बरहथवा (सर्लाही), २४ वैशाख/रासस

जिल्ला कारागार, सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महीनामैं कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार, मलङ्गवा, सर्लाहीमा १६० जना पुरुष र ५० जना महिला गरी २१० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर २४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले जानकारी दिए ।

जेलर मिश्रका अनुसार महिला सेलतर्पm २३ जना कैदीबन्दी छन् । पुरुषतर्पm २२० जना पुगेका छन् । पुरुषतर्पm कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए । “महिला सेलतर्पm कम छन्,” जेलर मिश्रले भने, “तर पुरुषतर्पm क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् । हामीले बरण्डा लगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौं ।”

कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरूमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचमकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ ।

सो कारागार ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए । जीर्ण भएका कारण बन्द गरेर २०६९ माघदेखि निर्माण शुरू गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो ।

यसैबीच, कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्ने सरकारको नीति अनुसार कैदीबन्दीलाई क्षमता र इच्छा अनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताए । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ ।

कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैंचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुनेलगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरूले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here