताब गर्दै आरोहीहरू चुचुरोसम्म पुग्छन्। ‘समिट विन्डो’ भनिने त्यस्तो छोटो समयमा अरू बेला प्रतिघण्टा दुई सय किलोमिटरको वेगमा हुने चुचुरोमा चल्ने वायुले केही उत्तरतर्फ मार्ग फेर्छ। यस्तो विन्डो एक/दुई दिन र कहिले दिनमैं धेरैपकट फेरबदल भइरहन्छ।

श्रेष्ठका अनुसार वसन्तयाम सगरमाथा आरोहणको उपयुक्त समय हो। मे महीनामा सामान्यतया पाँच/छ वटा त्यस्ता विन्डो देखिन्छन्। सगरमाथा आरोहणका लागि अलि फराकिलो विन्डो भएका बेला धेरैजसो आरोही उकालो लाग्न थाल्छन्। ढिलो गर्दा कहिलेकाहीं पछिल्ला अवधिमा विन्डो देखा नपर्न सक्ने जोखिम भएकाले आरोहीहरू अघिल्लो विन्डोमा जान खोज्छन्। यस्तै, परिस्थितिमाझ सगरमाथामा ट्राफिक जामको अवस्था सिर्जना हुने गरेको आरोही श्रेष्ठले बताए। सगरमाथा आरोहण शुरू हुने १५ दिनअगाडि नै ‘रोप फिक्सिङ’ गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या पाँच/छ सय भएर पनि केही फरक नपर्ने आरोही श्रेष्ठको भनाइ छ।

आरोही श्रेष्ठले सगरमाथामा आरोहणको प्रतिस्पर्धा, पर्वतारोहणको तयारीविनै रेकर्डको होडबाजीले सर्वोच्च शिखर पुग्ने सस्तो लोकप्रियताले सगरमाथाको गरिमा घटाउने बताए। विदेशी मुद्राका लागि पर्यटनमा उच्च निर्भर नेपालका लागि आरोहीको सङ्ख्या बढ्नु सुखद भएपनि अन्तर्राष्ट्रियजगत्मा यो सङ्ख्यालाई विभिन्न नकारात्मक टीकाटिप्पणी गर्न थालिएको उनको भनाइ छ।

पछिल्लो पाँच वर्षयता सगरमाथामा आरोहीको भीड लाग्ने गरेको छ। एकै दिन एक सयभन्दा बढी आरोही चुचुरोमा पुगेको विषयले पनि निकै चर्चा पाइरहेको छ। वसन्त ऋतुको यो याममा पनि सगरमाथाको चुचुरोमा आरोहीको जाम भएको श्रव्यदृश्य  सामाजिक सञ्जालमा छाएको छ। पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुड्ढा अनुसार यस याममा ४२१ जनाले सगरमाथा आरोहणको अनुमति लिएकामा शेर्पा सहयोगीसहित छ सयभन्दा बढीले आरोहण गरेका छन्। अघिल्लो वर्ष सन् २०२३ मा हालसम्मकै बढी ४७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए। उनीहरूमध्ये शेर्पा सहयोगीसहित सात सयभन्दा बढीले सगरमाथा आरोहण गरेको जनाइएको छ।

सगरमाथा आरोहणमा जाने आरोहीको कोटा र आरोहण समयमैं तोक्न हालै सर्वाेच्च अदालतले आदेश दिएको छ। अधिवक्ता दिवकविक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा गत वैशाख १४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुषमालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेको हो। उक्त आदेश अनुसार अब हुने पर्वतारोहणको क्रममा पर्वतको सामथ्र्यताको सम्मान गर्दै उसको सीमाको मान्यता दिनुपर्ने भनेको छ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथा आरोहणमा निश्चित सङ्ख्या निर्धारण हुनु जरुरी भएको बताए। उनले भने, “सगरमाथा आरोहण ‘लिमिट’ गरिनुपर्छ। सङ्ख्या बढी हुँदा आरोहीको जाम लाग्ने, फोहर हुने, अन्य जोखिम पनि बढ्ने हुँदा आरोहीको सङ्ख्या तीन सय हाराहारी हुँदा भीडभाड कम र फोहरमैला व्यवस्थापनमा पनि सहज हुन्छ।”

महासचिव लम्सालले यस याममा पनि सगरमाथामा जाम लागेको तस्बिर सामाजिक सञ्जालमा आइरहेको भन्दै सगरमाथाको सानलाई बचाउन, जलवायु परिवर्तनको जोखिमबाट जोगाउन, स्वच्छता कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए। सगरमाथमा जाम हँुदा अक्सिजन कम भएर आरोहीको मृत्यु हुने जोखिम रहन्छ। विभागका अनुसार यस याममा सगरमाथा आरोहणका क्रममा नौजनाको मृत्यु भएको छ। अघिल्लो याममा १८ जनाको मृत्यु भएको थियो। यस वर्ष मकालु हिमालमा पनि दुईजना आरोहीको मृत्यु भएको छ।

७१औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा सगरमाथाको पहिचान र गौरवलाई कायम राख्न अपनाउनुपर्ने सचेतनाबारे पनि उत्तिकै ध्यान दिन जरुरी छ। विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार ८४८ दशमलव ८६ मिटर)को चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिखका दिन दुईजना साहसी पर्वतारोही नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए।  यो अवधिमा सगरमाथाले इज्जत, मान, प्रतिष्ठा र आर्थिक हिसाबले पनि नेपाललाई मात्रै होइन, विश्वलाई धेरै दिएको छ। विश्वको साझा सम्पत्तिको रूपमा रहेको सगरमाथालाई जोगाउनु पनि साझा दायित्व हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ सगरमाथा देशको सान, अन्तर्राष्ट्रिय साझा सम्पदा पनि भएकोले यसको संरक्षण गरी पहिचान र गरिमालाई  उँचो बनाउन सबै तवरबाट पहल हुनुपर्ने बताउँछन्। “सगरमाथा नेपालको भूमिमा रहेको अन्तर्राष्ट्रिय सम्पदा हो, यसलाई प्रवद्र्धन गरेर नेपालमा बढीभन्दा बढी पर्यटक भिœयाउने हाम्रो उद्देश्य हो, त्यसका लागि विगतबाट सिकेर आगामी दिनमा गर्नुपर्ने काम पक्कै पनि गर्नेछौं,” उनले भने। सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन विगतको भन्दा यस वर्ष व्यवस्थापकीय हिसाबले धेरै सकारात्मक काम भएको मन्त्री तामाड्ढो भनाइ छ।

सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको, आरोहीको उद्धार केन्द्र बनाउनेलगायत गर्नुपर्ने कामलाई आगामी दिनमा प्राथमिकता दिने पर्यटनमन्त्री तामाड्ढो भनाइ छ। उनका अनुसार सगरमाथा दिवसका अवसरमा यसपटक स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। साथै कीर्तिमानी आरोही, विदेशी आरोहीलाई सम्मान गरिनेछ।

यसरी बर्सेनि आरोहीको ट्राफिक जामले सगरमाथाको सान जोगाउन चुनौती बनिरहेको छ। सगरमाथालाई वातावरणमैत्री, सफा राख्न नेपाल मात्र होइन विश्वकै ध्यान जान जरुरी छ। विश्वको सम्पदा संसारकै अग्लो चुली सगरमाथाको गरिमालाई कायम राख्न तथा जलवायु परिवर्तनको जोखिमबाट यसलाई जोगाउन ध्यान दिनुपर्ने अपरिहार्यता छ। आरोहीको सङ्ख्या बढ्दा देशको अर्थतन्त्रमा समेत टेवा पुग्छ। तर पैसालाई मात्र हेरेर हिमालको संरक्षण नगर्ने हो भने एक दिन सगरमाथा पनि कालापत्थरमा परिणत नहोला भन्न सकिन्न। पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीले रु ११ लाख दस्तुर तिर्नुपर्छ। नेपालीले रु ७५ हजार तिर्नुपर्छ। विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन्। मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै ‘रोयल्टी’ उठ्छ। हिमाल आरोहणबापत वार्षिक झन्डै रु एक अर्ब रोयल्टी रकम जम्मा हुने गरेको छ।

पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले सगरमाथा आरोहणमा रोजगार, होटल व्यवसाय, हवाई उडान, पोर्टर आदि जोडिएको विषय भएकाले यस विषयमा नीति थितिबेगर यसो गर्ने भनेर भन्न नसकिने बताए। तथापि सगरमाथा आरोहणलाई व्यवस्थित गर्न र स्वच्छता र वातावरणमैत्री कायम गर्न सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here