काठमाडौं, २१ फागुन/रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे । शहीद सप्ताह अन्तर्गत शहीद प्रतिष्ठान नेपालले सोमवार आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’मा प्रधानमन्त्री प्रचण्डले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पारे ।
“साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गड्गडाउँदो नदीजस्तो बग्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने शक्ति हो ।” शहीद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा शहादत भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “माओवादी नेपाली जनताको घोडा हो, अरू कसैको घोडा होइन ।” आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए ।
उनले भने, “सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानुभएन, यो हुँदैन ।” प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारे । शहीद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिंदै उनले भने, “क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौं, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।” आफूले समाजवादी मोर्चा मात्र नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदका सपना पूरा गर्नका लागि दुश्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे ।
क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मानिस दुई खुट्टाले हिंड्नुपर्छ, कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ, माक्र्सवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिंड्नुपर्छ ।” नेपालले वैज्ञानिक र सन्तुलित भूराजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्रीले प्रचण्डले त्यसका लागि ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।