मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार १७२ परिवारले स्वास्थ्य बीमा गराएका छन्। मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरूपमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ।
सरकारी अस्पतालमा उपचार गराउँदा १० प्रतिशत तथा निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत खर्च बिरामीले बेहोर्नुपर्ने तथा बाँकी रकम बीमा बोर्डले बेर्हाेने प्रावधान लागू भएपछि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढेको सो बोर्डका मधेस प्रदेश संयोजक मनोज पौडेलले बताए। उनका अनुसार सबैभन्दा बढी सिराहा जिल्लामा एक लाख २२ हजार २७१, सर्लाही जिल्लामा ४० हजार ६६८, सप्तरी जिल्लामा ९४ हजार २०, धनुषा जिल्लामा ५४ हजार ९६७, महोत्तरी जिल्लामा ४९ हजार २५७, रौतहट जिल्लामा ८३ हजार ६२२, बारा जिल्लामा ६८ हजार २३८ तथा पर्सा जिल्लामा ९१ हजार ६२४ परिवारले स्वास्थ्य बीमा गरेका छन्।
स्वास्थ्य बीमामा सहभागी हुन पाँचजना सदस्य भएको परिवारले वार्षिक तीन हजार पाँच सय प्रिमियम रकम तिर्नुपर्छ भने पाँचजनाभन्दा बढी सदस्य बराबरको सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्नेछ।
बीमित परिवारमा सदस्य बिरामी हँुदा एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्दै आएको छ। कतिपय अस्पतालमा सरकारले बीमाबापतको रकम समयमा उपलब्ध नगराउँदा बीमा कार्यक्रम रोकिएको अस्पतालले जनाएका छन्।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत रहेको सो बीमाका सम्बन्धमा स्वास्थ्य बीमा बोर्डको कार्यालयले बीमा दर्ता सहयोगीहरूका लागि पुनर्ताजगी कार्यक्रम गरिरहेको पौडेलले जानकारी दिए।