उच्च रक्तचाप संसारभर एउटा आम समस्या हो। यसले मुख्यतया मुटुसँग सम्बन्धित रोग निम्त्याउँछ। तर के तपाईंंलाई थाहा छ यसले तपाईंको छालामा पनि असर पार्छ ? छाला शरीरको बाहिरी आवरण मात्र होइन, यो हाम्रो सबैभन्दा ठूलो अङ्ग हो, जसले हाम्रो बाहिरी स्वास्थ्य झल्काउँछ।
जब उच्च रक्तचापले रक्त प्रवाह र परिसंचरणलाई असर पार्छ, यसले छालामा पोषक तत्व र अक्सिजन पुग्न बाधा पु–याउँछ। यसले छालामा सुख्खापन वा नीरसपनजस्ता समस्या निम्त्याउन सक्छ। जसले गर्दा एरिथेमा र पेटिकियाजस्ता गम्भीर अवस्था पनि निम्तिन सक्छ। साथै घाउ निको हुन पनि ढिलाइ हुन सक्छ।
रक्तचापले छालालाई कसरी असर पार्छ : उच्च रक्तचापले छालामा रक्तसञ्चारमा असर पार्छ। यसले नसाहरू खुम्चिन थाल्छ। जसले गर्दा छालामा रगत प्रवाह कम हुन्छ। नतीजाको रूपमा प्रतिरक्षा कोशिकाहरू समाप्त हुन्छन् र छाला पुनः उत्पन्न गर्न वा मरम्मत गर्न असमर्थ हुन्छन्।
रातोपन : छाला रातो हुनु उच्च रक्तचापको सामान्य लक्षण हो, जसलाई एरिथेमा भनिन्छ। यो तब हुन्छ जब नसाहरू छालाको सतह नजीकै विस्तार हुन थाल्छ। यसले अनुहारमा रातोपन निम्त्याउँछ, जसलाई प्रायः रुद्र रङ्ग भनिन्छ। यो उच्च रक्तचाप नियन्त्रण नभएका मानिसहरूमा देखिन्छ।
गम्भीर रक्तचाप : लामो समयसम्म गम्भीर उच्च रक्तचापले छालालाई पातलो र कमजोर बनाउन सक्छ। यसले चोटपटक वा घाउ बन्ने जोखिम बढाउँछ र घाउ निको हुन पनि ढिलाइ हुन सक्छ। उच्च रक्तचापको चायापोतो र सोरायसिसजस्ता छालाका रोगहरूसँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसले यी रोग बढाउन सक्छ।
उच्च रक्तचापले छालालाई मात्र असर गर्दैन, शरीरका अन्य अङ्ग र प्रणालीहरूमा समस्या हुँदा छालामा पनि यो सङ्केत देखा पर्न सक्छ।
मधुमेह, मिर्गौला रोग र हृदय रोग यी सबै रोगले छालामा समस्या हुन सक्छ। त्यसैले छालाको स्वास्थ्य जोगाउन उच्च रक्तचापलाई नियन्त्रणमा राख्नु जरूरी छ। शारीरिक गतिविधि, तौल कायम राख्ने, नुनको सेवन कम गर्ने, रक्सी र तनावबाट जोगिनुपर्छ। यसले रक्तचाप नियन्त्रणमा राख्न मदत गर्छ। साथै कोमल क्लिन्जर, मोइस्चराइजर र सनस्क्रिन प्रयोग गरेर पनि छालाको उचित हेरचाह गर्न सकिन्छ।