काठमाडौं, २१ फागुन/रासस
राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा मन्त्रीमा नियुक्त भएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा ८० अनुसार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिएका छन् । उनीहरूको कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयका अनुसार उनीहरूको कार्यभार पछि तोकिनेछ ।

प्रधानमन्त्रीको सिफारिशमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजन अनुसार प्रधानमन्त्री प्रचण्डले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाल्नेछन् ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here