गुल्मी, ९ वैशाख/रासस
गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घरगोठ जलेका छन् । दर्जनौं पशुचौपाया आगोले गोठमैं जलेर मरेका छन् ।
शनिवार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि इस्माका सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । स्थानीयवासीलाई आगो निभाउनेभन्दा पनि कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।
इस्मा गाउँपालिकामा आगलागीबाट शनिवार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका– २ सिदुङ्खाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङ्खामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन् ।
त्यसैगरी, इस्मा गाउँपालिका–४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेका छन् । सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए । आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन् ।
इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण ट्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उनीहरू खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शङ्करप्रसाद पोखरेलले बताए ।
आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, किट, लाइट, पानी, चाउचाउ, भाँडाकुँडालगायतका सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
आगलागी क्षेत्रमा स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालयलगायतको टोली परिचालन गरेका छन् । इस्माको हुल र कोटकोटेरी दुई स्थानमा डढेलो लागेको छ । हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बङ्गला, सूर्य र गुञ्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् । एक भैंसी र नौ बाख्रा मरेका छन् ।
इस्मा गाउँपालिका–४ कै कोटकोटेरीमा जङ्गलको डढेलो बस्ती पसेपछि स्थानीयवासी ऋषिराम खनाल, बलबहादुर दर्जी, सरीता अधिकारी, ज्ञानु अधिकारी, विमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकका घर र खगेश्वर विकको बङ्गला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । गाउँमा पाइप जलेपछि खानेपानीको अभाव भएको छ ।
शुक्रवार र शनिवार गरी इस्मा, रेसुङ्गा, गुल्मीदरबार, रुरुलगायतका क्षेत्रमा डढेलो लागेको थियो । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुई दिनदेखि लागेको डढेलो अझै निभेको छैन ।