सिराहा, २४ वैशाख/रासस
सिराहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नूनलगायत दैनिक उपभोग्य सामग्री वितरण गरेका हुन् ।
राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्निपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद उपलब्ध गराउने बताए । “पीडितलाई जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो,” उनले भने, “दलित तथा विपन्न समुदायलाई स्थानीय सरकार भएको महसूस गराउनु जनप्रतिनिधिको प्रमुख दायित्व हो ।” एक साताअघि पीडित बस्दै आएको घर तथा कटेरोमा आगलागी भएको थियो ।
यसअघि मुस्लिम समुदायबाट पनि मोहम्मद सेराजको अगुवाइमा पीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको थियो । आगोले घर जलेपछि अस्थायी संरचना बनाउन स्थानीयले सहयोग गरिरहेका छन् ।