कमलकुमार बस्नेत
काठमाडौं, ६ वैशाख/रासस
दिनको पहिलो प्रहर शुरू भइसकेको थिएन । नेपालगंजको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरूले नजीकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरू सवार बस विमानस्थलतर्पm लाग्यो ।

विमानमार्पmत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात् कैलाश पर्वत र मानसरोवर ताल आँखैअगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो ।

हिन्दू धर्ममा कैलाश पर्वतलाई महादेवको घर मानिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलाषाले तीर्थयात्रीहरूको अनुहार उज्यालिएको थियो । “विमानले जसै ‘टेकअफ’ गरी उत्तरतर्पm उचाइ बढाउँदै गयो, यात्रीहरूको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो । झन्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमानजीकै पुग्यो,” पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने ।

विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका यात्रीहरूले दुई हात जोडेर नमस्कार गरे । उनीहरूका आँखैअगाडि महादेवको घर अर्थात् कैलाश पर्वत विराजमान थियो । उनीहरू मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे ।

यत्तिकैमा विमानमा रहेका पण्डितले यात्रीहरूको ध्यानाकर्षण गराए । सबैलाई कैलाशतर्पm फर्किएर हात जोड्न लगाउँँदै मन्त्रोचारण गर्दै विमानभित्रैबाट पूजा शुरू गरे । सामान्य पूजा सकाएपछि उनले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महŒव, आस्था र इतिहासबारे जानकारी गराउन थाले ।

महादेवको बासस्थान आँखैअगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरू पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए । विमानले तीन/चार फन्को लगाइसकेको थियो ।

कैलाशलाई साक्षात् दर्शन गर्न पाउँदाको खुशी यात्रीहरूहरूको आँखाबाट छल्किरहेको थियो । कोही आँखाभरि खुशीका आँसु बगाउँँदै एकोहोरो कैलाश पर्वत हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप शुरू गरिरहेका थिए ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीस्थित ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्पmत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ । यात्रीहरूको आवासीय प्रबन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ ।

बुधवार रामनवमीको दिन कैलाश दर्शनका लागि सातवटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो । जसमा आठजना नेपाली र २३४ जना भारतीय पर्यटकले कैलाश पर्वतको दर्शन गरेका थिए ।

कैलाश पर्वत दर्शनपछि उनीहरूले नेपालगंज फर्केर रुद्राभिषेक पूजासमेत गरेका थिए । पथिल होलिडेजले नयाँ गन्तव्यका रूपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ ।

“हाम्रालागि भारत ठूलो बजार हो, हामीले भारतका विभिन्न शहरबाट दर्शनार्थीहरूलाई यहाँ ल्याएर माउन्टेन फ्लाइटमार्पmत कैलाश पर्वतको दर्शन गराउँछौं,” न्यौपानेले भने, “तीर्थयात्रीहरूलाई दुईतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेज बनाएर यात्रा सहज बनाइरहेका छौं ।”

भारतको कोलकाताबाट कैलाश दर्शन गर्न मङ्गलवार साँझपख नेपालगंज आइपुगेकी सञ्चिता गाँगुुलीले यो आफ्नो जीवनको महŒवपूर्ण पल भएको बताइन् । “हामी यहाँ योजना बनाएर आएका थिएनौं, सायद महादेवको आशीर्वाद थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो,” उनले भनिन् ।

उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकामा आफूलाई निकै भाग्यमानी ठानेको बताइन् । पछिल्ला केही वर्षयता भारतीयहरू भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन् ।

भिसा, समय तथा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्पmतको कैलाश पर्वतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलुरुबाट आएका ८० वर्षीय विशाल कुँवरले बताए ।

कैशाल पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आएका विनोद शर्माले बताए । उनले भने, “जीवनमा यति सहज ढङ्गले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइनँ । म यो खुशीको बयान गर्न निश्शब्द छु ।”

उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए । आफूहरू कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएको महसूस भएको बताए ।

गत माघदेखि नेपालगंजबाट कैलाश पर्वत दर्शनका लागि शुरू गरेको पर्वतीय उडानमार्पmत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन् । साथै यही वैशाख १० गतेका लागि करीब दुर्ई सय भारतीय नागरिकले बुकिङ गरिसकेको पथिल होलिडेजले बताएको छ ।

उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष टङ्क धामीले नेपालगंजमा नयाँ पर्यटकीय गन्तव्यका रूपमा माउन्टेन फ्लाइट भएको भन्दै यसमार्पmत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे । उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here