रञ्जीता अधिकारी
देउखुरी (दाङ), १८ वैशाख/रासस
२०८१ वैशाख १६ गते बिहान करीब १० बजेतिर घरदेखि पश्चिमतिरको जङ्गलमा आगो लागेको थियो । सो आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री गएका थिए । गाउँले सबै त्यहीं गएका समयमा छिमेकीको एउटा घरलाई आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमैं खरानी भयो । छोरालाई हेभी लाइसेन्स बनाउन भनी ऋण लिएको रु एक लाख र घरमा भएको २० हजार पनि जल्यो । अन्नपातदेखि सबै सामग्री खरानी भयो ।

यस्तो होला भनेर सोचेका थिएनौं, अहिले खुला आकाशमुनि बस्नुपरेको छ खत्रीले भने । पाँच बोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो । घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही झिक्न नपाएको उनले बताए । लगाएको लुगाबाहेक केही बचेको छैन । कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो । त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौं उनले भने ।

सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ । आगो एक्कासि घरमा आयो, चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौं बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो । सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो भण्डारीले भने–“छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए ।” आगालागीले सबै जलेपछि केही सामग्री आएको छ, तर पकाउनका लागि भाँडा छैन । उनको जुत्ता–चप्पलसमेत डढेर खाली खुट्टा हिंड्नु परेको थियो ।

सोही गाउँकी मिनीकुमारी बोहराको पाँचजनाको परिवार पनि खुला आकाशमुनि बसेको छ । घरको अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो । मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवाबासी गर्न थाल्यौं । घर नजीकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन । गाउँले सबैको घर छिनभरमैं खरानी भयो । घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन् ।

वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमैं थिए । घटनाबारे जानकारी प्राप्त हुने बित्तिकै त्यहाँ पुगेको उनले बताए । पीडितहरूको उद्धारका लागि उनी लागिपरेका छन् । प्रहरीसँग सहकार्य गरेर क्षति–विवरण सङ्कलन गर्न लागेका छन् । बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उनले बताए ।

नजीकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएको कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताए । आगलागीबाट २३ घर र ११० जना प्रभावित भएका छन् । आगलागी स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित भएपनि पानीको पर्याप्त स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए । गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । रूखहरू जलेर धूवाँ उडिरहेको छ ।

पानी र बत्तीको समस्या
गर्मी मौसम शुरू भएपछि जङ्गलमा आगो लाग्यो खानेपानीको पाइप सबै जले । त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो । एक घण्टाको दूरीमा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताइन् । एक घण्टाको उकालीओराली गरेर ल्याएको पानीले जीविका चलेको छ भण्डारीले भनिन्– “आगलागी भएपछि गाउँमा बिजुलीबत्ती छैन । तीन दिन भयो, बत्ती नभएकोले मोबाइल फोन चार्ज गर्नसमेत गर्न सकेका छैनौं । सञ्चारविहीन भएका छौं ।”

आगलागीपीडितलाई स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल
दाड्ढो राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति बेहोर्नुपरेको घटनाप्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ । वैशाख १६ गते नजीकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २३ घरगोठ जल्दा दर्जनौं चौपाया, पक्षी मर्नाका साथै अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर गाउँ नै खरानी भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित गाउँलेको उद्धारपछिको उचित राहत व्यवस्थापनामा ध्यान दिन सबैमा हार्दिक अपील गरेको छ ।

नागरिक समाज दाड्ढा संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ । पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात गरेर उदार मनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, व्यापार सङ्घ, रेडक्रस, उद्योगी, व्यवसायी एवं सबै मनकारीमा नागरिक समाज दाङले अनुरोध गरेको छ ।

आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानी सहज उपलब्ध गराउन आग्रह गरेको छ । आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ । विपन्न परिवार बसोवास गर्ने घरको खरको छाना विस्थापन गरी टिन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपद्बाट क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो विस्थापन अभियान कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराइएको छ ।

बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकारवाला सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताए । साथै, नागरिक समाजले आगलागीको घटनालगत्तै उद्धारमा अहोरात्र खटेर सुरक्षा दिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलियावासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ ।

आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति
गाउँँका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, दाड्ढा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले बताए । पीडितलाई राहतस्वरूप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट, म्याट र त्रिपाल वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here