होली प्रसिद्ध पर्व हो । पहाडभन्दा तराईमा निकै उत्साहपूर्वक मनाइन्छ । निकै पहिलेदेखि मनाइँदै आएकोले यो पर्व बिस्तारै पर्वहरूको समूह बन्न गएको छ । होलीको प्रतीक्षा सबै वर्ग तथा समूहले गरिरहेको हुन्छ । मधेस प्रदेशमा निस्सन्देह सबैभन्दा ठूलो पर्व छठ हो । छठपछि ठूलो पर्वको रूपमा होली नै रहेको छ । होली सामाजिक डेटलाइन नै बनेको छ । कुनै पनि काम होलीभन्दा पहिले वा होली पछि हुन्छ भनिन्छ । होली मान्न विदेशिएका पनि घर आइपुग्छन् । घर आउनै नपाउने बाध्यात्मक परिवेशमा पनि सबैलाई सम्झेर आप्mनै ठाउँमा आप्mनै किसिमले मनाउँछन् । तर आप्mनो ठाउँमा मनाएको होलीभन्दा, प्रवासीहरूले जति रमाइलो गरे पनि खल्लो नै महसूस गर्दछन् । यसले होली वास्तवमा रङ र अबीर मात्र होइन, संस्कृति हो, समाज हो भन्ने पुष्टि हुन्छ । सामाजिक संस्कृति हो र सांस्कृतिक समाज हो । सांस्कृतिक समाज यस अर्थमा कि मन मिल्ने साथीहरूले सोही किसिमले संस्कृति मनाउँछन् र सोही किसिमको संस्कृति मनाउने समाज बनेको हुन्छ । अर्थात्, होली संस्कृतिभित्र अनेक उपसंस्कृति रहेका छन् । होली आफैंमा विशाल दायरा भएको पर्व भएकोले यसका अनेक पक्ष छन् । होलीका केही सान्दर्भिक पक्षबारे यहाँ सङ्क्षेपमा प्रकाश पारिएको छ ।
होलीको सांस्कृतिक पक्ष
होलीलाई खुला संस्कृतिको समुच्य मान्न सकिन्छ । होलीको दिन कम्तीमा एउटा नयाँ गन्जी हरेकले लगाउँछ । सक्ने तथा मन पराउनेले नयाँ कुर्ता, पैजामा वा धोती लगाएर होली खेल्छन् । होलीको दिन रंग र अबीरको कुनै ठेगानै हुँदैन । होलीमा जसले जति रंग–अबीर दलिदिए पनि हुन्छ वा जसको जिउमा जति रंग र अबीर खन्याइदिए पनि हुन्छ । हरेकपटक अलग आनन्द दिन्छ । सन्तुष्टि प्राप्त हुन्छ । अर्थात् होली व्यक्तिगत पनि हो र सामाजिक पनि । व्यक्ति मिलेर समाज बन्ने र समाजले केही वर्ष नियमित रूपमा टिकाएको कुनै चलन नै संस्कृति बन्ने हुँदा होलीको सांस्कृतिक पक्ष निकै बलियो रहेको छ । होलीको दिनलाई खानपान र नाचगान तथा अन्यान्य उत्सवको दृष्टिकोणले हेरिन्छ । यस दिन कसले कतिपटक के के खान्छ कुनै निश्चित हुँदैन । यसले अनेक संस्कृतिलाई आपूmमा समाहित गरिसकेको छ । यसैले होलीलाई सांस्कृतिक पर्व मान्दा पनि फरक पर्दैन ।
होलिका दहन गर्दा सम्भव भएसम्म गहुँ, चना, जौ र रहरको झार पोल्ने गरिन्छ । होलिका दहनमैं पोलेर घर ल्याइन्छ र एक वर्षसम्म घरमैं राखिन्छ । होलिका दहन नभएसम्म ग्रामीण क्षेत्रमा अझै पनि गहुँ वा चनाको ओरहा नखाने चलन छ । यद्यपि ओरहा खाने चलन नै कम भइसकेको छ तर पनि जे जति मानिसले खान्छन्, होलिका दहन नहुन्जेल मुखमा हाल्दैनन् वा बनाउन पनि दिंदैनन् ।
होलीको धार्मिक पक्ष
हाम्रा सबै संस्कृतिमा धार्मिक पक्षको अनिवार्य उपस्थिति हुन्छ अर्थात् धर्म र संस्कृतिको अन्योन्याश्रित सम्बन्ध देखिन्छ । धर्मले संस्कृतिलाई र संस्कृतिले धर्मलाई सहारा दिएको पाइन्छ । होलीको सन्दर्भमा पनि यो लागू हुन्छ । होलीको पनि शास्त्रीय सम्मति रहेको पाइन्छ । होलिका दहन तथा भगवान् नृसिंहको अवतार र भक्त प्रह्लादको कथाले होलीको पौराणिक पक्षसित सम्बन्ध राख्दछ ।
होलीको सम्बन्ध कृष्णसित पनि रहेको उल्लेख पाइन्छ । अहिले पनि सम्पूर्ण प्रमुख धार्मिकस्थलमध्ये भगवान् श्रीकृष्णको जन्मभूमिमा मनाइने होलीलाई विशिष्ट मानिन्छ । हुनत होलीमा रामयुगको पनि पर्याप्त चर्चा पाइन्छ । होलीका परम्परागत गीतहरूमा राम, सीता, जनकपुर, अयोध्या, दशरथ, लक्ष्मण, कौशल्या आदि पात्रको उल्लेख भएको पाइन्छ । होलीले पर्याप्त पौराणिक आधारहरू ग्रहण गरेको देखिन्छ ।
होलीको दिन हरेक घरमा विशेष पूजा गरिन्छ । हरेक घरमा आप्mनो कुलदेवता तथा कुलदेवीको पूजा गर्नुका साथै घरभित्र रहेका हरेक मूर्ति वा फोटो जससित आप्mनो धार्मिक विश्वास जुटेको हुन्छ, अबीर र अन्य सामग्री चढाई पूजा गरिन्छ । होलीको शुभकामना दिने वा आशीर्वाद लिने गरिन्छ । यसैगरी गाउँमा स्थानीय देवदेवीका मन्दिरमा पुगेर पूजा गर्दै रङ–अबीर चढाउने गरिन्छ । कतिपयले त बलि पनि दिने गर्दछन् । भाकल रहेकाले बलि दिएको हुनुपर्छ । अर्थात् होलीलाई धार्मिक पर्वको रूपमा पनि लिने गरिएको पाइन्छ ।
होलीको आर्थिक पक्ष
होलीमा अर्थतन्त्र चलायमान हुन्छ । होलीमा सबै खुलेर खर्च गर्न रुचाउँछन् । खाने र पिउने कुरामा कुनै सम्झौता गर्न चाहँदैनन् । शरीर, स्वास्थ्य र अर्थ सबैले थेग्नेगरी सर्वसाधारणले होलीमा खानपिउनमा पर्याप्त खर्च गर्दछन् । खान र पिउनको लागि हुने खर्चको जोहो पहिलेदेखि नै गरिन्छ । यो पनि सत्य हो, खर्च नगर्ने कोही हुँदैन । सबैले खर्च यस कारण पनि गर्दछन् कि सन्तुष्टि मिलोस् । आजभोलि घरमा मानिसहरूलाई बोलाएर भोजन गराउने, रङ र अबीर दल्ने तथा सम्भव भएसम्म केही मरमसाला दिने चलनले विस्तार पाइरहेको छ । यसमा पनि अर्थको ठूलो भूमिका रहेको छ । अर्थको दृष्टिकोणले विचार गर्ने हो भने होलीलाई आर्थिक सम्पन्नता देखाउने आधारको रूपमा पनि लिइन्छ । आर्थिक समृद्धिको सूचकको रूपमा यसमा गरिने खर्चलाई लिन सकिन्छ । यसैले होलीको समयमा बजार पूरै गुलजार हुन्छ । होलीको बजारमा मानिसले प्रायः सामानको मूल्य सोध्दैनन् । सामान लिएर सोझै दाम तिर्छन् ।
समाजमा होलीको आर्थिक पक्षलाई विचार गरेर यस पर्वलाई धनी पर्व मानिएको पाइन्छ । यस पर्वमा कोही भोको रहँदैन । सबैले सम्भव भएसम्म वर्षको सबैभन्दा मीठो र महँगो खानेकुरा खान खोज्छन् । कोही निकै विपन्न छ भने उसलाई सहयोग गर्न गाउँका मानिस अगाडि आउँछन् । धेरै त होइन, तर यति सहयोग अवश्य पुग्दछ कि उसले आफैंले गर्न सक्नेभन्दा निकै बढी अर्थात् उसको क्षमता र कल्पनाभन्दा बढी हुन्छ । यस पर्वमा पैसाले सहयोग होइन, पर्वमा खर्च हुने सम्पूर्ण सामग्री भने टोलछिमेकले मज्जाले सहयोग गरिदिन्छन् । मन फुकाएर खर्च गरिने यो पर्व खर्चको पर्व नै हो ।
मिलन र सद्भावको पक्ष
होलीलाई मिलन र सद्भावको पर्वको रूपमा लिने गरिन्छ । भनिन्छ–दुई दुश्मन पनि यस दिन अँगालो हाल्छन् र एक अर्कालाई रङ लगाउँछन्, अबीर दल्छन् । विगतका सबै तीतामीठा सम्बन्ध बिर्सेर यस दिन सौहाद्र्रतामा लाग्दछन् । पहिलेदेखि नै यो मान्यता रहेको छ कि होलीमा कुनै पनि किसिमको बन्देज हुँदैन, यहाँ बन्देजको अर्थ कोही शत्रु हुँदैन भन्नु हो । होलीमा सबै मित्र बन्दछन् । यहाँसम्म भनिन्छ कि होलीमा सबैलाई देवरजस्तै जिस्किने हक हुन्छ । ठूलो र सानोमा पनि जिस्क्याइँ सम्भव हुन्छ । यस जिस्क्याइँमा नै सम्बन्धको ठूलो बीउ लुकेको हुन्छ ।
होली खेल्न नातेदार, इष्टमित्र, साथीभाइ कहाँ जानेआउने चलन छ । एक अर्काको घरमा पाकेको खाने, आप्mनो घरमा पाकेको खुवाउने, अङ्कमाल गर्ने कुरालाई सम्बन्ध कसिलो बनाउने मनोविज्ञानको रूपमा लिन सकिन्छ । साँच्चीकै यो विशाल सद्भावको पर्व हो ।
गाउँ र टोलका सबै मानिस एक ठाउँमा जम्मा भएर अनेक बाजा बजाउँदै होलीको परम्परागत गीत गाउँदै झुम्मिनुलाई सबै किसिमको सम्बन्धको प्रवद्र्धक मान्न सकिन्छ । सामूहिकता र एकै स्वर हुनु यस पर्वको विशिष्टता हो । अहिले आधुनिकताले जतिसुकै छपक्क छोपेको भए पनि यथार्थमा यसको जग परम्परागत सामूहिकता नै हो र आधुनिकतालाई पनि यही सामूहिकताले डो-याएको छ ।
यदि होलीको अन्य पक्षलाई मसिनो गरी केलाउने हो भने यसले निकै गहिराइ प्राप्त गर्ने देखिन्छ । होलीलाई सबैले विकृतिरहित किसिमले मनाउने गरी विचार गर्नु उचित हुन्छ ।