गोपालप्रसाद बराल

महोत्तरी, २४ वैशाख/रासस

‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ मधेसका आदिवासी मुसहरसँग जोडेर भन्ने गरिएको आहान हो यो । त्यसैगरी, मुसहरको सम्पत्तिसँग जोडेर ‘पेरवा धन, मुसहर जन’ भन्ने पनि गरिन्छ । यसको अर्थ मुसहर समुदायमा घरमा रहेका सदस्य र काम गर्ने हातपाखुराबाहेक सञ्चय गर्न अरू सम्पत्ति नहुने गरेको भन्ने गरिन्थ्यो । अहिले भने त्यो मान्यता र भनाइलाई चिर्दै महोत्तरीको बर्दिबास नगर क्षेत्रका मुशहरहरूमा अवसरको खोजी र धन सञ्चय गर्ने बानीको विकास हुन थालेको छ ।

आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक अवसरबाट टाढा रहेका मुसहरमा पछिल्लो समय बढ्दै गएको चेतनाका कारण क्रमशः आर्थिक गतिविधिमा सरिक हुने र भविष्यका लागि जोहो गर्ने मोह जाग्दै गएको छ । यस कार्यमा बर्दिबास नगरपालिकाले सञ्चालन गरेको तीन वर्षे लघु जीवन बीमा कार्यक्रम निकै सहयोगी भएको छ ।

मुसहर आमरूपमा आज खाने तर भरे, भोलिको चिन्ता गरेर सञ्चय नगर्ने समुदाय भनेर चिनिंदै आएका छन् । एकाबिहानै गिरहत (काम दिने व्यक्ति) कहाँ काम गर्ने र त्यसबापत पाएको बनी (पारिश्रमिक)को आधा रकमले चामल र आधाले मरमसला किन्ने, दिउँसो घोङी र माछा मार्न जाने, साँझ परिवारका सबै सदस्य एकसाथ बसेर खाने मुसहरको आम चलन नै हो । काममा सबै सँगै, खान पनि सबै सँगै भन्ने नीति यो समुदायको विशिष्ट परम्परा हो ।

महोत्तरीको एकडारा गाउँपालिकास्थित भटौलिया बस्तीका सामाजिक अगुवा विजय कर्ण मधेसका अन्य जाति समुदायमा नदेखिने यो चलन मुसहरको विशिष्ट संस्कृतिका रूपमा रहेको बताउँछन् । “कृषि कार्यमा पोख्त मानिने मुसहर एकाबिहानै काम गरेर पाएको बनीले त्यो दिनको गर्जो टर्ने भएपछि दिउँसो कसैकहाँ काम गर्न जाँदैनन् । ‘कमाइ ल्यायो, भुटी खायो’ आहान पनि प्रयोग हुने यो समुदायलाई यसै कारण ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ भन्ने कहावत (आहान)सँग जोडिन्छ,” कर्णले भने । सामान्यतया घरआँगनको खोपमा पालिने परेवा भोलिपल्टै अर्कैको खोपमा पुग्छ, त्यसैले यो धन स्थिर मानिंदैन भनेझैं मुसहरले पनि भोलि कहाँ र के काम गर्ने भन्ने टुङ्गो हुँदैन । यसैले यो समुदायसँग जोडेर मधेसमा ‘पेरवा धन, मुसहर जन’ भन्ने गरिएको कर्णको भनाइ छ । 

नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले पुस्तौदेखि यस्तै गर्दै आइरहेका मुसहर समुदायको बानीबेहोरा बदल्न र सञ्चय गर्ने संस्कार बसाल्न अहिले नगरपालिकाले सामूहिक बीमा कार्यक्रम सञ्चालन गरेको बताए । सञ्चिति अभियानका लागि हाल वडा नं १०, १२ र १४ का गरी २३५ परिवारका ३५३ जनालाई ‘सामूहिक म्यादी जीवन बीमा’ कार्यक्रममा आबद्ध गराएको उनले जानकारी दिए । जीवन बीमामा जोडिएका मुसहरमा अब क्रमशः कमाएको रकम सञ्चय गर्ने बानी विकास हुँदै गएको क्षत्रीको भनाइ छ । “चरम गरीबी, अशिक्षा र सामाजिक चेतनाको कमीले कष्टकर जीवन बिताइरहेका मुसहर समुदायलाई क्रमशः अर्थोपार्जनका लागि अवसरमा जोड्दै सञ्चय अभियान शुरू गरेका छौं । यसको प्रारम्भ भने बीमाबाट गरेका छौं,” नगरप्रमुख क्षत्रीले भने, “यस कार्यले उहाँहरूमा अर्थोपार्जनका अवसरमा रुचि बढाउँदै नानीबाबुहरूलाई विद्यालय पठाउन र कमाएको केही अंश बचत गर्ने बानी बस्दैछ ।”

केही कागजात अपुग भएकाबाहेक १८ देखि ६९ वर्षसम्मका नगर क्षेत्रका सबै मुसहर यस कार्यक्रममा समेटिएका छन् । नगरपालिकाले नै बीमा रकम एकमुस्ट जम्मा गरिदिएर यो कार्यक्रम शुरू गरेको हो । हाल बर्दिबास–१० खयरमाराका २५ परिवारका ४३ जना, वडा नं १२ विजलपुराका १५० परिवारका २०२ र बर्दिबास–१४ नमूना मुसहर बस्तीका ६० परिवारका १०८ जना यो अभियानमा जोडिएको नगरपालिकाले जनाएको छ । नगरपालिका र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड बर्दिबास शाखाका प्रतिनिधिले टोलबस्तीमैं पुगेर उनीहरूलाई बीमामा जोडेका हुन् ।

मधेसका सीमान्तकृत जातिमा पर्ने मुसहरको भविष्य सुरक्षित गर्न, आफ्ना हितका विषयमा सजग गराउन र राज्यबाट प्रदान गरिने अवसरमा जोड्न प्रारम्भिकरूपमा बीमा कार्यक्रममा जोडिएको नगरप्रमुख क्षत्रीले बताए ।  कठोर मेहनत गर्ने मुसहर अब भवितव्यमा परे वा गम्भीर बिरामी भए बीमाले निश्चित दायित्व पूरा गर्ने बन्दोबस्त भएकाले सो समुदायका व्यक्तिहरू अहिले उत्साहित भएका छन् । तीन वर्षे अवधिको यो बीमामा क्रमशः उमेर पुग्दै गएका मुसहरलाई आबद्ध गराउँदै जाने नगरपालिकाको योजना छ ।

यसका साथै नगरपालिकाले मुसहर समुदायमा उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई निरुत्साहन गर्न नगद प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको छ । सानै उमेरमा विवाह गर्ने र सरकारले विवाहका लागि तोेकेको उमेर (२० वर्ष) सम्म दुई/तीन सन्तान जन्माइसक्ने मुसहर महिलामा यसै कारण गम्भीर स्वास्थ्य समस्या देखिएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

उमेर पुगेर मात्रै बिहे गर्न उत्प्रेरित गर्ने उद्देश्यसाथ नगरपालिकाले २० वर्ष पूरा भएपछि बिहे गर्ने नगर क्षेत्रका मुसहर दम्पतीलाई रु ५० हजार प्रोत्साहन दिइने घोषणा गरिसकेको छ । अहिलेसम्म यो मापदण्ड अनुसार विवाह गर्ने बर्दिबास–१४ का मञ्जय सादा मात्र छन् । मञ्जय स्नातक तह उत्तीर्ण गर्ने बर्दिबासकै पहिलो मुसहर पनि हुन् । उनले यही वैशाख ६ गते आपूmजस्तै उमेर पुगेकी मुसहर महिलासँग विवाह गरेपछि नगरपालिकाले घोषणा गरे अनुसारको प्रोत्साहन रकम पाएको बताए ।

महोत्तरी जिल्लाका सबै (१५ वटै) स्थानीय तहमा धेरथोर बसोबास रहेको मुसहर समुदायको जनसङ्ख्या विसं २०७८ सालको राष्ट्रिय जनगणना अनुसार २७ हजार ३५२ छ । यो जिल्लाको कुल जनसङ्ख्याको तीन दशमलव ८७ प्रतिशत हो । यति जनसङ्ख्या भएका मुसहरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरा गर्नेहरू औंलामा गन्न सकिने अवस्थामा छन् ।

जलेश्वर–४ निवासी शिक्षाविद् कृष्णचन्द्र झा मुसहर समुदायको आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्था सुधार गरी विकासको मूलप्रवाहमा जोड्न आवश्यक रहेको बताउँछन् । बर्दिबास नगरपालिकाले थालेको अभियानजस्तै जिल्लाका अन्य स्थानीय तहले पनि मुसहर लक्षित कार्यक्रम सञ्चालन गर्न सके चाँडै सकारात्मक नतीजा आउने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here